कथा : नकचरो राजनिति

~प्रकाश गिरी~Prakash Giri

काले सत्चालीसमा जन्म्यो। छयालीसको राजनीतिले उसलाई आमाको पेटमा राख्नु बाहेक केहि गरेन।

पाँच-छ बर्षको हुँदा बाबुका पछि लागेर हलगोरु खेद्दै गर्दा कालेले सुन्यो – “मदन भण्डारी मरेछन्…पक्कै विदेशीको षड्यन्त्र हो। अब देश सकियो।”

कालेको बाल मस्तिस्कमा डर पस्यो अनि तर्सिदै बाउलाई सोध्यो – “बा! देश कसरी सकिन्छ?”      जुठेदाईसँग उत्तर थिएन! बुढा खिस्स हाँसे।

समय बित्दै गयो। गोरुका पछाडि नाचेर थाकेका जुठेदाईले छोरालाई आफूजस्तो हली हुनु नपरोस भनेर जेनतेन हाईस्कुल पठाए। ६ कक्षामा नपुग्दै कालेले फेरी सुन्यो – “राजपरिवार मासिएछन्…पक्कै विदेशीको षड्यन्त्र…। अब देश सकियो।

राष्ट्रिय शोकमा कालेको बिध्यालय छुट्टि भयो। घर फर्किने बित्तिकै फेरि बाउलाई सोध्यो – “बा! देश कसरी सकिन्छ?” त्रसित भएर बसेका जुठेदाई मौन नै हराईरहे!

“लौ सदरमुकाम हाने रे…चौबीस जना मरेछन्…पुल भत्किएछ… नाईकेलाई पक्रेछन्…” – कालेले बाह्रको हुँदा फेरी सुन्यो – “अब यस्तै गोला-बारुदै हो भने देश सकियो।”

एकदिन कालेको विध्यालय कब्जा भो भन्ने हल्ला चल्यो, काले एकहप्ता हरायो। एकदिन साँझमा सुटुक्क घर फर्केपछि तर्सिएका बाउलाई फेरि सोध्यो – “बा! तिम्ले बना’को मन्दिरमा मैले नरिवल फुटाउने समय आउन ला’छ रे… तैपनि देश सकियो भन्छन्। …लौ तिमीनै भन त अव देश कसरी सकिन्छ?”

बिचरा बुढाले आफ्नो कलिलो छोराका छिप्पिएका कुरा बुझ्न सकेनन्। फेरि मौनतामै हराए !

काले अव कमरेड कालु नेपाली भयो, युद्धमा गयो। काकाको छोरा पल्टने नेपालीलाई गोली ठोक्न सकेन उसले! फेरी सम्झियो समानताको नारा…रगत उम्लियो…अनि ड्याम्म!

“राजा झुके, अब जनताको छोरा राष्ट्रपति हुन पाउने रे!…देशमा नयाँ कम्पनी खुल्छन, मेट्रो चल्छ…” – कालेले सुन्यो – “अब देश बन्यो।” आफैँलाई राष्ट्रपतिको कुर्सीमा कल्पेर काले फुरुङ्ग भो! युद्धका आतंककारिहरु त राष्ट्रनेता कहलिए तर लाखौका बीचमा हराएको कालेलाई कसैले खोजेनन्। न त सात कक्षा पनि पास नभएको ऊ आरक्षणमा नै अटाउन सक्यो।

बरु बाबुले विवाह गराईदिए। दोजिया श्रीमती छाडेर काले एक्काईसमा खाडी छिर्यो।

कालेको घरमा एकदिन एकबिहानै कौवा करायो – “काले…हर्टअट्याक!”

सुत्केरी बुहारीलाई गाँउमा एक्लै छाडेर वेहोशिमै जुठेदाई राजधानि हानिए। बैसठ्ठी बर्षीय बाबुले समृद्ध बन्न हिँडेको आफ्नो बाईस बर्षीय मृत छोराको लाश पाउन पनि साठीदिन एयरपोर्टमा बसेर झोक्राउनुपर्दा आफूपनि समाधिमै पुगेको महसुश गरे। यता समाजले बुहारीलाई बोक्सी बनायो, नातिनीलाई टोक्कुवाई!

देश अझैपनि उस्तै थियो, तर कफनको ढ्क्कन खुल्नेबित्तिकै छोराको फुस्रो अनुहार चुम्दै जुठेदाईका आँसुका धारा बर्के – “देश यसरी सकिदो रहेछ छोरा…देश यसरी…”

– प्रकाश गिरी
काठमाण्डौँ विश्वविध्यालय

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.