~राजेन्द्र थापा~
मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज।
तर, धर्मनिरपेक्ष भएपछिरहमतभाइका मनमा अलिकति चिसो भने पसेको छ। हुन त कपिलवस्तु काण्डमा पहाडियाहरूमाथि भएको अमानवीय कुकृत्यको छाया बहादुरगन्जेहरूले आफूमा पर्न दिएनन्।
सतचालीसको संविधान बन्ने बेला अन्तर्राष्ट्रिय क्रिस्चियनले बुद्धिस्ट नेता उपयोग गरी विश्व मानचित्रबाट हिन्दू राष्ट्र मेट्न खोज्दा मुस्लिमहरूले विरोध गरेको रहमतभाइलाई याद छ। नेपालगन्जमा मुस्लिमहरूले हिन्दू राष्ट्र कायमीको माग गर्दै निकालेको जुलुसमा ऊ स्वयं सहभागी थियो।
त्यति बेला जुलुसपछिको आमसभामा अगुवा मुस्लिम नेताहरूले भनेका थिए, हिन्दूहरूले आफ्नो धर्ममा कुनै खतरा नदेखेसम्ममात्रै हो, धार्मिक सहिष्णुता।
यही कारणले गैरमुस्लिम देशमध्ये मुस्लिमहरू सबैभन्दा सुरक्षित नेपालमै छन् भनेर बडे मौलाना साहेबले चौबीस वर्षअघि दिएको भाषण रहमतलाई अहिले पनि याद छ।
साँच्चि, सत्तरी वर्षको भयो ऊ तर कहिल्यै पनि कसैले उसलाई पराई सम्झेन। सबको ऊ रहमतभाइ नै रह्यो, पोताहरूका दौंतरीहरूका पनि।
रहमत एकदम गरिब छ। धर्मको नाममा परिवार नियोजन निषेध भनिएकाले उनीहरूका दादा परदादादेखि नै हरेक पुस्तामा यति धेरै सन्तान छन् कि जति कमाए पनि पेटलाई ठिक्कै।
दसहरा र इद दुवै यहाँ धूमधामसँग मनाइन्छ। इदमा मुसलमानहरूले सिवइया हिन्दूहरूलाई मनग्गे खुवाउँछन्। दसहरामा हिन्दूहरूले मिठाई पठाउँछन्, मुसलमानहरूका घरमा।
यस पटक दसहराको पहिलो दिन नवदुर्गा माताको मूर्ति ल्याएर स्थापित गरियो। दशमीका दिन पूजापछि खोलामा लगेर विसर्जन गर्न सबै जम्मा भए। माताको वस्त्र यसपटक पनि राम्रै रहेछ। सारी, चोलो, खास्टो, चुरा धागो, पोते, चुन्नी, जामा, गहना सब सुन्दर। माता अति सुन्दर देख्यो रहमतले। माताको मुखको वात्सल्यमा खुदाको रूप देख्छ ऊ सधैं। आमा भनेकै खुदा हो, यस्तो सोचमा हुर्काएकी हो उसकी आमाले उसलाई।
विगत साठी वर्षदेखिरहमतभाइका लागि यो खास दिन हो। मूर्ति विसर्जित गरिएपछिरहमतले नै पौडी खेलेर पानीले पग्लिएको माताको मूर्तिबाट वस्त्र, चुरा, धागो सबथोक निकालेर घर लैजाने गरिआएको छ। सानु हुँदा आमालाई बुझाउँथ्यो रहमतले।
आमाका नयाँ कपडा भनेकै तिनै देवी माताका वस्त्रहरू हुन्थे वर्षमा एक पटक। त्यही सारी, चोलो, खास्टो, चुन्नी, चुरा धागोहरूले सज्जिएर रहमतकी अम्मिजान जुवेदा बाई टीकाकालभरि ठमठम हरेक हिन्दूका घर पुगेर दसहरा मुवारक भन्दै हिँडेको रहमतलाई अँझै ताजा छ, याद। किनभने ऊ पनि अम्मिजानसितै हिँड्थ्यो।
माताको वस्त्रमा सजिएकी जुवेदालाई कतिले तिमी त देवीमाताजस्ती नै देखिन्छौ भन्थे। किनभने जुवेदा असाध्यै सुन्दरी थिइन्। हरेक घरबाट केही न केही कुरा अम्मीलाई प्राप्त हुन्थ्यो। उसका हातमा पनि कसै न कसैले केही न केही दिन्थे।
सादीपछिरहमतले यी माताप्रसाद आफ्नी लुगाई (पत्नी)लाई दिन थालेको थियो। उसकी लुगाई सलमा भने घरघर चहार्दिन। तर, उसका लागि पनि वर्षभरको विशेष कपडा भने यही नै हो।
बहादुरगन्जवालेहरूका लागि विसर्जनका साइतमा माताको मूर्तिजत्तिकै रहमतभाइ पनि आवश्यक भइसकेका छन्। सबैजसोले होश सम्हालेदेखि नै विसर्जनमा रहमतभाइलाई देख्दै आएका हुन्। विसर्जनबित्तिकै रहमतभाइ पौडिँदै मझधारतर्फ गएको र एकएक सामान संकलन गरेको दृश्य साराका लागि रोमाञ्चक बन्छन् सधैं।
सामग्रीसहित किनारमा आएपछि, रहमतलाई स्याबास रहमतभाइ भन्दै मोहर र नोटहरू दिने पनि तेत्तिकै हुन्छन्। कति पटक त रहमतभाइ आउन ढिलो हुँदा विसर्जनसमेतमा ढिलाई गरिएको पनि थियो।
यस पटकको विसर्जन कार्यक्रममा सदाझैं जय अम्बेको नारा गुन्जिरहेको छ। बाजा चर्को बजिरहेको छ। मूर्ति विसर्जन गरियो। सदाझैं रहमतभाइ पौडिन थाले।
सत्तरी नाघेका यी बूढालाई पौडिन गाह्रो परिरहेको थियो। पानीको लहरले उसैलाई काटेर सोहर्न खोज्दै थियो। सारा दर्शकका आँखा त्यतैतिर गए।
पौडिन ढिलाइले गर्दा, रहमतले मूर्ति हात पार्दा, माटो पूरै गलिसकेकाले कपडाहरू अल्झिएछन्। बडो कठिनाइसाथ उसले केही संकलन गर्न सक्यो। केही बगेरै गए। रहमत बिस्तारै पौडिँदै किनार आइपुग्दा सबले हाहा गर्दै खुसी प्रकट गरे। रहमत एक वर्षभित्रै यत्ति बूढो भएकोमा धेरैले अचम्म माने।
यतिबीच विसर्जनको काम सकेर घर फिर्ने बेला अचानक एक आवाज आयो, ‘एक मुसलमानले हाम्रो माता दुर्गाको पवित्र वस्त्र छोएर अपवित्र पार्यो।’
आवाज थपियो, ‘हो हो, हाम्रो धर्ममा मुसलमानले हस्तक्षेप गर्न पाउँदैन।’
अर्को आवाज ‘जय अम्बे, आमामाथिको यो पाप सहिन्न।’
अर्को झन् कडा, अर्को अँझै कडा, अनेक आवाजमाथि आवाजहरू मिस्सिए।
‘समातेरले त्यो मुसलमानलाई’, यौटाले भन्यो।
अर्कोले भन्यो, ‘हाँ हाँ लाओ उसका गला पकड्के।’
गुरुरु दगुरे भुराहरू। यौटाले कुर्सी चढेर भाषण दिइहाल्यो, ‘हाम्रो धर्म हटाइयो राष्ट्रबाट, हामी सहेम्। त्यसपछि मधेसी र पहाडियामा हामीलाई छुट्याइयो हामी सहेम्। अनि क्षेत्रको नाममा विभाजन गरियो, हामी सहेम्। अब जातीयमा, त्यसपछि उपजातीयमा? यो हाम्रो विनाश अब सहिन्न। रहमतलाई सजाय दिनुपर्छ। ठोक् सालेलाई।’
केहीले ठोके, रहमत भाग्दै नदीमा हाम्फाल्यो र पौडिँदै गयो। कमजोर भए पनि नदीको लहर सुल्टो भएकाले रहमतलाई भीडले हानेको पत्थर लागेन।
धर्म, क्षेत्रीय तथा जातीय गोमनले देशलाई टोकाइएपछि हुने यस्तै हो। तर, बहादुरगन्जको असल मान्छे रहमतभाइको भूल भने के? हुन त नदीको लहर सुल्टो भएकाले सायद रहमत बच्यो होला।
तर, अहिले जमानाको लहर भने उल्टो बगिरहेको छ। यदि जमानामाथि यसरी नै पत्थरहरू हानिए भने को बच्ला? को नबच्ला? खै कहाँनिर हिसाब उल्टो भयो? भीड बनिसकेपछि भीडले कारण खोज्दैन।
राजेन्द्र थापाको प्रकाशोन्मुख कथासंग्रह ‘बदलेको कथा’बाट
(स्रोत : अन्नपूर्ण पोष्ट – २०७० फागुन ३, शनिबार)