~रूप रसाइली~
ए “हजुरी” सुनन!
तिमी कस्को हुने होला म नि कस्को हुने होला
नछुट्ने त भन्छौं हामी छुटे कति रूने होला।
हेमन्त शिशिरको एरेन्ज, दिवान किनारको शब्द, स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको यॊ मीठो गीत मलाइ औधी मन पर्छ। पहिले पहिले पनि बेस्सरी सुन्थे। झन् आजभोलि त यॊ गीत नसुनेको कुनै क्षण नै छैन हरक्षण तिम्रो सम्झना र यॊ गीत परिपूरक भएकाछन् मेरा ब्यस्त प्रवासी दैनिकिहरूमा।
हुन पनि अचम्मै प्रगाड बनेको छ है हाम्रो सम्बन्ध! कुन संयॊगमा हामी भेटियौ होला है संजालमा म सोचीरहन्छु । यदी भेटिदैनौ थियौं त.. बनाएर बन्दैन यस्तो सम्बन्धहरू न बन्ने छन् नै , यॊ आँफै भयॊ हुने रैछ। हामी बिचको संवाद च्याटले साँच्चै मलाइ तिमी, बालापनकै साथी र संगै भाँडाकुटी खेलेको साथी जस्तो लाग्छ। अनि तिम्रो जिस्कने शैशी, जिस्काउँदै, अनेक थरी नाम राखेको पनि के विधि मन पर्ने हो भन्या, भनेर लेखेर बोलेर साध्य छैन।
मलाइ भने तिमीलाइ केके भनेर रिस उठाइरहन मन पर्छ, रिसाएपछि फेरी नाना भाँति सपना देखाएर फकाउन पाइन्छ क्या त “हजुरी”। तिमी भेटिए पछिको दैनिकिहरू यति रमाइला लागेका छन् नि, कि म भित्र वा म कुनै दुख कष्टमा छैन अझ भनौ जीवनमै दु:ख नै छैन/ पर्दैन झै रमाइरहेका हुन्छौ। अस्तिको फोन गफमा एकले अर्कालाइ जिस्काएर खित्का छोडि हाँसेको नि.. संगै बसेर सल्लेरी डाँडामा हाँसेका जस्तो काल्पनिक चित्रहरू आँखामा सल्बलाइरहेका छन्।
प्रत्येक दिन शुभ प्रभातबाट सुरू भएर मध्यरात सम्म हामी सम्पर्कमा नै रहन्छौ है? अबेरसम्म मसंग गफ गरिरहँदा मलाइ जतिसुकै आनन्द भए पनि त्यॊ तिम्रो खराब बानी हरू मध्ये एक होला अबेर सम्म नसुत्ने, चाँडै सुतेर चाँडै उठ्न पर्छ के, बिहान पख गरेका पढेका कुराहरू अझ बिर्सन सकिन्न, शरिरलाइ पनि राम्रो हुन्छ, अझ फुर्ती बढ्छ।
कलेजबाट फर्किएपछि घरी घरी कामै छोडेर पानी पुरी खान मात्रै पर्ने है तिमिलाइ, खाना खाने बनाउने वास्तै छैन, हेर त मामुलाइ संधै खान बनाउन पर्ने त्यत्री लाठे छोरी भएर उफ् अझ बिहान चिया ओछ्यानमै पुर्याउनु पर्छ रे मामुले, साँच्चै म ऩजिकै भए नि बिहानै दुवै कानमा समातेर जुरूक्क उठाइदिन्थे।
तिमीले प्रत्येक पटक खाएको चटपटेका ति फोटो हेरेर कति मुख रसाउँछ नि मेरो, कि संगै बसेर खित्का छोड्ने गरी हसाउँदै खाने दिन आउला कि नआउला नभन्दै!…।
अस्ति फोनमा कुरा गरिरहँदा मामुले कराइरहनु भाथ्यॊ नि तिमीलाइ, अँ मैले के-के भनिदिएको थिएँ नि त मामुलाइ, अनि मामुले गाली गर्दा पनि मसंग रिसाउनु पर्छ है तिमी, मामुले गाली गर्ने अनि, मैले फकाउन पर्ने के कानै मैले फकाउने जिम्मा लिए जसरी।
बाबा, रिसले ठुस्किंदा कति राम्री देखिने हुन् भन्या, मान्छेहरूले त्यतिबेला अँध्यारोमा भेट्थे भने डराएर चारकोश टाढा भाग्थे होला।
तिमीलाइ मेरो सेल्फी फोटो हरू पनि अधिक चाहिने, आफ्नो पठाउन भने कता मान्छे नै खाइदिने क्यारे झैं गर्ने, हुन त फोटो पठाउन, फोटो राम्रो पनि हुन पर्यॊ, अनि फोटो राम्रो हुन त मान्छे पनि राम्रो हुन पर्यॊ नि.. हामी जस्तो क्या।
म कति ठुलो अधिकार जमाउँछु, सिमा रेखा तोक्छु है तिमी प्रति। यहाँ जाउ, त्यहाँ नजाउ, यॊ खाउ त्यॊ नखाउ, पाल्पा जाँदा निलो साडी लगाएरै जानु पर्छ भन्ने मेरो जिद्दी, तिमी पनि पाठशालाकी आज्ञाकारी छात्रा झैं आज्ञा पलन गरिरहने, हुन त मेरो जिद्दीसंग सके पो! त तिमी,, सबै साथीहरू कुर्थामा तिमी चै साडी, जिस्काए होलान् है साथीहरूले।
साँच्चै, हाम्रो गफ च्याट सम्झिरहन्छु, रमाइलो पल, हाँसोका पल, जिस्काउने, जिस्कने , फकाउने पलहरू यी मस्तिष्कमा रूमानी पल बनेर छापिएका छन्। यसरी एकपल पनि सम्पर्क बिहिन हुन नसक्ने हामी भोलि एकापसमा छुटिएर बाँच्ने कसरी हो?
तिमीले कसैसंग बिहे गर्नु पर्ने होला, मैले पनि कसैलाइ बिहे गरी ल्याउनु पर्ने होला। अनि हामी यसरी गफिन पाउँछौ कि नाइ, जिस्किन पाउँछौ कि नाइ, हामी आ-आफ्नै जीवन साथीसंग हुँदा पनि तिमीलाइ म र मलाइ तिमी कमी भएको महसुस हुन्छ होला है सायद। कति याद गर्छौ होला एकअर्काले! हुन त तिमी कसैले नपाउने मैले पाएको छु भनेर मख्ख परेर बिर्सन बेर पनि छैन, खैर त्यॊ पनि हुन पर्यॊ सम्झनामा हैन यथार्थमा बाँच्नु पर्छ भूत है वर्तमानसंग रमाउनु पर्छ पर्नेछ।
यति बेला मेरो मोबाइलको ग्यालरी तिम्रै फोटोले भरिएको छ सायद तिम्रो पनि त्यस्तै होला। मानी लिउँ, भोलि तिम्रो र मेरो छुट्टा छपट्टै जीवन साथीले यी फोटाहरू देखे हेरे भेटे भने हामीहरू बिच केके सोच्ने छन् है तर तिनलाइ के था होला र हामीमा एक सच्चा साथीको सम्बन्धमा पनि यति ठुलो माया प्रेम सदभाव थियॊ भन्ने बुझक्की भएछन् भने भनौला तर अबुझ भए रहेछन् भने कुरै ननिकालौला किनकि अनर्थ नलागोस हाम्रो साथीको पवित्र सम्बन्धको।
जति बोल्यॊ बोल्न मन लाग्ने
जति लेख्यॊ लेख्न मन लाग्ने
सम्झिरहन मिल्ने/पर्ने यौटा “मान्छे”
ए “हजुरी” साँच्चै तिमी जिन्दगीमा भुल्नै नसक्ने यौटा मान्छे।
(स्रोत : Radiohimalaya)