~कल्पना खरेल~
मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ ।
हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो उमेरमा बाबुआमाको लाड प्यार न्यानु काख छोडेर रबिको जिन्दगीसँग जोडिएर रबिको जीवनसाथी भएँ । सुरुमा अलि नौलो लागे पनि बिस्तारी रबिको भरपुर माया पाउन सफल भएँ । रबिको मायामा भुल्लिँदै गएँ । हामी एकअर्कामा हराउँदै गयौँ । रबि अफिस जाँदा पनि पटकपटक मलाई फोन गर्थे । रबि जहाँ जाँदापनि मैले बाटो हेरेर बसिरहन्थेँ ।
रबिबिना क्षणभर पनि मलाई टुहुरो महसुस हुन्थ्यो । विवाहपश्चात हामी दुवैको जिन्दगीमा खुसी नै खुसी छायो । रबिले दिएको त्यो मायाले म आफूलाई धेरै भाग्यमानी भएको महसुस गर्थेँ । विवाहको दोस्रो वर्षसम्म कैयौँ आनन्दका क्षणहरु बिताइयो । तेस्रो वर्षमा म गर्भवती भएँ । हामीलाई पुत्री लाभ भयो । छोरी ६ महिनाकी भइन् । म फेरि गर्भवती भएँ । १६ महिनाको अन्तरालमा हामीलाई दुई पुत्री लाभ भए । दोस्रो पटक पनि छोरी जन्मिँदा रबि लगायत सपरिवार निक्कै खिन्न भए । फेरि पनि छोरी नै जन्मिना साथ रबिको अनुहार अँध्यारो भयो । खासै दोस्रो पटक जन्मिएकी छोरीलाई रबिले वास्ता पनि गरेनन् ।
रबिको छोराप्रतिको महत्वाकाङ्क्षा पूरा गर्न मलाई बाध्यता आइलाग्यो । म फेरि तेस्रो पटक गर्भवती भएँ । तेस्रो पटक पुत्र लाभ भयो ! रबिलगायत सपरिवार खुसी भए । छोटो अवधिमा लगातार मेसिन जस्तै गरी ३ वटा बच्चा जन्माएँ । म बच्चा हुर्काउने घरधन्दामा व्यस्त भएँ । हामी दुवैमाथि जिम्मेवारी र कर्तव्य थपिए । हामी दुईबीचको सम्बन्ध भर्खर विवाह हुँदा भन्दा अलि फरक भयो । ३ वटा बच्चा हुर्काउन व्यस्त रहेकी मलाई आफ्नो शरीर र रुपको स्याहारसुसार गर्न पनि त्यति वास्ता भएन र समयको पनि अभाव भयो । सायद भर्खर विवाह गर्दाको समय भन्दा बच्चा जन्मिसकेपछि मेरो आकर्षणमा उनले केही कमी पाए होलान् । हुन त त्यो प्रकृतिको नियम नै हो, फूल सधैँ कहाँ फुलिरहन सक्छ र ?
फूलमा पनि निश्चित समयसम्म मात्र आकर्षण रहन्छ, त्यसपछि ओइलाएर झर्छ । त्यसै समयमा रबिको मन नयाँ आकर्षणतिर तानिएछ । उनको छाडा मनलाई जिम्मेवारी र कर्तव्यले पनि रोक्न सकेन । उनकै अफिसको स्टाफसँग निक्कै आकर्षित भएछन् । दिनदिनैको भेटघाटको क्रममा उनीहरुको आत्मीयता बढ्दै गएछ । त्यही उनीहरु दुईबीचको आत्मीयता गहिरो प्रेममा परिणत हुन सफल भएछ । जब रबिको अर्की महिलासँग चक्कर चल्यो अनि उनको मप्रतिको व्यवहारमा परिवर्तन हुँदै गएको मैले महसुस गरेँ । उनमा आएको परिवर्तनको कारण हामी दुईबीच ठाकठुक नै पर्न थाल्यो । घरमा हामी दुईबीच दिनदिनै झगडा हुन थाले । जति हामी दुईबीच झगडा हुन्थ्यो, उति उनी अर्की महिलासँग नजिक हुन पुग्थे । जुन उनले मलाई दिएको माया अन्तै लुटाइसकेका थिए । उनी मप्रति खालीखाली तितो भइसकेका थिए । उनी जिम्मेवारी कर्तव्यदेखि पन्छिँदै गए । बच्चाहरु स्कुल जान थाले । घरमा आर्थिक अभाव हुँदै गयो । बच्चाहरुको आवश्यकता पूरा गर्न मलाई धौधौ पर्यो । रबिलाई भने नवप्रेमिकासँग नयाँनयाँ ठाउँमा घुम्दै मनोरञ्जन गर्दै ठिक्कै थियो । उनले कमाएको पैसा जति प्रेमिकासँग मस्ती गर्दै ठिक्क हुन्थ्यो ।
घरमा एक पैसा पनि दिँदैनथे । यस्तै गरी २ वर्ष बित्यो । एक दिन रबिले त्यही महिलालाई कान्छी श्रीमती बनाई घरमै लेराइछाडे । ममाथि नियति बज्रियो । भाग्यले ठग्यो सौता बेहोर्नुपर्यो । रबिले मेरो मुटुमा किला ठोकिदिए । त्यो किलाले मलाई भित्रभित्रै पीडा छटपटी भइरह्यो । मेरो सारा खुसीहरु लुटिए । संसारबाट आफु ठगिएको महसुस गरे । मेरो सारा खुसी लुट्ने उही महिला नै थिइन् । मेरो जिन्दगीमा चोट बनी तिनै महिला भित्रिइन् । कान्छी श्रीमतीको जवानीमा लिप्त भएर रबिले मलाई हेला गरे । कहिले पनि मलाई वास्ता गरेनन् । उनीबाट म तिरस्कार हुन पुगेँ ।
त्यसपश्चात् मेरो मन सधैँका लागि मायाको भोको भयो । मेरा तन सधैँका लागि प्यासी रह्यो । मेरो नजिकै जोडिएको कोठामा रबि कान्छी श्रीमतीलाई काखी च्यापेर सुत्थे । उनीहरु दुईको मायामोह र यौनक्रियाकलाप सारा मेरो कोठामा सुनिन्थ्यो । ती सम्पूर्ण उनीहरुबीचको क्रियाकालाप सुनेर मेरा मनमा रिसले आगो बल्थ्यो । जिउँदै मैले बारबार मर्नुपर्यो । सधैँ राति मेरा आँखाका आँसुले सिरानी भिज्थ्यो । आफू अन्यायमा परेकाले कानुनी प्रक्रियामा जाऊँ त तिनै बालबच्चाको बाबु त्यो पनि आँट गर्न सकिनँ । उनीहरुलाई जेल पठाएर मैले पाउथेँ नै के ? विवाह गरेर आएको श्रीमान् मेरो नैतिकताले पनि दिएन । जति उनीहरु गिरेका थिए, म त्यति गिर्न सकिनँ ।
कहीँ जाऊँ त ३ लालाबाला सानासाना जाऊँ कहाँ ? आत्महत्या गरी मरौँ त तिनै निर्दोष लालाबालाप्रति अन्याय हुन्छ । बाँचौँ त रातदिनकै जलिरहेको जिन्दगीसँग बाँचौँ कसरी ? उफ् बाँचौ कसरी ?
– इजरायल
kalpanak1k@ gmail.com
(स्रोत : रचनाका पानाहरु)