सत्यकथा : सपनाको नम्बर

~जीवन लामा~

बेलुकीको ७ बजेको थियो होला । म खाना खाएर ओछ्यानमा सिरोक ओढेर पढ्न लागेको थिएँ । मोवाईल सिरानी नजिकै थियो । घण्टी बज्यो । नयाँ नम्बर थियो । लोकल नम्बर जस्तो पनि लाग्यो ।

केही समयपछि मात्र फोन उठाएँ । नयाँ स्वर सुनियो । भर्खरको केटा होला । बोल्न सबैले कहाँ जान्दछ र । अलि टर्रो बोली थियोे । मलाई पनि रिसरिस उठ्यो । जस्ताको तस्तै उत्तर दिउँ कि ढाँटेर उत्तर दिउँ जस्तो लाग्यो । तर पनि केही इमेर्जेन्सी होला कि जस्तो ठाने र बिस्तारै बोलें । सही उत्तर नै दिए । झण्डै ५ मिनेट जति कुराकानी चल्यो ।

कहाँ पर्‍यो ?
चरिकोट दोलखा ।
को बोलेको ?
जीवन ।
जीवन के ?
जीवन लामा ।
के गर्नु हुन्छ ?

अनि, मेरो पारो तातिन थाल्यो । र मैले पनि सोधें ।
तपाईं चाहिँ को हो ? कसलाई खोजेको ?

त्यसपछि मेरो प्रश्न नसकिंदै फोन राख्यो उता । मलाई फेरि मनमा खुल्दुली चल्न थाल्यो । कोही चिनेको साथी पो हो कि ? जिस्काएको पो हो कि ? नत्र मलाई त्यसरी किन नचाहिंदो ढंगले प्रश्न गरेको होला जस्तो लाग्यो । मनमा यस्तै कुरा खेल्दै फेरि किताब पल्टाउन लागें ।

लगभग १० मिनेट पछि फेरि त्यही नम्बरबाट फोन आयो । मैले रिसले उठाइन । पढ्न लागें । फेरि आयो । फोन उठाएँ । महिलाको स्वर थियो । अहिलेका सोधाई अघिको केटाको भन्दा फरक थियो । नरम र मीठो । उनको प्रश्न पनि अघिको भन्दा फरक थिएन, तर नरम ।

कहाँ पर्‍यो होला ?
चरिकोट, दोलखा ।
को बोल्नु भयो होला ?
जीवन लामा ।
तपाईं चाहि ?
म, सर्लाहीबाट ।
तपाईं को हो ? के गर्नुहुन्छ ?

म एकछिन त झस्कें पनि । कसैले मेरो बारेमा गलत सूचना पो दिएछ कि जस्तो लाग्यो । किन मलाई अहिलेसम्म यस्तो प्रश्न गर्ने मान्छे नै छैन । मलाई जिस्काउने साथीहरुले समेत यसरी सोधेको थाहा छैन । अलि अलि रिस पनि उठ्यो र डर पनि ।

अनि, मैले प्रश्न गरे किन नि ? तपाई चाहि को हो ?
नम्र स्वरमा उत्तर आयो–तपाई धामी, झाँक्री केही पर्‍यो कि ? भनेर सोधेको ।
नाई म त त्यस्तो कुनै परेन त, किन नि ?

तपाईको नम्बर एकजना बिरामीले भनेको हुनाले तपाईलाई फोन गरेको । बिरामी परेको धेरै भयो । राति सपनामा तपाईंको नम्बर कण्ठस्थ भयो रे । न तपाई कुनै धामी, झाँक्री परेको भएर पो त्यसरी नम्बर आयो कि भनेर फोन गरेको ।

कुरा सुनेर म झस्के पनि । छक्क पनि परें । अनि सोध्न मन लाग्यो । सबै कुरा त गर्न मन लागेन । तर पनि कहाँ कसरी त्यस्तो भयो मलाई खुल्दुली लाग्यो । किन कि पहिलो पटक यस्तो खबर सुन्दा अच्चम लागेको हुनाले ।

कसरी त्यस्तो भयो त ?
खै ? कसरी कसरी ?
सर्लाही कुन ठाउँ पर्‍यो नि ?
नयाँ सडक ।
के भएको बिरामीलाई ?
कसैले पत्तै लगाउनै सकेको छैन ।
मेरो यो नम्बर उसैले भनेको ?
हो । आज बिहान ।

मलाई थप कुरा गर्न मन लागेन । मैले गर्ने सहयोग पनि केही थिएन । यदि म धामी झाँक्री भईदिएको भए त गएर चटक्कै निको पार्थें । के गर्नु । म आफै अलमलमा परे । स्वास्थ्यकर्मी त हुँ तर तिमी धामी झाँक्री बाहेक अरु केही हो कि सोधेको भए भन्थें । मलाई यो प्रश्नले पछिसम्म झस्काई रह्यो ।

यदी अन्धविश्वास छ भनौ भने कसैलाई विश्वास लाग्दैन । छैन भनौ भने यसरी सपनामा नम्बरनै कण्ठ भनिदिन्छ । विश्वास कसलाई गरुँ ।

(स्रोत : Ujyaloonline)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.