मध्यान्ह छ ।
सुँगुरहरु भुइँ खन्दै छन् ।
दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको थोत्रो गलैंचाझैँ कताकतै सुकेका दुबोका टाटाहरु छन् । दुईवटा सम्पूर्ण पात झरेका रुखहरु पनि जिङ्ग्रिङ्ग गरेर एकातिर ठडिएका छन् ।
एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको । उसले यी सबै कुरा हेरिसकेपछि सुँगुरलाई हेर्न थाली । यी सुँगुरहरु पनि त्यो नालामा बस्न मन पराउँछन् । एक दिन एउटा पाठो पसेको थियो, फेरि निस्किएन । ऊ नेर आउने दुईखुट्टे सुँगुरहरु पनि हिजोआज उसलाई यही नाला जस्तै सम्झिएर तर्किन्छन् । ज्यादै भोकाएका र मातेका सुँगुरहरु भने आइपुग्छन् । बेसुरमा भुइँ खन्छन् । कन्दमूल केही पाउँदैनन् र त होला भोलिदेखि सुँगुर देखा पर्दैनन् । ती भोलि फेरि अर्कै थरीका सुँगुर देखा पर्छन् । सायद कुनै बारीमा पसेर सखरखण्ड र मूला उखेल्न नपाएर ।
झ्यालसम्म आएको घाम जुनेली जस्तो छ । तीन बज्यो । माघ ५ गते । संवत् २०४० साल । उसले चुरोट सल्काई र अर्को झ्यालतिर फुकी ।
केटाकेटीहरु अझैं फोहरमैलाको डङ्गुरमा केके खोज्दैछन् । आडैमा ठूलाबडाहरुको ठूलो टोल छ । त्यसो हुनाले केही प्राप्तिको आशा छ । यी पनि सुँगुरका पाठाहरु हुन् । कुन सुँगुर ? थाहा छैन । होला कतै आफ्नै खोरमा बसेको । यहाँ त जति पनि सुँगुरहरु आउँछन् । नामै नभएका अथवा घर, अफिस र पुरेतकहाँ छाडेर आएका ।
उसले एउटा कागजको टुक्रा धुजामुजा पारी र टुक्राहरुमध्ये अलिकति टिपेर जोर मिलाउँदै भुइँमा राख्न थाली । सबै जोर भएभने ग्राहक आउँदैन, बिजोर भयो भने आउँछ । अन्तमा उसको हातमा एउटा टुक्रा रहन्छ । आज ग्राहक आउँछ ।
संवत २०३० साल भाद्र २० गते । ऊ यहाँ आएकी थिई, स्वास्नी बनेर रत्न बहादुरकी । छिट्टै रत्न हरायो । बहादुर मात्र बाँकी रह्यो । अनि ऊ आफु जो फूलमाया थिई, बाट पनि छिट्टै झरेर माया बाँकी रह्यो । बहादुरले शीघ्र परिवर्तन ल्याएको हुँदा उसको मात्र जातिवाचक नाम रह्यो अर्थात् फूल रहेन नीलडाम रह्यो ।
ऊ त्यसताका सस्तै खालको भएपनि अनेकौं थरीका सुगन्ध बोकेर हिड्थी । उसका ग्राहकहरु उसलाई सुगन्धित वायुका झोकाहरुले चिन्ने गर्थे । ह्विस्कीमा बुड्थी, कारमा गुड्थी, होटलमा अनेकन परिकार खान्थी ।
परिचयको संसार विशाल थियो । झूटै भए पनि । ‘तिम्रो नाम के हो ?’ थाहा छ यहाँ कसैको नाम हुँदैन भनेर ।
‘माला ।’ फूलमायाभन्दा यै नाम आकर्षक छ ।
‘कति मीठो नाउँ । घर कहाँ हो ?’ ग्राहक भावुक होइन ।
‘पोखरा । जानु भा छ ?’ कहिलेको उत्तरमा विराटनगर आउँछ, कहिले पाल्पा ।
‘गएको छैन ।’ तर ऊ पोखराको रैथाने हो ।
‘तपाईको घर नि ?’ मतलब छैन तापनी ।
‘नेपालगञ्ज ।’ जहाँ उ कहिल्यै पुगेको छैन ।
‘के गर्नु हुन्छ ?’ ग्राहकको मोटाइको अन्दाज ।
‘बिजनेस ।’ जुन उसका बाउ पुर्खा कसैले गरेनन् ।
‘घरमा स्वास्नी पनि होली ?’ सबैभन्दा वाहियात प्रश्न ।
‘तिमी जस्ती छैन ।’ सबभन्दा झुटो उत्तर ।
सबैभन्दा शाश्वत र सत्य रुपियाँ हो र त्यो ग्राहकको पर्समा छ । जसलाई निकाल्नु उसको अधिकार र कर्तव्य दुबै हो ।
ग्राहकले झोलुवा मगाउँदा उसले सेकुवा र भुटुवाको अडर गर्थी । ग्राहकले नेपाली चुरोट खाँदा ऊ बेलायती मगाउथी । ग्राहकले सयकडाको कुरा गर्दा ऊ हजारको अत्तो थाप्थी । ग्राहक उसको दृष्टिमा नितान्त भेडा थिए जसलाई मुड्नु उसको कर्तव्य थियो । अन्यथा रत्नहीन बहादुरले उसको फूलहीन नामलाई नीलडाममा परिणत गर्न बेर लाउँदैनथ्यो ।
पोहोर साल ऊ म¥यो अथवा मारियो । तिनीहरुबाटै जसलाई उसले लिएर आउने गरेको थियो ।
‘हिड यार, आज रत्नेलाई समातौँ ।’ मातेको छ ।
‘सारै बार्गेनिङ गर्छ, अन्तै जाऊँ ।’ अलिकति दुनियादारी अझैं बाँकी छ ।
‘साला ब्रोकरले बार्गेनिङ तेरो बाउले गर्छ ।’ थ्रिलायन्समा ठर्रा पनि थप भएको छ ।
‘सबैका बाउ ब्रोकर हुन्छन् यदि तेरी बहिनी जस्ती राम्री छोरी घरमा भए भने ।’ यहाँ भने ठर्रामा थ्रिलायन्स थप भएको छ ।
‘साला दार्शनिक नबन् ।’
‘आज पर्स खाली छ यार ।’
‘छ न त मसित पनि छैन । तर, साला रत्नेले धेरै ठगेको छ, हिँड ।’
संवत २०३९ साल । पुस ७ गते । समय २४ बजे । दुवै रत्नेको ढोकामा उभिन पुगेका थिए । परम्पराअनुसार रत्नेले चिन्ने उत्सुकता देखाएन । परिचयमा बार्गेनिङ धेरै हुन सक्दैन ।
‘माला ख्वै ।’
‘आज छैन हजुर । साहबसित बाहिर गएकी छे ।’
‘कुन साला साहब ? तैँले हामीलाई चिनिनस् ? ’
रत्नेले नचिनेको भाव देखायो ।
‘म हुँ ड्यानियल फ्यान्टम अनि यो हो जेम्स बन्ड ।’
तैपनि रत्ने चटपटाएन । अनि त दुबैले औँठी लगाएको मुड्कीले रक्सी खाँदाखाँदा निर्बल भएको बहादुरलाई गोद्न थाले । जेम्स बन्डले ‘अब भैगो’ भन्दाभन्दै फ्यान्टमले गर्दनमा कराँते चाप हानिहाल्यो । बिचरा रत्नबहादुर । त्यसदिन ऊ रोएकी थिई । साँच्चै रोएकी थिई ।
त्यस दिनपछि ऊ एक्ली भई, फूलपात सबैझरेर जिङ्ग्रिङ्ग ठडिएको बोटझैं । जसमा चराचुरुङ्गी, भमरा पुतली केही बस्तैन । यो समाजमा अत्यन्त दुःख दिने पापी पुरुष पनि फोहर पुछेको काठ जस्तै काम लाग्ने हुँदो रहेछ । त्यो रत्ने, जोसँग बसेर उसले भविष्यको रङ्गीन सपना देखेकी थिई, त्यो रत्ने, जोसँग प्रतिदिन चितामा डढेर बिपना भोगेकी थिई, आज नहुँदा पेट पाल्न गाह्रो भैराखेको छ ।
आज धेरै दिनपछि उसले आफ्नो भाईलाई सम्झी । बाह्र–तेह्र वर्षको अवोध भाइ सौतिनी आमाको निरन्तर झम्टाबाट जोगिन मधेस झरेको बेपत्ता भयो । त्यसको केही वर्षपछि ऊ पनि रत्नबहादुरसँग यहाँ आएकी थिई, सुखी भविष्यको सपना बोकेर । पापी रत्ने पनि आफ्नो सम्पूर्ण बहादुरी देखाएर यो संसारदेखि बिदा भयो ।
असङ्ख्य पटक आफ्ना सपना भङ्ग भए पनि उसले सपना देख्न छोड्न सकिन । कल्पना र सपना मानिसका यिनै दुईवटा अमूल्य रत्न हुन्, जसमा कुनै बहादुरी छैन, कुनै यथार्थ छैन । कसैले खोस्न सक्दैन, जति खर्च गरेपनि रित्तिदैन । आत्मा जस्तै आजभोलि कल्पना र सपना पनि उपेक्षित र हास्यास्पद ठहरिएका छन् ।
सूर्य डाँडाको थाप्लोमाथि ओर्लिन थाले पनि घाम अझैं उसैसँग झ्यालमा बसेको छ । थैलीबाट एउटा क्याप्सुल रेस्टेक्लिन झिकेर खाई । इन्जेक्सन दिन आज कम्पाउन्डर आउँछ कि आउँदैन ? बिजोर भएको थियो, ग्राहक पनि आउनुपर्ने ।
झण्डै एउटा पाठो नालामा नझरेको ।
केही महिनाअगाडि भाइटीकाको दिन ऊ भावुक भएकी थिई ।
उसको भावुक हुने दिन नै यही हो । अरु दिन उसले भावुक हुने फुर्सद पाउँदिन । भावुक हुँदा कल्पना गर्न र सपना देख्न फुर्सद चाहिन्छ । अन्यथा अगाडि जे आईपर्छ त्यसैलाई भोग्दै जानुनै जीवन भएको छ ।
प्रतिवर्षझैं गत भाइटीकाको दिन पनि ऊ झ्यालमा बसेर सपना देख्तै थिई । अनि प्रतिवर्षझैँ टपरीमा फूलमाला, टीका र सेलरोटी सजाएर बसेकी थिई । मानिसहरु तल बाटोमा रङबिरङका टीका निधारमा टाँसेर, गलामा दूबो र फूलका माला झुण्डाएर ओहोरदोहोर गर्दै थिए । जताततै जुवाको खाल जमेका थिए ।
सूर्य अस्ताउना साथ उसको घर अगाडिको पहेँलो बिजुली उदायो ।
लरखराउँदै र धरमराउँदै युवक माथी उक्लियो । उसका छायाँ पनि ऊसँगै लरखराउँदै थियो । उसलाई देखेर फूलमाया एक्कासि झस्किई । दुरुस्तै आफ्नो भाइ जस्तो लाग्यो उसलाई । उस्तै छलछन्दविहीन अनुहार, उस्तै झ्याम्म परेका आँखीभौँ र उस्तै हँसिलो अनुहार ।
आज उसको नौनीको डल्लो जस्तो हृदय पग्लेर उसको सम्पूर्ण चेतनालाई स्नेहले ढाक्न थाल्यो । त्यस स्निग्धतामा उसको व्यापारिक विवेक चिप्लिएर आत्मियताको खाडलमा लड्यो । अनि आद्र र स्नेहपूर्ण दृष्टि लिएर उठी र त्यही युवकको दुवै हात समातेर आफ्नो खाटमा बसाली ।
‘साला हारियो निक्कै…माला । हारे पनि…..’
ऊ चुप लाग्यो । फूलमायालाई आश्चर्य लाग्यो, उसले नाम पनि जानेको रहेछ । ऊ कहिल्यै यहाँ आएको जस्तो त लाग्दैन । भलाद्मी, भ्रष्टचारीझैं उसको पनि नाम चलेकै रहेछ ।
‘बाबू, म तिमीलाई टीका लगाईदिउँ है ? आज भाइटीका हो ।’ ऊ अत्यन्त भावुक भएर ऊतिर हेर्दैछे । ऊ भने आफ्नो मातले चिम्रिएका आँखा खोल्न प्रयत्न गर्दैछ ।
उसले टपरी अगाडि राखेर सबै विधि पु¥याउन्जेल त्यो युवक ऊतिर वाल्ल परेर हेरिराख्यो । माला लगाइदिएर जसै उसले स्नेहपूर्वक युवकको गालामा म्वाइँ खाई त्यो बुरुक्क उफ्रियो र उसका सबै लुगा कुखुराले भुत्ल्याएझैँ भुत्ल्याएर फ्याँक्तै बरबराउँदै भन्न थाल्यो, ‘तेरो रेट बीस ह्वैन ?…रेट ।’
उसले चोलो खोल्ने कष्ट पनि गरेन, सबै टाँकहरु छिनालेर उदाङ्गो पा¥यो । अनि कुखुराले झैँ एकछिन भ्याटभ्याट गरेर सफाइसाथ बेग्लियो ।
बाहिर सुँगुर र भित्र युवक दुवै धरती खन्दै थिए ।
विस्तारो उसको चेतना सपनाको सिँढीबाट ओर्लिदै थियो ।
ऊ सर्वाङ्ग नाङ्गी थिई तर युवकले फ्याँकेका दस दसका दुइवटा नोटले उसको इज्जत ढाकेको थियो । अब त्यहाँ युवक थिएन, थियो ढोका, जो ऊतिर वाल्ल परेर मुख बाएर हेर्दै थिए ।
सूर्य डाँडाँपछाडि झरिसकेछ ।
ऊ सपनाबाट बिउँझेर वर्तमानमा आईपुग्छे । कम्पाउन्डर इन्जेक्सन दिन किन आएन अहिलेसम्म ? आउला । तीन पटक गोनोरियाग्रस्त भइसकेकी थिई भने त्यस दिन टिकोटालो गरेको भाइले दिएको सिफलिस अझै ऊसँग छ । नौलो स्नेहोपहार ।
बिजोर भएको थियो, ग्राहक आउला ।
(कथाकार ब्राजाकीको कथासंग्रह ‘तिम्री स्वास्नी र म’ बाट) ।
(स्रोत : Nepalpati)