~आन्विका गिरी~
“यो सब तेरै कारणले हो”, जगन्नाथले सकुन्जेल भकुरे। हरिमायाले चूँसम्म गरिनन्, मात्र आँशु झारेर बसिन्।
एकैछिन अघि जगन्नाथले मुस्कुराउँदै हरिमायाको हातबाट चिया लिएका थिए। बिहानको नित्यकर्म सकेर पात्रो पल्टाउँदै गरेका उनलाई हरिमायाले सधैं झ्ैं कोठामै चिया पुर्याइदिएकी थिइन्।
“चन्द्री खै त?” जगन्नाथले सोधे।
“उसको कोठामा लुगाफाटा केही छैनन्”, उनले भनिन्। नसोधेको भए पनि हरिमायाले भन्ने नै थिइन्।
“यति बिहानै किन लुगा धुन जानु पर्यो त्यसलाई!” जगन्नाथले चिया सुर्काउँदै सोधे।
“मैले उसको सिरानमा यो भेटें!” हरिमायाले एउटा कागजको टुक्रा जगन्नाथतिर तेर्स्याइन्।
“यो के?” जगन्नाथले गिलास हरिमायालाई दिएर कागज समाए।
“म पढ्न जान्दिनँ”, हरिमायाले जगन्नाथलाई थाहा भएकै कुरा भनिन्।
चिठी पढ्ने वित्तिकै शुरू भएको हरिमायाको धुलाई जगन्नाथ थाकेपछि मात्र रोकिएको थियो। जगन्नाथ गलेर खाटमा लडेपछि दुवै हातले टाउको पिट्दै रुन थाले, “मेरो इज्जत गयो! चन्द्रीले मलाई जिउँदै मारी!”
जगन्नाथको लातले भित्तामा खँदारिएकी हरिमाया सारीको सप्कोले आँशु पुछ्तै उठिन्। छेउ पर्नु भनेको अर्को लात भेट्नु हो भन्ने जान्दा जान्दै पनि उनी माथा पिटिरहेका जगन्नाथ नजिक गइन् र भनिन्, “नरुनुस्, छिमेकमा मान्छेहरू उठिसके।”
“तँलाई छिमेकको यत्रो पीर!” हरिमायालाई हातैले पर हुत्याउँदै जगन्नाथले कराए, “तँ आमा भाकी होइनस्? यही हो छोरी पाल्ने तरीका? के हेरेर बसेकी थिस्!”
जगन्नाथले हरिमायाका एकएक दाँत झर्लान् झैं गरी मुठी कसे।
चन्द्रकलाले आफैं बिहे गर्ने निधो गरेर घर छाडेकी थिई। चिठीमा उसले त्यही लेखेकी थिई। जगन्नाथ नाम चलेका पण्डित थिए। वरपर दुई–चार गाउँ मात्र होइन, शहरमा समेत उनका यजमानहरू थिए। दुई छोरी र एक छोरापछि हरिमायाका अरू सन्तान भएनन्। छोरो जन्मेको एक महीनामा लगातारको ज्वरोले बित्यो। हरिमायाले त कर गरेकै हुन्, तर खै किन हो जगन्नाथले अर्को बिहे गरेनन्।
जगन्नाथले जेठी छोरी रामकला एसएलसी फेल भएपछि केटो खोजेर विवाह गरिदिएका थिए। उसले अर्को पटक पास हुन्छु भन्दै थिई, तर जगन्नाथले ‘पर्दैन’ भनेर कुरा सकाइदिए। रामकलाले वर्षेनि दुई छोरी पाई। तेस्रो पटक गर्भवती भएर ऊ माइत आउन लागेको खबर हरिमायाले जगन्नाथलाई सुनाउनै पाएकी थिइनन्। ज्वाइँले ‘यसपटक पनि छोरी पाइस् भने अर्को बिहे गर्छु’ भनेर छोरीलाई ‘चेतावनी’ दिएको कुरा पनि हरिमायाको मनमै थियो।
चन्द्रकला गाउँकै हेल्थपोष्टको अहेव मनोज चौधरीको प्रेममा परेकी थिई। एककान दुईकान हुँदै कुरा जगन्नाथसम्म पनि आइपुगेको थियो।
चन्द्रकला बुबाकी निकै प्यारी थिई। बुबा जजमान कहाँबाट फर्कंदा बुबाको हातको पोको लिन ऊ बाटैमा पुग्थी। बुबा कलमा पुग्दा ऊ ‘म खिचिदिन्छु’ भन्दै कल चलाउन थाल्थी। ऊ आमाको कम, बुबाको बढी सुन्थी। गाउँ नजिकैको स्कूलबाट एसएलसी पास गरेपछि जगन्नाथले चन्द्रकलाको पनि बिहेको कुरा गरेका हुन्, तर उसले कलेज पढ्ने जिद्दी गरी। एसएलसी सेकेन्ड डिभिजनमा पास भएकीले जगन्नाथले पनि ठीकै छ भनेर उसलाई बजारको कलेज पढाए, नयाँ साइकल किनिदिए। खाजा खान दिनको बीस रुपियाँ पनि दिए।
सरासर कलेज जाने–आउने चन्द्रकला उतिसारो डुल्दिनथी। बुबालाई नसोधी ऊ केही गर्दिनथी। त्यसैले पनि पहिला त चौधरीसँगको कुरा जगन्नाथलाई विश्वास लागेन। त्यसैले शुरूमा माया गरेरै सोधे, “चन्द्री, तेरो नराम्रो कुरा सुन्दैछु, के हो?” “केही होइन”, चन्द्रकलाले बाउको आँखामा हेरेर हाकाहाकी भनी दिई। जगन्नाथलाई विश्वास भयो।
मनोजलाई गाउँमा सबैले अहेव चौधरी भन्थे अनि सारै सहयोगी भनेर प्रशंसा गर्थे। छिमेकी जिल्ला मोरङबाट जागीर खान आएको ऊ जगन्नाथकै घर अगाडि गोपाल मास्टरकोमा डेरा गरेर बसेको थियो। ऊ हेल्थपोष्टमा आउन नसक्ने बिरामीलाई रातविरात नभनी घरैमा गएर हेरिदिन्थ्यो। उसले प्रेसर लो भएर ढल्दा कतिपटक पण्डितलाई पनि घरमै सलाइन दिएको थियो। “अलि टाइममा खाने गर्नुस्”, उसले सुझ्ाएको थियो, “तपाईंलाई ग्यास्टिकले च्याप्दै लगेको छ।”
छिमेकमा बस्ने भएपछि आउजाउ हुने नै भयो। त्यसमाथि जगन्नाथ आफैंले एसएलसीमा चन्द्रकलालाई हिसाब सिकाइदिन अह्राएका थिए। चौधरीले चन्द्रकलालाई कतिखेर प्रेम पनि सिकायो जगन्नाथले पत्तो पाएनन्। तैपनि, चन्द्रकलाले ‘होइन’ भन्दा जगन्नाथलाई राहत महसूस भएको थियो। त्यसपछि उनले केटा खोज्ने कामलाई द्रुत बनाएका थिए। तर, एकदिन जगन्नाथ आफैंले चन्द्रकलाको किताबमा चौधरीको चिठी फेला पारे। अनि त चन्द्रकलाले जति होइन भने पनि विश्वास भएन। केरकार अत्ति भएपछि चन्द्रकलाले पनि भन्दिई, “दिदीको जस्तो छोरो चाहिने बाहुनसँग त ज्यान गए पनि बिहे गर्दिनँ…।”
जगन्नाथले तत्कालै चन्द्रीको गालामा दुई चड्कन दिएर हरिमायालाई भनेका थिए, “यसको दिमाग ठीक ठाउँमा ल्याएस्।”
“मेरो दिमाग ठाउँमै छ”, गाला छोप्दै चन्द्रकलाले भनेकी थिई, “बिहे आफैंले मन पराएको केटोसँग गर्छु।”
जगन्नाथले यो एकसातामा धेरै केटाको चिना हेरे। त्यसका लागि चिनेजानेका सबैलाई खबर पनि पठाएका थिए।
चन्द्रकलाले बाउलाई सम्झाउने प्रयत्न पनि गरेकै हो, तर उनी आफ्ना ठूला जजमानको आडमा मनोजलाई ठीक पार्ने दाउमा लागेको चाल पाएपछि उसले हार मानी। अनि हरिमायाले दिमाग ठीक ठाउँमा ल्याउनु अघि नै बाको नाममा चिठी लेखेकी थिई।
रामकला आउनेवाला नै थिई, आई। आमाको सुन्निएको अनुहार देखेरै उसले चाल पाई, बुबाको पारोको डिग्री!
“जमाना बदलिसक्यो”, बाको कानमा बतास लाग्दैन भन्ने जान्दा जान्दै पनि उसले भनी, “जातपात भन्ने कुरामा अल्झेर हुँदैन, आखिर केटो राम्रै छ!” “सारा बाहुन केटा मरेका थिए?” जगन्नाथ कुर्लिए, “कि मैले केटा खोज्न सक्छु जस्तो लागेन?”
“चन्द्री खेर गइसकेकी रहिछे”, उनले थपे, “मैले भेउ पाइनँ।”
“तपाईंले भनेको नमान्ने वित्तिकै खेर जाने?” रामकलालाई पनि झोंक चल्यो, “मेरो लागि छोरा–छोरा भन्दै गर्भवती स्वास्नीलाई लात हान्ने मान्छे खोजिदिनुभो, चूप लागेर बसेकी छु। म त खेर गएकी छैन नि, हैन?”
“तेरो जोइपोइको झ्गडा मलाई नसुना!” जगन्नाथ कुर्सीबाट उठे, “पाले पुण्य, मारे पाप भनेर जिम्मा लाएको हुँ।”
“तपाईंले जिम्मा लगाउनुभो, सकियो”, रामकलाले भनी, “चन्द्रीले त्यो दुःख दिइनँ तपाईंलाई, भै’गयो नि!”
जगन्नाथले एक पटक ज्वाईंसँग कुरा गर्न नखोजेका होइनन्। “धेरै बच्चा पाएर के गर्नु, हुर्काउन पढाउनकै सास्ती!”
“शुरूमै छोरा पाएकी भए, किन धेरै चाहिन्थ्यो र!” ज्वाइँले रुखो जवाफ फर्काए। जगन्नाथले त्यसपछि केही भन्न छाडेका थिए। उनले घुरेर रामकलालाई हेरे अनि दाह्रा किट्तै बाहिर निस्किए।
दुईचार दिन त चन्द्रीको भुईंचालोले गाउँलाई कम्प दिइरह्यो। सबैले ‘पण्डितकै छोरी भागेपछि अब हाम्राहरू के बाँकी रहलान्’ भने। त्यही मेसोमा कतिले स्कूल पढ्दै गरेका छोरीहरुको कन्यादान गरेर राहतको सास फेरे। विस्तारै कुरा सेलाउँदै गयो, तर हरिमायामाथि जगन्नाथको रीस घटेन। ‘एउटी छोरी ठीक पार्न पनि सकिनस्’ भन्दै शुरू भएको उनको दिन ‘एउटा छोरा स्याहार्न पनि सकिनस्’ भन्दै टुंगिन्थ्यो।
नातागोता र जजमानहरूले पनि कत्ति सम्झाए, तर जगन्नाथले एउटै रट लगाए, “अब मेरा लागि चन्द्री मरी!”
साँच्चै चन्द्रकला मरे झैं भएकी थिई। ऊ कहाँ, कसरी बसेकी छे, केही खबर थिएन।
बाले ‘लोग्ने हो, सहेर बस्’ भनिसकेपछि रामकला पनि माइत आउन मन गर्न छाडी। हरिमाया जजमान कहाँबाट आएको चामलमा भेटिएर जम्मा भएका डबलहरू दिन बाहेक अरू केही गर्न सक्दिनथिन्। रामकला जसरी नै हरिमाया पनि आफ्नो लोग्नेसँग लड्न सक्दिनथिन्। रामकलाले पाँचौं पटक गर्भवती हुँदा ‘मारे पनि मारुन्, म आउन्न’ भनेर खबर पठाएकी थिई।
त्यो सुनेर जगन्नाथले ‘छोरी दिइसकेपछि अब हामी बीचमा पर्नुहुन्न’ भन्ने प्रतिक्रिया दिएका थिए। तर, बीचमा नपरी भएन। रामकला सारै भएको खबर आएपछि जगन्नाथ र हरिमाया अस्पताल पुगे। जिल्ला अस्पतालको इमर्जेन्सीको एउटा बेडमा रामकला लडिरहेकी थिई। उसको आँखा र मुखबाट पानी बगिरहेको थियो। अनुहार पूरै पहेंलो थियो। पेट बाहेक शरीरको पूरै भाग सुकेको थियो। हातगोडा पटपटी फुटेका थिए। छेउमा कोही थिएनन्। कसैले बेवारिसे बिरामी फ्यात्त फ्यालेर हिंडेको जस्तो देखिन्थ्यो। डाक्टरको अत्तोपत्तो थिएन।
सँगैको बेडको बिरामी कुरुवाले ‘मरे पनि एउटा छोरो पाएर मर्लिस्’, भन्दै लोग्ने डाक्टर खोज्न हिंडेको जगन्नाथलाई सुनायो। बाबुले टाउकोमा हात राखेपछि रामकलाले आँखा खोली। उनले कमेजको फेरले रामकलाको आँशु र र्याल पुछिदिए।
एकैछिन पछि डाक्टर र नर्ससँगै रामकलाको लोग्ने विनोद पनि आयो।
“यस्तो अवस्था भएपछि बल्ल अस्पताल ल्याउने?” डाक्टरले जगन्नाथ र विनोद दुवैको सातो टिप्न खोजे।
“यस्तै हो नि, आइमाईहरूलाई!” विनोदले ङिच्च गर्दै भन्यो।
“चूप लाग्नुस्”, नर्स कराइन्।
“बच्चा त भन्न सक्दिनँ, आमालाई चाहिं बचाउन सक्नुहुन्छ”, डाक्टरले तुरुन्त अञ्चल अस्पताल लगेर अप्रेसन गर्न सल्लाह दिंदै भने।
“यसपालि छोरा हुने बुटी खाएकी छे, बच्चालाई बचाउनुपर्छ”, विनोदले हतार–हतार भन्यो।
“चूप लाग्नुस्”, नर्स कड्किइन्। विनोद अलिकति हच्कियो।
जगन्नाथ एम्बुलेन्सको तयारीमा लागे। रामकलालाई एम्बुलेन्समा चढाइसकेपछि विनोद पनि उक्लन खोज्यो।
“तपाईं आउनुपर्दैन”, जगन्नाथले रोके, “तपाईंको भर परेर ठूलो गल्ती गरियो।” “यसपालि ग्यारेन्टी छोरो पाउँछे, खर्च पनि धेरै गरेको छु”, विनोद जबर्जस्ती उक्लन खोज्यो।
“तपाईंको खर्च घरमै पठाइदिम्ला!” हरिमाया कराइन्। जगन्नाथले पुलुक्क हेरे। उनले हरिमायाको यति कडा स्वर कहिल्यै सुनेका थिएनन्। उनले हरिमायालाई हात दिएर माथि ताने। यसपटक हरिमायाले जगन्नाथलाई पुलुक्क हेरिन्। पैंतीस वर्षको वैवाहिक सम्बन्धमा जगन्नाथले हात दिएको यो पहिलो पटक थियो।
डाक्टरले अप्रेसनको लागि राति आठ बजेको समय तोकिदिए।
“यो ठीक त हुन्छे नि?” जगन्नाथको स्वर कामेको थियो।
“हेरविचार पटक्कै पुगेनछ। बच्चा पेटमै मरेको छ। अब आमालाई बचाउन सक्दो कोशिश गर्ने हो”, यत्ति भनेर डाक्टर हिंडे। रामकलाको हात समातेर बसेकी हरिमायालाई पानीको बोतल थमाएर जगन्नाथ पनि आफन्तहरूलाई खबर गर्न निस्के।
“बा, चन्द्रीलाई पनि खबर गर्नु!” रामकला बल गरेर कराई। दुई बोलत स्लाइन दिएपछि ऊ यत्तिको भएकी थिई। ढोकामा पुगिसकेका जगन्नाथ टक्क अडिए।
“कति रिसाउनुहुन्छ!” हरिमाया बोलिन्, “मान्छेसँगै बिहे गरेकी हो, के बिराई र!”
जगन्नाथले ‘हुन्छ’ को टाउको हल्लाए।
“फोन नम्बर छ त?” रामकलाले सोधी।
“छ”, जगन्नाथ र हरिमायाले एकैचोटि भने।
साहित्य विशेष मंगलबार, आश्विन २१, २०७१
(स्रोत : हिमालखबर)