कथा : बिजुली

~महेशविक्रम शाह~Mahesh Bikram Shah

बिजुलीदेवी घरबाट निस्किन् । घरको पछाडि रहेको पम्प चलाएर लोटामा पानी भरिन् । दाहिने हातले लोटा र बायाँ हातले घुम्टीको फेर समातेर सडकको किनारै किनारा उत्तरतिर लागिन् । झमक्क साँझ परिसकेकाले बाटोमा त्यति चहलपहल थिएन । यस भेकका स्थानीय नेताजीका छोरा सञ्जय गुप्तासँग बिजुलीदेवीको हिजो मात्र बिहे भएको हो । नेता बाबुको हर्ताकर्ता सञ्जय कुनै काम गर्न नजाने पनि अरूलाई काम अह्राउन र गराउनमा चाहिँ माहिर मानिन्छन् ।

अघिल्लो दिन राती दुलही बनेर बारातसँगै आफ्नो लोग्नेको घरमा आउँदा सडकमा बिजुली बलेको देखेर उनी चकित परेकी थिइन् । गाउँ बिजुलीको उज्यालोमा नुहाइरहेझैँ देखिन्थ्यो । उनलाई सुरुमा लागिरहेको थियो कि पोईको घर विहारमा रहेको माइती घरजस्तै होला, जहाँ बिजुली छैन र शुद्ध खानेपानी पनि छैन । गाउँबाट बिजुली बजारसम्म हिँडेर जान दुई घन्टा लाग्छ । बजारमा बिजुली र पानीका साथसाथै रेलको लिक पनि छ ।

दिनमा एकपटक मान्छे बोकेर छुकछुक गर्दै आउँछ । कहिलेकाहीँ मालवाहक पनि आउँछ । उनी दुई-तीनपटक रेल्वे स्टेसन गएकी थिइन् । त्यहँाको टिकटबाबुको लामो नाक र नाकमाथि चढेको गान्धी स्टाइलको पावरदार चस्माको सम्झना आइरहन्छ उनलाई । रेल्वे स्टेसनमा खाएको समोसा र गो लगप्पाको स्वाद अझै जिब्रोमा झुन्डिएको छ । एकपटक बाबुसँग रेल चढेर पटना गएकी थिइन् । पिताजीले आफ्नो भेकमा अहिलेसम्म कुनै चुनाव हारेका छैनन् ।

गृह प्रवेशका बेला सासू-ससुराले उनको स्वागत गर्दै भनेका थिए, “मेरी बुहारीको नामजस्तै अनुहार पनि उज्यालो । आफू पनि आइन् र यस गाउँमा बिजुली पनि लिएर आइन् ।” सासू-ससुराले भनेका सांकेतिक कुरा नबुझे पनि सबै आगन्तुकले गरेको आफ्नो रूपको तारिफ उनले नबुझ्ने कुरै थिएन । ससुराजी हात जोड्दै सबैलाई सुनाइरहेका थिए, “विहारके बिजुली, विहारके बहु, हमनी सबके लिएल भागकी बात !”

बिजुलीदेवी अचम्मित भइन् । ‘म देहातको एउटा गाउँकी छोरी न हुँ । धेरै पढेलेखेकी पनि छैन । न त विहारकी बेटी सोनाक्षी सिन्हाजस्ती राम्री नै छु, मलाई बहुको रूपमा भित्र्याएर मेरा ससुरा किन यतिबिघ्न खुसी भइरहेका छन् !’ आफूलाई गरिएको भव्य स्वागत-सत्कारले भने उनको मन बागबाग भइरहेको थियो ।

“नेताजी, लौ बधाई छ । आखिर विहारसँग बहु-बेटीको रिस्ता जोड्ने तपाइर्ंको चाहना पूरा भयो,” एक अतिथि उनको ससुरासँग गला मिलाउँदै खुसी व्यक्त गरिरहेका थिए । “अब तपाइर्ंको राजनीतिको घोडा सरपट दौडिन्छ,” अर्का भद्र व्यक्तिले ससुराको पिठ्यँूमा धाप मार्दै भने ।

‘मेरो विवाह र ससुराको राजनीतिबीच के सम्बन्ध छ ? विवाहको भोज खान आउने मान्छेहरु मेरो लोग्ने र मलाई बधाई दिनुको साटो किन ससुराले चुनावै जितेजस्तो व्यवहार देखाइरहेका छन् ? यो के चक्कर हो ?’ उनी रनभुल्ल भइन् । दिल्लीमा उनी गएकी छैनन् तर त्यहाँ जाने नयाँ मान्छे र नयाँ ड्राइभर सडकका गोलचक्कर देखेर परेसान हुन्छन् रे भन्ने सुनेकी थिइन् । तर, यहाँ त मान्छेहरु शब्दैपिच्छे गोलचक्कर दिइरहेका छन् । दिल्लीका गो लचक्कर भ्रमपूर्ण छन् वा यहाँका मान्छे !

उनलाई हाँसो उठेको थियो, आफ्नो लोग्ने देखेर । चमकदार शेरवानी लुगामा पनि दुलहाको व्यक्तित्व खुल्न सकेको थिएन । त्यति धेरै हल्लनटाट पनि होइन तर उनको अनुहारमा विवाहको दिन देखिनुपर्ने स्वाभाविक चमक थिएन । बिजुलीदेवीको चमकका अगाडि उनी फिका भएका पनि हुन सक्थे ।

झट्ट हेर्दा विवाह समारोह दुलहा पक्षको नभएर दुलही पक्षले आयोजना गरेझैँ देखिन्थ्यो । दुलहाका मातापिता छोराको बिहे गराएकामा नभई बिजुलीलाई भित्र्याउन पाएकामा बढी खुसी देखिन्थे । गाउँलेको उत्सुकता र चासोको केन्द्रविन्दु पनि बिजुलीदेवी नै थिइन् । मानौँ, बिजुलीदेवी साक्षात् देवी हुन् । उनले सबैलाई वर दिनेछिन् । आमाबाबुको चाहना अनुसार सन्तान जन्माइदिनेछिन् । व्यापारीहरुको व्यापार बढाइदिनेछिन् । किसानको बाली सपारिदिने छिन् । जग्गावालाको जग्गा, साहूको ब्याज र पसलेका सामानको भाउ बढाइदिनेछिन् । गाउँका छोकरा-छोकरीलाई जागिर दिलाइदिनेछिन् । नेताको मान र कार्यकर्ताको सान पनि बिजुलीदेवीको आशीर्वादले नै बढ्नेछ । लाग्छ कि उनको विवाह त्यो रुन्चे अनुहार लगाएको लोग्नेसँग नभई यो गाउँसँग भएको हो । उनको गृह प्रवेशमा गाउँ जति उत्साहित छ, लोग्ने त्यति नै निरुत्साहित छन् ।

उनले सोचेकी थ्ािइन् कि पोईको घरमा आएपछि माइती घरमा जस्तो पाइखानाको खोजीमा चौर, झाडी, खेत, कुलाको डिल, सडकको किनार र अर्काको बारी चहार्दै हिँड्नुपर्ने छैन । तर, साँझपख खाना खाइवरी आइमाईहरु लोटामा पानी भरेर खेतका गरा, बारी र सडकका किनारमा जान थालेको देखेपछि उनले बुझिन्, यहाँको चलन पनि यस्तै रहेछ ।

सडकको किनारै किनार सय मिटरजति हिँडिसक्दा पनि उनले खाली ठाउँ भेट्टाउन सकिनन् । सडकको किनारमा गाडिएका पोलमा बिजुलीका चिम बलिरहेका थिए । उनले आफू दुलही बनेर घरमा आउँदा ससुराले स्वागत गर्दै भनेको सम्भिmन्, “मेरी बुहारीको नामजस्तै अनुहार पनि उज्यालो । आफू पनि आइन् र यस गाउँमा बिजुली पनि लिएर आइन् ।” अहिले यही बिजुली संकट बनेर उभिएको छ, उनका अगाडि ।

हुन त बिजुलीको उज्यालोलाई बेवास्ता गर्दै फाट्टफुट्ट केही महिला सडकको किनारमा शौच गर्न नबसेका होइनन् । तर, बिजुलीदेवी नवदुलही भएका कारण कसैको धक नमानी जहाँ पायो त्यहीँ धोती उचालेर टुसुक्क बस्न पनि भएन । उनी सडकको किनार छाडेर खेततिर लागिन् । गहुँ खेतमा भर्खर पानी पटाएकाले होला जमिनको सतह गिलो थियो । उनको दाहिने खुट्टा चप्पलसहित जमिनमा भासियो । बल्लतल्ल्ा खुट्टा झिकिन् तर हिलैहिलो टाँसियो । वरिपरि कोही दबेको आवाजमा हाँसिरहेको थियो । को छ त्यहाँ ? जो भए पनि टट्टी गर्न लागेको मान्छेलाई हेर्ने कुरा भएन । सायद कोही पुरुष हिलोमा खुट्टा गाडेरै टट्टी गरिरहेको थियो । उनलाई त्यसो गर्ने साहस आएन । “कौन छे मेरे खेतमे पाइखाना करै ?” नजिकैको घरबाट कोही जोडले बोल्यो । सायद ऊ खेतको मालिक थियो । उसले टर्च बाल्यो । टर्चको प्रकाश गहुँँ खेतमा पर्‍यो । लोटा खेतमै छाडेर दुई जना कट्टु समात्दै उल्टो दिशातिर भागे ।

‘तिनीहरुको ठाउँमा म भएको भए मर्नु बराबर हुन्थ्यो । भोलिपल्ट गाउँमा फलानाकी बुहारीले फलानाको गहुँ खेतमा टट्टी गरी भन्ने हल्ला फैलिन्थ्यो ।’ बिजुलीदेवीलाई डर लाग्न थाल्यो । ‘भउजी तपाईं जाँदै गर्नूस् म भाँडा माझेर आइहालेँ !’ भनेकी थिइन् नन्दले । धन्न, उनी आइपुगिनन् । बिजुलीदे वीलाई शौच नै नगरी घर फर्कूंजस्तो लाग्यो । तर, पेटभित्रको आन्द्रा बटारिएर भुइँमा झर्ला जस्तो भइरहेको थियो ।

चिप्लो हिलो लागेकाले उनको खुट्टो बारम्बार चप्पलबाट फुत्किरहेको थियो । उनले दुवै चप्पल बायाँ हातले समाइन् । पाइखाना खोज्ने क्रममा दायाँ हातमा रहेको लोटाको पानी छचल्किएर आधा भइसकेको थियो । खेतका चाक्लाहरु पार गरेर उनी चौरमा पुगिन् । सरकारी पर्ती जमिन थियो वा कसैले बाँझै छाडेको जमिनमाथि ठुटोे पारिएको एक घुच्चो पराल थियो । नजिकै गाई-गोरु बाँध्ने दुई कीला । परालको घुच्चोले आधा जीउ छेकिने गरी उनी हतपत भुइँमा लोटा राखेर घुँडा खुम्च्याएर बसिन् । सन्तोषको लामो सास तानिन् । उनले घुम्टोबाट अनुहार निकालेर बाहिर हेरिन् । ठीक अगाडि मटमै लो सडकको किनारामा बिजुलीको पोल थियो । पोल मात्र भएर केही फरक पर्दैनथ्यो तर जानी दुस्मन चिम धपक्क बलिरहेको थियो । आफू सबैका लागि सदृश्य भइरहेकाले उनी हैरान भइन् । उनलाई जहाँ शौच गर्ने जग्गा मिल्थ्यो, त्यहाँ बिजुलीको पोल खडा हुन्थ्यो । पोल नभएको ठाउँमा खाली जमिन हुँदैनथ्यो । उनी हेरिरहेकी थिइन् त्यस चिमलाई, जुन स्त्रीत्वमाथि व्यंग्यवाण चलाइरहेको थियो । उनी छटपटाउन थालिन् । शरीरभरि सकसक लाग्न थाल्यो । मानौँ, बिजुलीको किरण झुसिलकीरा बनेर रिङ्दै पैतालाबाट जीउको तल्लो भाग हुँदै माथिल्लो भाग र त्यसपछि सम्पूर्ण शरीरमा फैलिरहेको छ ।

बिजुलीदेवीको मन तर्कना गर्न थाल्यो । यसै त घरबाट तीन सय मिटरजति पर आइसकेकी छु । यसभन्दा टाढा कहाँ जाऊँ ? गाउँको बारेमा केही थाहा छैन । उनलाई यही विकल्प उचित लाग्यो । अघिदेखि निरन्तर पेट दुखिरहेको थियो । मांसपेशीहरु बाउँडिन थालेका थिए । उनको मनले चाहिरहेेको थियो, शौच गरेर छिटो घर जाऊँ । लोग्ने कोठामा कुरिरहेको होला । न जाने के के सोचिरहेको होला । अफसोच ! लाख कोसिस गर्दा पनि शौचबाट निवृत्त हुन सकिरहेकी थिइनन् ।

बिजुलीको चिम जलिरहेसम्म, चारैतिर उज्यालो छरिरहेसम्म उनलाई पाइखाना लाग्नेवाला छैन । यो भर्खरै देखिएकोे समस्या थिएन । आफ्नो माइतीघर विहारको गाउँमा हुन्जेल उनले कहिल्यै शौचालयको मुख देख्न पाइन्न । एकचोटि बिरामी भएर सीतमढीमा जचाउन जाँदा अस्पतालको शौचालय देखेर बान्ता आउला जस्तो भयो र फरक्क फर्केर मैदानतिर कुदेकी थिइन् । पछि पटनामा जाँदा भने खाली मैदान नभेटिएकाले आफू बसेको होटलको शौ चालय प्रयोग गर्न बाध्य भएकी थिइन् ।

गाउँमा त बिजुलीका खम्बाहरु पनि गाडिएका थिएनन् । कुनै गाउँमा बिजुलीका खम्बाहरु त हुन्थे तर तार हुँदैनथे । तार भए पनि लाइन हुँदैनथ्यो । तर, उनको गाउँ भाग्यमानी थियो, जहाँ उनका पिताजीले तेस्रोपटक चुनाव जितेपछि बल्ल बिजुलीको लाइन ल्याइदिएका थिए ।

बिजुलीको लाइन आयो, रातको अन्धकार गयो । अन्धकार मासिन थालेपछि गाउँलेको सातोपुत्लो उड्यो । माइती घरमा पहिलोपटक बिजुली आएका बेला पनि उनी यसै गरी सडकको किनारमा शौच गर्न बसेकी थिइन् । अकस्मात् उनको ठीक अगाडि रहेको बिजुलीको पोलमा चिम बलेको थियो । उनी विस्मित् हुँदै चिच्याउँदै उठेकी थिइन् । त्यस बेलाको सकस सम्झेर उनमा अहिले पनि उकुसमुकुस हुन्छ । उनको गाउँमा बिजुलीको लाइन आएको केही दिनमै एक-एक गरी सबै चिम फुटेका थिए । बिहे गरेर ससुराली आए पनि माइतीको दु:ख जस्ताको तस्तै !

ससुराले भनेको कुरा सम्झिन्, ‘मेरी बुहारी आइन् र सँगै बिजुली पनि लिएर आइन् ।’ सम्भवत: उनी सँगसँगै आएको हो, बिजुलीको लाइन पनि । तर, यो बिजुलीले सबैभन्दा धेरै दु:ख उनलाई नै दियो । उनको लाजलाई लिलाम गर्‍यो बिजुलीले । तनावग्रस्त बिजुलीदेवी अझै पनि शौच गर्न सकिरहेकी थिइनन् ।

अचानक उनको दिमागमा एक ‘विचार’ फुर्‍यो । यसको व्यावहारिक अभ्यास उनले माइतीघरमै गरिसकेकी थिइन् । बिजुलीदेवी जुरुक्क उठिन्, पोलनजिकै गइन्, जमिनबाट ढुंगा टिपिन् र जोडले चिममा हानिन् । झर्‍याम्म !!

तिखो आवाजका साथ चिम फुट्यो । क्षणभरमै अँध्यारो व्याप्त भयो । बिजुलीदेवी मुुसुमुसु हाँस्दै फेरि शौच गर्न बसिन् । पेट हल्का हुन थालेको थियो । उनको लाज लिलाम गर्ने बिजुलीको चिम झर्‍यामझुरुम भएर जमिनमा छरपस्ट थियो ।

‘झर्‍याम्म…!’

अर्को बिजुलीको पोलको चिम पनि कसैले फुटाल्यो । आवाज र अन्धकार एकैसाथ आए । बिजुलीदेवीले आश्चर्यचकित भएर त्यो पोलतिर हेरिन्, जहाँ भखर् र कसैले चिम फुटालेको थियो ।

‘झर्‍याम्म…!’

‘झर्‍याम्म…!’

‘झर्‍याम्म…!’

‘झर्‍याम्म…! झर्‍याम्म…!! झर्‍याम्म…!!!’

सडकको किनारमा लहरै ठडिएका बिजुलीको पोलमा झलमल्ल बलिरहेका चिम एक एक गरी फुट्तै गए । केही बेरमै पूरै गाउँ अन्धकारमा डुब्यो । खित्…खित्…खित्…खित्…खित् !! अन्धकारको बीचमा गाउँलेको लामो हाँसो गुन्जियो । त्यसमा बिजुलीदेवीको उन्मुक्त हाँसो पनि मिसिएको थियो ।

प्रकाशित: आश्विन १२, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.