~रमेश सायन~
‘खे खोगी मगयो ?’
‘खोगी’–बुझें । ‘मगयो’ –बुझें । ‘खे’ –बुझिनँ ।
टाउको उठाएँ । कचोरामा हेरें । झोल सहितको मासु छ । लोभ लाग्यो । टाउकोको इसाराले खान्छु भनें । कोरिया आएको दश दिन भएको छ । यसबीचमा दाल भात खुब सम्झें । जति सम्झेँ आमालाई । जति सम्झेँ प्रेमिकालाई । खाना खान्छु । स्वादको लागि हैन ! बाँच्नको लागि । प्रत्येक खानामा क्यालोरी हिसाब गर्छु । यति खानाले ‘म बाँच्छु !’ बाँच्ने निश्चित भएपछि चपाउँदा चपाउँदैको खाना उकेलिदिन्छु । यस्तोबेला नेपाली स्टायलको झोल सहितको मासु देख्दा आँखाले भन्दा आत्माले धेरै माग्यो । यी दश दिनमा सबैभन्दा मिठो खाना खाएँ । जसले मलाइ एकैछिन भए पनि घरको चुलो विर्साइदियो ।
कोरिया आएको चार महिना पछि सरद लाग्यो । घामका रेसामा दशैँको सौन्दर्यता लपक्क टासिएको छ । हावामा केहि चिसो लहर मिसिएको छ । सितका पाइला टेकेरे आइपुग्ने दशैँ खुब सम्झिरेको छु । यता कोरियामा भर्खरै कोरियाली दशैँ ‘छुसक’ सकिएको छ । रुखका पातहरु राता पहेंला हुन थालेका छन् । पहाडहरु कुनै कलाकारले रंग पोतेको क्यानभाष जस्तो देखिएको छ । यस्तो रंगिन पहाड मेरो देशमा छैन । यसकारण बिदाको दिन कतै जानु भन्दा पाहाडको फेदमा बसेर रंगीन जंगल हेर्नुमै आनन्द छ ।
सहकर्मी नामदोङ् फ्यु मध्यान्नपछि मेरो कोठा सामु देखियो । अभिबादन गर्दै भन्यो –‘सायन मेरो छिमेकी मित्र से युङ्लाइ चिन्छौँ नि ?
’ –‘अँ ! त्यो रमाइलो मान्छे ?’
–‘हो’– नामदोङ्ले भन्यो
–‘चिन्छु ! किन ?’
–‘उसको घरमा आज कुकुर काट्दै छ । साँझसगैँ रक्सी र मासु खाएर रमाइलो गर्नु पर्छ है ।’
– नामदोङ्ले भन्यो
–‘कुकुर ! म खान्नँ !’
–‘किन ?’
–‘कुकुरको औधी माया लागछ । मान्छे र कुकुर उस्तै लाग्छ ।’
अचम्म शैलिले हाँस्यो र भन्यो– ‘धेरै पल्ट कुकुरको मासु खाइसक्यौ । तिमी कोरिया आए लगत्तै, कुकुरको मासु खान्छौ ? भनेर सोधेको थिएँ । तिमीले खान्छु भन्यौँ । खाइ सकेपछि मिठो भयो पनि भनेका थियौ । त्यस पछिका दिनहरुमा तिमीले चार पल्ट कुकुरको मासु खायौ ।’
पेटमा कुकुर बेतोडले भुक्यो । घरको प्रिय कुकुरले मलाइ अपराधी पापी र क्रुर रहेछस् भन्यो । मेरो प्रिय कुकुरको आत्माले मलाई सराप्यो । गिदीमा कुकरहरुको आत्मा भट्कियो । सारा ज्ञात अज्ञात कुकुरको आत्माप्रति क्षमा माग्छु ।
‘खे खोगी मगयो ?’ अर्थात कुकुरको मासु खान्छौ ?
चार महिनापछि अर्थ बुझ्दा साह्रा आन्द्रा बटारिएर किलकिलेसम्म आए । किलकिलेबाट माथि उक्लन नसकेपछि निरिह हुँदै फेरी ओरालै झरे । आन्द्रा आफ्नो ठाउँमा शकुसल फर्किएपछि बाइस वर्ष अघिको वेस्टफ्रेन्ड प्रिय ज्ञानी कुकुरले आँखामा लगातर फन्को मार्याे । पानीमा माछा पौडे झैँ ज्ञानी मेरो गिदीको खोपिल्टामा पौडियो ।
घरमा नौ वर्षपछि कुकुर नपाल्ने निर्याय फिर्ता भएको छ । बुबाले चारपाथी कोदोमा किनेर ज्याङ्गो भोटे कुकुरको छाउरो ल्याउनु भएको छ । केहि दिन उसको बानी–ब्यहोरा अध्यन गरेपछि बुबाले उसको नाम ज्ञानी राखिदिनु भयो ।
ऊ ज्ञानी बन्यो ।
एक पल्ट ख्याङ् गर्याे भने सात पल्ट अपरितिच अच्किन्छन् । आफुलाइ उत्पात माया गर्दै भाग्न खोज्छन् । ज्ञानी हाम्रो घरको माथिल्लो पहरेदार अफिसर । मेरो असल साथी । र, घरको प्रियतम सदस्य हो । रामनवमीको बेला थियो । आमाले मलइ हलेसी लैजाने भन्नुभयो । उसै फुरुङ परें । केटाकेटी हिंड्न
पाउनु र फुरुङ् पर्नु समानन्तर रेखा हो । घरबाट हिंडेर हलेसी पुग्न पुरै एक दिन लाग्छ । हिंड्न नसके दुई दिन पनि लाग्छ । तर हामी भिरपाखा गरिहरनेलाई एक दिनको बाटो हो । बिहान आमाले झोलामा खानेकुरा हाल्दा नहाल्दै वार्दली पारिको हिमालमा सुनको जलप लाग्यो । हिमाल, आमाको नाकको सुनको फुली जस्तो देखियो । विस्तारै घाम बाह्रको टाउको टेकेर घरको बार्दलीमा आयो । हिमाल, आमाको हातको चाँदीको चुरा जस्तो देखियो । बलेसीमा ज्ञानी छ । मुन्टो दैलोतिर फर्काएको छ । हामीलाइ देखेपछि जाँगरिलो भएर उठ्यो । र, हिमालतिर मुन्टो बटार्यो । मेरो पैतलामा लुटुपुटु गर्यो ।
आगनमा उभिएर आमाले ज्ञानीलाई भन्नुभयो –‘घरै बस् । हामी भोली आउँछौं ।’ ज्ञानीले पुच्छर हल्लाएन । उभ्भिरहयो । हामी तगारो नाघेर ओरालो लाग्यौँ । उफ्रिदै हामीसँगै आयो । आमाले हकार्दै घर जा भन्नु भयो । मानेन । पछिपछि लाग्यो । टारबारीबाट ओरालो लागेपछि मेरो खुट्टामा लुटपुटिन थाल्यो । मैले घाटि मुसार्दै घर जा भनें । घरतिर धकेलिदिएँ ।
ज्ञानी उभियो । हामी ओरालो लाग्यौँ । केहि तल पुगेपछि फेरी उफ्रदै आयो । दाजुले भन्नुभयो –‘छाडिदिऊँ । बेसी पुगेर फर्कन्छ ।’ ज्ञानी, बेसी खेतसम्म थुप्रैपल्ट पुगेको छ । धान रोप्न । काट्न । मकै, गहुँ छर्न । पराल, धान बोक्न । खेतको चौकिल्ला जानेको छ । चिनेको छ ।
मंसिरमा धान थन्क्याएपछि परालको भारी बोकिन्छ । जुनेली उज्यालोमा बिहान तीन बजेनै बेसी झर्नु पर्छ । परालको भारी घरमा विसाए पछि गोठ धन्दा र बाँकी काम सुरु हुन्छ । आमा, दाजु, बुबासँगै ज्ञानी पनि बेसी जान्छ । उसले सुत्नुपर्छ भन्दैन । अल्छि मान्दैन । थकाइ मान्दैन । झन्झट मान्दैन । सधै बेसी झर्नु उसको इमान्दार रहर हो ।
सायद आज बिहानै हामी ओरालो लागेको देखेर बेसी खेत सम्झियो कि ! हामी बेसी पुग्यौँ । राकुलो खोला तर्यौँ । ज्ञानी वारी नै बस्यो । र, हामीलाइ हेरिरह्यो । आमाले पारीबाट घर जा भन्नु भयो । ऊ मौन वस्यो । मैले पनि उसै भनेँ । मौन बस्यो । दाजुले पनि उसै भन्नुभयो । मौन वस्यो ।अलि माथि पुगेर ज्ञानी भएतिर फर्कें । उफ्रदै आयो । आज ज्ञानीले हामीलाइ टेरेन ।
आमाले भन्नु भयो
–‘छाडिदिउँ । हामीसँगै जाओस् ।’ ‘सुनकोसी तर्न सक्दैन । फर्कन्छ’
– दाजुले भन्नुभयो । फर्कदा बाटो देख्दैन । हराउँछ । हामीसँगै लैजानु पर्छ
– मैले जिद्धी गरें । ‘हलेसीमा भिड हुन्छ । ज्ञानी कहाँ वस्छ ?
हामी मन्दिर भित्र बस्छौँ । तँ बाहिरै बस् । ज्ञानीसँगै सुत’– आमाले मलाइ कराउनु भयो । दाजु हाँस्नुभयो ।
मैले पनि कोशीबाटै फर्काउने भनेँ । ‘तर यति लामोबाटो कसरी एक्लै फर्कन्छ ? बाटोमा मान्छेले यसलाई समात्छन् । जंगलमा हराउँछ ।’
‘हराउँदैन । एकपल्ट हिँडेको बाटो सम्झन्छ’ –आमाले भन्नुभयो । ज्ञानी पछि लाग्यो । हामी अघि लाग्यौँ । बुत्कु पुगेपछि सुनकोशी देखियो । कोशी आँखा जस्तो निलो बगेको छ । सर्प जस्तो आकारमा हिँडेको छ । मौन छ । शान्त छ ।
बुत्कु पुगेपछि मलाई भोक लाग्यो । आमाले मलाई र ज्ञानीलाई खानेकुरा दिनुभयो । दाजु र आमाले खानु भएन । कुनाइ घाट थोरै फाटिलो छ । घाम उग्र भएर कोशीमा हाम्फालेको छ । मानौँ घामले आफ्नै ताप सहन नसकेर पानीमा चोवलिदै चिसिन चाहन्छ । वारीपारीको चट्टान तातेर आगो ओकल्न लागेको छ । हलेसीमा भाकल बुझाउनेहरु । मेला भर्नेहरु । सामान बेच्नहरु । राडिपाखी किन्नेहरु हतारमा छन् ।
नाउमा आँटेजति बसेका छन् । बाँकिले पालो कुरेका छन् । एउटा सानो सिमलको ढुड खोपेर बनाइएको डुंगा छ । डुंगाले अल्छि गर्याे भने जीवन माछाको चारो हुन्छ । तर कसैले मर्छु भनेका छैनन् । बाँच्न तरेका हुन् । मर्न हैन । बाँच्नुको सत्य कसैले भुलेका छैनन् । हामी डुंगामा चढ्यौँ । ज्ञानी किनारामा टुक्रुक्क बसेर डुंगाले पानीमा बनाएको बाटो हेरिरहेको छ । माझिको कला हेरिरहेको छ ।
कोशीको बीचमा पुगेर आमाले भन्नुभयो –‘ज्ञानी अब तँ तर्न सक्दैनस् । आएकै बाटो नविराइ फर्कि । बेलुकासम्म घर पुग्छस् । हामी भोलि आउँछौँ ।’ मानौँ आमाले छोरालाई सम्झाईरहनु भएको छ । मलाई सम्झाई रहनु भएको छ ।
हामी वारी तर्याैँ । ज्ञानी पारि उहि आसनमा बसेको छ । मौन छ । बतासलाई बाहिर अलमल गर्न नदिइकन छिटोछिटो आफ्नो फोक्सोमा हुलिरहेको छ । एकतमास हामीलाइ हेरिरेको छ । ऊ एक्लै फर्कन चाहदैन । भोलिसम्म हामीलाइ पर्खन पनि सक्दैन । ज्ञानी सकसमा छ । आमाले खाजा खाने भन्नुभयो । हामीले किनारमा बसेर खाजा खायौँ । ज्ञानी उसै गरि बसिरहेको छ ।
मैले भनेँ –‘आमा ज्ञानी फर्कन मानेन । डुंगामा ल्याइ मागौँ ।’
‘संगै लगेर कहाँ राख्छस् ? भिडभाड हुन्छ । मन्दिर छेउछाउ कुकुरलाइ कस्ले टेक्न दिन्छ ! मान्छेले कुट्छन् । हकार्छन् । लगार्छन् । बरु यहाँबाट फक्र्यो भनेँ घर पुग्छ’ –आमाले भन्नु भयो ।
‘हामीलाइ नदेखे पछि फर्कन्छ’ –दाइले भन्नु भयो ।
खाजा खाइसकेर हामी हिंड्न खोज्दै थियौँ । ज्ञानीले अचानक कोशीमा हामफाल्यो । आमा, दाजु, म तिनै जना मौन भयौँ । एकै पल्ट सास रोकियो । अरु यात्रीले अनौठो मानेर हेरे । मानौँ ज्ञानीले हाम्रै अघि आत्महत्या गरिरहेको छ । ऊ हामीसँग किन यतिबिघ्न रिसायो ! जीवनभन्दा मृत्यु किन सुन्दर देख्यो !
किनारामा उभिएर आफ्नै घरको प्रियतम सदस्यको क्रुर मृत्युलाई, लाइभ हेरिरहेका छौँ । जसको पीडालाई शब्दले आकार दिन सक्दैन । सुनकोशीको तातो बालुवा बरफ झै चिसियो । आकास बांगियो । पहाड भत्कियो । कोशी उल्टो बग्यो । सबै कुरा उल्टो उभियो । टाउको रोटेपिङ्को गतिमा फनफनी घुम्यो । सँगै नतारेकोमा हामीलाई अहिले ग्लानि र पछुतोले सर्लक्कै निलेको छ । हाम्रो आँखामा कालो पर्दाथ जमेको छ । आँखाको नानी आँसुको रापमा खरानी भएको छ । सरीरको भार थाम्न नसक्ने गरि पैतला कामेको छ । मुटु चर्केको हाँडी जस्तो बेभरको भएको छ ।
ज्ञानी ओरालो बग्यो । मुन्टो पानी माथी छ । दाजुले आस गर्दै भन्नु भो –‘पौडदै तर्ला कि !’ तर ज्ञानी झन्डै सय मिटर तल पुगि सक्यो । हामीलाइ नाउमा तारीदिने माझि हाम्रो छेउ आएर भन्यो –कुकुर पौडिएर तर्न सक्छ । वीचमा आइपुगेको छ । अलि तल पुगेर तर्ला । माझिले आसाको दियोमा बर्तन थपिदियो ।
सोचेँ –यो कुकुर हैन । मान्छे हो । मान्छेहरुको अनौठो विश्वासले भने झैँ साच्चै चौरासी हजार जुनीपछि फेरी मनुख्यकै जुनिमा मान्छे फर्कने हो भने ज्ञानीको यो जुनी त्रीयासी हजार नौ सय उनान्सय जुनी हुनुपर्छ । अर्काे जुनीमा मान्छे हुने निश्चित छ । ऊ अहिले असल मान्छे हुने अभ्यास गर्न यो जुनीमा कुकुर भएको हो । अर्काे जुनीमा ज्ञानी संसारकै सबैभन्दा ज्ञानी मान्छे हुने छ । हामीले सास रोकेर बसेका छौँ । ज्ञानी टाउको सानो हुँदै गएको छ । किनारामा फालिदिइएको माछो र हाम्रो अवस्थामा कुनै फरक छैन । मेरो मुटु उफ्रेर ज्ञानीसँगै कोशीमा हामफाल्ला जस्तो भएको छ । ज्ञानी ठूलो भुमरी छेउ पुग्न लाग्यो ।
माझीले भन्यो–‘त्यो भुँमरी भित्र पस्यो भने तँपाइहरुको कुकुर निस्कन सक्दैन ।’ ज्ञानीले मृत्युसँग हार्न लाग्यो । ऊ अन्तिमपल्ट युद्ध गरिरहेको छ । भूमरी छेउ पुग्नुअघि ज्ञानी किनारा छेउ अयो । र मृत्युलाई जित्यो ।
हाम्रो अनुहारमा घाम आयो । किनारमा निस्केर ज्ञानीले जीउ हल्लायो । जीउबाट खसेको पानीको थोपाले खोपेर बालुवामा प्वाल पार्याे । दौडदै हाम्रो छेउ आयो । उफ्रिएर आफ्ना दुई खुट्टा मेरो छातिमा राख्यो । आमाले जिउ सुम्सुम्याइ दिनुभयो ।
मैले ज्ञानीको घाटीमा अँगालो हालें । बटुवाहरु अचम्म मानेर हामीलाइ हेरिरहेका छन् । ज्ञानीले मलाइ प्रत्येक बिहान स्कुलको चौरसम्म पुर्याएर फर्कन्थ्यो । ज्ञानी पढ्न चाहन्थ्यो ! अक्षरको जादु बुझ्न चाहन्थ्यो ! म जस्तै चित्र कथाका जुंगे मान्छेहरु देखेर दंग पर्न चाहन्थ्यो ! कालो पाटीमा ठूलो भुँडी भएको हेडसरको चित्र बनाउँन चाहन्थ्यो ! वा मेरा अनगिन्ती बदमासी घरमा ल्याएर सुनाउन चाहथ्यो ! र, म असल मान्छे भएको हेर्न चाहन्थ्यो !
ज्ञानी मेरो पछि लागेर स्कुल जान थालेपछि मैले बाटोमा अलमल गर्न पाइनँ । म धेरै जसो दिन स्कुल जाँन्न थेँ । काफलको बोट,गुरासको रुख, भिरपाखा, पोखरीको डिलतिर दिन बिताउँथेँ । म जहाँ जान्थेँ ज्ञानी उहिँसम्म पछ्याउँथ्यो । दिउसो ज्ञानी घरमा देखिएन भने बेलुका ममाथी केरकार शुरु हुन्थ्यो – ‘तँ आज स्कुल गइनस जस्तो छ । नत्र ज्ञानी घरमा हुन्थ्यो । तँ बाटोमा कता हराइस् ? ज्ञानी घर आएन !’ कसैले हकारेपछि म भित्रको झुट काम्दै बाहिर निस्कन्छ । मेरो सारा पोल खुल्छ ।
यहि निहुँमा ज्ञानीलाइ अनगिन्तीपल्ट स्कुल जाँदा बाटोमा कुटेको छु । ऊ कुईकुई गर्दै अलि वरसम्म फर्कन्छ । र फेरी मेरो पछि लाग्छ । ऊ कहिलै रिसाएन । मैले कुट्दा बद्लाको भाव लिएन । घामले आफ्नो आयु सक्नै लाग्दा हामी हलेसी पुग्यौं ।
रामनवमीको बेला छ । मान्छेका अनगिन्ती भाकल छन् । महादेवको मुख्य वासस्थानको गेटमा गुम्बा छ । शान्त शैलीमा सास फेर्ने भिक्षुहरुले उच्चारण गरेको मन्त्रको रिदम गुफा छिर्न चाहन्छ । तर, मान्छेको स्वासमा अल्झेर गुफाको प्वालमै हराइजान्छ ।
हामी महादेवको गुफाको मुखमा पुगेयौँ । आमाले ज्ञानीलाइ भन्नु भयो –‘विहानसम्म यतै बाहिरै बस् । भोली छुटलास् । हराउलास् । ऊ त्यहाँ गएर घरको चेपमा बस ।’ आमाले एउटा घरको चेप तिर देखाउनुभयो ।
दाजुले भन्नुभयो – यसलाई मान्छेले लखेट्लान् । त्यहाँ बस्न दिँदैनन् । अब हामी गेट भित्र छिर्याै । ज्ञानी उभिदा उभिदै हरायो । आफ्नै बलबुताले मृत्युलाई जितेर हाम्रो पछि लागेर आएको ज्ञानी फेरी हामीबाट छुट्यो । मलाई ज्ञानीको बेस्मारी माया लागेको छ तर ज्ञानीसँगै बाहिरै बस्छु भन्ने हिम्मत गर्न सकिन । आमा र दाजुले पनि तँ ज्ञानीसँगै बस भन्न सक्नुभएन ।
मान्छेभन्दा पनि असल र ज्ञानी भएर पनि ज्ञानीलाई मान्छेले मान्छे जस्तो देखेनन् । स्वयम् मैले , आमा र दाजुले पनि देखेनौँ । ज्ञानीको पनि कुनै भाकल थियो कि ! आमाले अन्तिम हिँउदमा स्वस्थानी भन्दा उसले पनि सुनेको हो । त्यहि स्वस्थानी कथामा वर्णित महादेवको लिंग हेर्न चाहन्थयो कि ? सोध्न चाहन्थ्यो कि महादेवलाई, सतेदेवीको अंगप्रत्यंग कसरी खसे ? तिमीले लासलाई माया गर्यौ कि सतेदेवीको आत्मालाई ? कि वुझ्न चाहन्थ्यो दुई विशाल गुफाको उत्पत्तीको रोचक कहानी ? वा गुफा भित्रको पापद्वार, धर्मद्वारबाट छिरेर भन्न चाहन्थ्यो –‘म मान्छे भन्दा धर्मात्मा छु । ज्ञानी छु । इमान्दार छु ।
तर हामी अज्ञानी मान्छेले ज्ञानीलाई भित्र पस्न दिएनौँ । ऊ बाहिर भयो । हामी भित्र । हामी न्यानोमा बस्यौँ । ऊ चिसोमा । हामीले देउताको नाममा भजन गर्यौं । पुजा गर्याैँ । भाकल बुजायौँ । केहि माग्यौँ । पुकार गर्याैँ । इश्वर जस्तो ज्ञानी बाहिरै अनकन्टार भयो । कुनै निर्दयी अविभाकले अपरिचित भिडमा आफ्ना शन्तान छाडेर भागे झैँ । हामीले ज्ञानीलाई छाडेर माहादेवको गुफामा छिर्याैँ । विहान फर्कने बेला हामीले ज्ञानीलाई खोज्यौँ । भेटिएन ।
ऊ नभेटिने कुराको अनुमान हामीसँग हिजैदेखि थियो । जुन अहिले सत्य भएको छ । दाजुले भन्नुभयो –भिडतिर छिर्याै होला । मान्छेले कता लगारे । कुटे होलान् । मलाई आफैलाई दुखे जसरी दुख्यो । अब फर्कदा हामी छौँ । ज्ञानी छैन । सुनकोशी झरेपछि आमाले सम्झनुभयो म जन्मेकै साल देहत्याग गरेको राते कुकुरलाई ।
त्यस कुकुरको मृत्युको दिनदेखी आमा सधैको लागी साहाकारी बन्नुभयो । र, हाम्रो घरमा कुकुर नपाल्ने निर्णय गरियो । तर, बारीको भदौरे मकै जोगाउन निकै मुस्किल परेपछि निर्णय फिर्ता लिदै ज्ञानीलाई ल्याइयो । ज्ञानीले जस्तै रातेले पनि भदौमा बाँदर लखेटेर मकै जोगाउँदो रहेछ । म जन्मने सालको भदौमा राते र बाँदरको लडाँइमा राते घाइते भयो । त्यहि घाउको कारण रातेले एक महिनापछि असोजको अस्टमीको दिन ज्यान गुमायो । त्यस दशैँको नवमीको दिन काटिने खसी हाम्रो घरमा काटिएन । साहाकारी दशैँ बन्यो । त्यसपछि आमा पुर्णतः साहाकारी बन्नुभयो ।
आमाले कोशी तरेर भन्नुभयो– ‘अब म बाँचुन्जेल घरमा कुकुर पाल्दिनँ । बरु सप्पै मकै बाँदरले खाओस् । आफुले बाँदर लखेटर जति जोगाउन सकिन्छ उति नै थांग्रामा जाओस् ।’ रातेले मृत्युको चरम पीडा भोग्यो । घाउमा किरा पर्याे । जानेको सप्पै औषधी गर्दा पनि निको भएन । खाने कुरा समेत निल्न सकेन । बलेसीबाट उठन सकेन । घाउबाट किरा भँुइमा खस्थ्यो । हेर्दा आँखाबाट आँसु खस्थ्यो । अन्तमा ः कुँई कुँई गर्न समेत नसकेर मर्याे । आमाले रातेको मृत्युको हाड स्केच सुनाउनुभयो । आमाको आँखाको खाल्डोमा आफ्नै सन्तानको मृत्युको क्रुर चित्रले जम्प हाने झैँ रातेको मृत्युको चित्रले जम्प हान्यो ।
फेरी मान्छे जस्तै ज्ञानी उति टाढादेखि देउताको थानमा आएर हरायो । बेसी खेत आइपुगेपछि आमाले भन्नुभयो –‘घरकै परिवार हराए जस्तो भएको छ ।’ मानौ, मै हराए जसरी नै फेरी देउतालाई भाकल गर्नुभयो –‘ज्ञानी फर्केर आयो भने फेरी हलेसी माहादेलाई भाकल चढाउन जानेछु ।’
साँझ छ बजे घर आइपुग्दा हामीसँग हिँडाइको बेजोड थकाइ छ । मनमा ज्ञानी हराएको पिर छ । तगारो नाघेर घर पस्दा ज्ञानी आँगनमा पुच्छर हल्लाउदै मेरो खुट्टामा लुटपुटिन आइपुग्यो । लु ज्ञानी त दिउँसो तिनै बजे पो घर आइपुगे छ । ज्ञानीको खुट्टामा उस्तै फुर्ति छ । थकाइ छैन । हाम्रो आँखामा खुसी छ । ज्ञानी हिजै राति हिंड्यो कि आज विहान ! ऊ त सधै मलाई स्कुल पुर्याएर घर आए झै पुरै एक दिन हिँडेर हलेसी पुर्याएर एक्लै फर्कि आयो । मेरो आत्माको खुसी ! ज्ञानी घर आइपुग्यो ।
मैले नामदोङ्लाइ भनेँ –‘नामदोङ म अब पुर्ण त साहाकारी हुन्छु । माछा मासु खान छाडेँ ।’ प्रिय ज्ञानी मैले नामदोङ्लाइ ढाटेको हुँ । उसको अघि माछा मासु खाँदिनँ । तर तेरो आत्मालाइ ढाँट्न सक्दिनँ । सत्य बोल्छु । अरु जनाबरको मासु खाए पनि त्यस पछिका दिनहरुकमा कुकुरको मासु खाएको छुइनँ ।
(स्रोत : Nepalpati)