~विवेक विषालु~
जाडोमा कमजोर डुब्दै गरेको तर न्यानो घामको अंगालो र चुम्बन लिदै म धोवी खोलाको किनारै–किनार आफ्ना पाइलाहरु बढाउँदै हुन्छु । मेरो हातमा झुण्डिएको प्लाष्टिकको गुलावी झोला हल्लिदै हुन्छ । झोला भित्र एक प्याकेट दुध र हाँसका केही अण्डाहरु हुन्छन् । मन अनौठो कुरा सोच्दै ओठहरुलाई मुस्कुराउन लगाउँछ –
“साफ–साफ भन्नुपर्दा म त दुध र अण्डा खाने साकाहारी मनुज रहेछु । उसो त दुध शरिरबाटै निस्किएको एक किसिमको रगत न हो । अण्डाहरु भित्र भविष्यको चल्ला जरुर हुन्छ । म यी अण्डा खाँदा भविष्यको हाँस खाइरहेको हुनेछु ।”
आफ्नै टाउको कन्याउछु । मनले आफ्नै कुरा मान्दैन अनि निष्कर्ष सुनाउछ
– “तँ मूला साकाहारी होइनस् ।”
मन आफैले गरेको निष्कर्षमा चित्त बुझाउँछ । “ठिकै छ नि त । म जे सुकै हुँ ।”
केही पाइलाहरु पश्चात चेतनाले कोठासम्म चाडो हिड् भनेर आदेश दिन्छ । तर मलाई हतार भन्ने कार्यसँग एककिसिमको बेग्लै त्रास लाग्छ । हतारमा गन्तब्य ट्ङ्ग्याउन मलाई इच्छा लाग्दैन । त्यसैले म निस्फिक्रीका साथ मनोवादका अनेक त्यान्द्राहरु जोड्दै पाइलाहरु आरामसँग चाल्दै जान्छु । मेरो नजरमा सेतो कपडाले बेरिएको, पहेंलो टाउको भएको सुर्य नामको चुरोट देखापर्छ । त्यो चुरोट बाटोको छेवैमा वेवारिसे खसेको हुन्छ । उसलाई उठाउछु । राम्ररी नियाल्छु । विलकुलै ताजा र नयाँ लाग्छ । चुरोटलाई खल्तीमा राख्दै पुनः उसैगरी अगाडि लम्किन्छु ।
कोठाभीत्र प्रवेश गर्दा दर्जनौ कामुक स्त्रीका तस्वीरहरु जिस्क्याइरहेका हुन्छन् । तस्वीरहरु भित्तामा माउसुली चप्किए झै चप्किएका हुन्छन् । केही तस्वीरहरु नाङ्गै भएपनि मतर्फ फर्किएका हुँदैनन् । केही स्त्रीका सुगठित तस्वीहरु मतर्फ नै फर्किएका भएपनि आफ्ना हातहरुले भ्याएजति अङ्ग छोप्न व्यस्त देखिन्छन् । केही कामुक स्त्रीका तस्वीरहरु कपडा फुकाल्न आतुर देखिन्छन् । केही स्त्रीहरुका तस्वीरहरु भने ठिक प्रकृतिजस्तै गरी स्वतन्त्र फैलिएका हुन्छन् । सबै तस्वीरहरुको आ–आफ्नै विशेषता हुन्छ जो मलाई मीठो लाग्छ । मैले आफैलाई स्वर्गको राजा ठान्छु र उनीहरुलाई आफ्ना अप्सरा । कहिलेकाहीं पिएको बेला तस्वीरहरुको नग्न नाचसँगै आफ्नो नग्न नाच सम्झिन्छु, आफै मुस्कुराउँछु ।
ग्याँसको एउटा चुल्होमा अन्डा उसिन्न बसाल्छु । अर्को चुल्होमा भने चिया बनाउने सामग्रीहरुको उचित मात्रा मिलाएर बसाल्छु । पश्चिमपट्टीको झ्याल खोलेपछी अस्थाउन आटेको बुढो सुर्यका कमजोर किरणहरु टेवल र कुर्सिमा आएर बस्छन् । म पनि घामका किरणहरु बसेको कुर्सीमा नै वस्छु ।
टेवलमा मजस्तै हराएको कुनै कथाकारको कथा संग्रह सुतेको हुन्छ । त्यसलाई उठाउँछु । पानाहरु पल्टाउँदै जान्छु । कथाहरुले नतानेपछी कथा संग्रह डष्टबिनमा फ्याकिदिन मन लाग्छ , फ्याकिदिन्छु । सायद म कानूनको शौखिन भएकाले टेवलमा केही कानूनका कितावहरुमा ध्यान जान्छ । ती कितावहरु एक–एक गरी पल्टाउँदै जान्छु । खुसी लाग्छ । देशमा थोरै भए पनि नियम कानून भएको आभाष हुन्छ । कानून छैन भनेर कठोर जिद्दी गरिरहने कोमल मनलाई मस्तिस्कले सुनाउछ –
“देखिस् ! यहाँ कानून पनि छ । नपत्याए यी किताबहरु हेर ।”
मनले मस्तिस्कसामु मुख अमिलो पार्दै आवाज दिन्छ, “मित्र एकपटक टेवलको ड्ररमा राखेको कालो डायरी पढ त । मेरो शरिरमा लागेका घाउहरुले तिमीलाई अवस्य पनि यथार्थ बोध गराउनेछ ।”
त्यसपछी टेवलको ड्ररमा राखिएको कालो डायरी निकाल्छु । अनि त्यो डायरी पल्टाउन थाल्छु –
मिति :…………
हाम्रो माग अनुसार निर्णय भएन । हामीले मृत्युदण्डको माग राखेका थियौ । तरपनि दाइले र मैले चित्त बुझाउनु प¥यो । चित्त बुझाउनुपर्ने रहर होइन बाध्यता थियो । आठ जना मध्ये एक जनालाई मात्र कारबाही दिलाउन सकियो । केही महिना अघि मेरो सात बर्षिया भतिज अपहरणमा परेको थियो । दाइले माग अनुसारको पैंसाको चाजोपाजो मिलाउदा–मिलाउदै उसको मृत्युको खवर समाचारमा बज्दै थियो । उसको मृत शरिर धोवी खोलाको कालो पुलको कालो छायाँमा लम्पसार परेको थियो । जन्मदै आमा गुमाइसकेको मेरो भतिज जसले आमाको मायाको अनुभुति गर्न पाएन आमा गएकै ठाउँ गयो । आठजना मध्य सातजना अपराधीहरु फरार भएकाले म क्रोधित हुँदै बोलें –
“डि.एस.पी. साब् ! आठजना मध्य एक जना मात्र समातिनु त सरमकों बात भयो ।”
डि.एस. पी.ले बहुतै हलुकासँग बोल्यो –
“म तपाईको क्रोध अनि दुःख अनुमान गर्नसक्छु । तर एक जना त छोपियो नि ! कुनै पनि सुराकै नपाई बन्द परेका यस्ता तमाम केशहरु छन् ।”
उसलाई गाली गर्न मन लागेको थियो तर गरिनँ । घर आएर डायरी लेख्दै गर्दा मलाई लाग्दैछ सरकार नै अपहरणकारी बनाउने कारखाना हो ।
त्यो कुनै अन्जानमा घटेको अपराध थिएन । त्यो कुनै भावुकताले निम्त्याएको अपराध पनि त थिएन । न त क्रोधले निम्त्याएको अपराध नै थियो । त्यो त एक सुनियोजित निर्मम अपराध थियो । तर पनि सरकार उचित कारवाही नै गर्दैन । यही लापरवाहीले यहाँ मान्छे मार्न सजिलो भइरहेकोछ । अपराधीहरु च्याउ उम्रे झै उम्रिदैछन् । सरकार मलजल गर्दैछ । कैयौं पटक मलाई पनि अपराधी बनौं भन्ने मनका खुबै अनुरोधहरु कानुनको मुखमा पिसाब फेर्दै देखापर्छन् ।
मेरो भतिजको उज्यालो अनुहार, कोमल मुस्कानर का–का भन्दै जीब्रो बाहिर निकाली जिस्काएका अनेक तस्वीरहरुको स्मृतिले मुटु खाइरहन्छ ।
ए ! सरकार कारखाना बन्द गर् ।
********************************************
म डायरीका पानाहरु पल्टाउँदै जान्छु । डायरी पल्टाउँदै गर्दा डायरीको मध्यभागतिरका अक्षरहरुमाथि एकैछिन सैर गर्न पुग्छु । अक्षरहरु थोरै संख्यामा हुन्छन् ।
मिति :…………………………….
आज फेरी म कानूनलाई देखेर नाखुस भएकोछु । खासै धेरै पानाहरु भर्ने मुड पनि छैन । मेरी प्रेमिकालाई बलत्कार गरेका साले अपराधीहरु केही महिनामा नै छुटिसके । मैले आज उनीहरुलाई छाती फुलाउदै अट्टहासको हाँसो हाँस्दै शहरका गल्लीहरु घुम्दै गरेको देखें । के यो सरकारले गरेको बलत्कार भएन र ?
ए सरकार ! जेलमा परेकाहरुलाई त छुटाइस् तर मेरी प्रेमिका जो घटना सहन नसकी रुखमा झुन्डीई उसलाई पनि फिर्ता गर । सरकार ! छिटो फिर्ता घर मेरी प्रेमिकालाई ।”
********************************************************
डायरी पढ्दैगर्दा आँखाहरु रिसाउँछन् । रिसले राता हुन्छन् आँखाहरु तरपनि पानाहरु पल्टाउदै जान्छु । केही पानाहरु सरसरती हेरेर पल्टाउछु । मेरा नजर एउटा पानामा गएर अड्किन्छन् –
मिति :…………………….
के हुन लागेको यो देशमा ? हे भगवान भन्नै गाह्रो । सुन्नै गाह्रो अनि लेख्नै गाह्रो । मेरो छिमेककी तीन बर्षिया बालिकाको बलत्कार भयो हिजो राती । बालिका अस्पतालमा सिकिस्त छे । पुलिसले अपराधी फेला पारिसक्यो तर पुलिसले अपराधीको लिङ्ग काटेन । मैले वडो आक्रोसित हुँदै थानेदारलाई सम्बोधन गरेको थिएँ –
“यसको सुरुमा लिङ्ग काट्नुपर्छ ।”
“तपाई चुप् लाग्नुस । कानुन अनुसार कारवाही जरुर हुन्छ ।”
हामी सर्वसाधारण र पुलिसका बीच लिङ्ग काट्ने नकाट्ने बिषयलाई लिएर घम्साघम्सी परेको थियोे ।
मलाई राम्ररी थाहा छ तीन बर्षिया वालिकालाई देखेर उत्तेजित हुने लिङ्ग पनि यो नाथे कानूनले काट्न सक्दैन ।
ए सरकार ! सक्छस भने तीन बर्षिया बालिकालाई देखेर यौनको भावना आउने लिङ्ग काटिदे या छ भने आफ्नै लिङ्ग काट् । कि दुई मिटर डोरीले त्यो राक्षसलाई झुन्ड्याइदे यदि डोरीको पनि अभाव भयो भने मेरा जाठाहरु उखेलेर लैजा , बाटेर डोरी बनाउनु अनि उसलाई त्यसैमा झुन्ड्याउनु या त आफै झुण्डिनु ।
******************************
मन खिन्नताको तलाउमा डुब्छ । डायरी धेरै पढ्न नसकेपछि फेरी टेवलको ड्ररमा नै राख्छु । मन कुँडिन्छ । । मस्तिस्क भाडिन्छ । कानून बनाउनेहरु अपराधी लाग्छन । सरकार अपराधीको संगठन लाग्छ । तोकेकै सजाय नदिने भए किन कानून बनाउनू ? कानून र देश चलाउन नसके किन सरकार बन्नु ? के अपराधको किसिम र मापदण्ड छुट्याउने कसैसँग तागत छैन ? मनले मन मार्दै बोल्छ “सायद यहाँ सवैको मिलेमतो हुनुपर्छ ।”
आफैदेखि रिस उठ्छ । ती कितावहरुलाई डष्टबिनमा मिल्काइदिन्छु । ती कानूनका कितावहरु डष्टबिनमा पनि असुहाइलो देखिन्छन् । पुनः ती कितावहरु वाहिर निकाल्छु । जम्मै कानूनका कितावहरु धोवी खोलामा बगाइदिने सोच पलाउँछ ।
त्यतिन्जेल चिया राम्ररी उम्लिसकेको हुन्छ । केही चिया वढी उम्लेर पोखिएको हुन्छ । बचेको चिया कपमा चुहाउँछु । अण्डा उसिन्न बसालेको चुल्होपनि निभाउँछु । चियाको कप घाम बसेको टेवलमा नै राख्छु । धोवी खोलाको किनारमा भेटिएको चुरोटको स्मरण हुन्छ । ज्याकेटको खल्तीबाट चुरोट निकालेर कपको छेउमा राख्छु । सलाई लिन किचन ¥याकतर्फ लम्किन्छु । सलाई भेटाईसकेपछि फेरी उही कुर्सीमा गहिरो सास छोड्दै बस्छु । अचानक मसँग किलकुलै नमजाको घटना घट्छ –
“मित्र मलाई नजलाउ । म जल्नुपर्ने डरले नै फुत्केर भागेको चुरोट हुँ ।”
त्यो आवाजलाई आफ्नै कल्पना ठानेर फिस्स हास्छु । आँखा मिच्छु । फेरी चुरोटतर्फ नियाल्छु । चुरोट उसैगरी ठाडो उभिएको हुन्छ । आफूमाथी जस्तोसुकै घटना घटेपनि पत्याउनुपर्ने मानिसको बाध्यता र यथार्थ दुबै हो । मैले पनि पत्याउनु पर्छ, पत्याउँछु ।
“तिमी चुरोट हौ । तिमी जहाँ भागेपनि जल्नैपर्ने हुन्छ । तिमी जल्नको लागि नै बनेका हौ ।” मेरो सम्मानजनक शैलीको सम्बोधनले पनि ऊ चित्त बुझाउदैन । बरु झुक्दै मसिनो स्वर चढाउँछ –
“मबाट निस्किने धुँवा जम्मै आकाशमा उडाउनेछौ । मेरो शरिर खरानी बन्नेछ जो कुनै कामको हुँदैन । न म स्वादिलो नै हुन्छु । लौ भन तिमीलाई के मिल्छ ? के पाउँछौ तिमी ?”
म उसको एककिसिमको तर्कलाई वेवास्ता गर्दै बोल्छु –
“तिमी मेरो तलतल मेटाउनेछौ । यो मेरो बानी हो । तिमी जसको हातमा परेपनि जल्थ्यौ । तिमीले मेरै हातबाट जल्नु रहेछ ।”
आफ्ना शब्दहरु सुनाउदै सलाई कोर्छु । चुरोटको टाउको मुखले च्याप्छु । पुछारमा आगो लगाउँछु । चुरोट ‘बचाउ’ भन्दै एक–दुई पटक स्वर निकाल्छ । म चुरोटको टाउकोबाट चुरोटको पुरै शरिरलाई नियन्त्रण गर्दै फुँक लिदै जान्छु । चियाको चुस्की पनि बेला–बेला लिदै गर्छु ।
चिया र चुरोट भोगेपछि डष्टविनबाट निकालिएका कानूनका कितावहरु समातेर धोवी खोलाको बाटोतर्फ लाग्छु ।
बाटोमा हिड्दै गर्दा बाटोका विशेषताहरु मष्तिष्कमा नाच्छन् । बाटो अद्भूत नै हुन्छ । एकैनाश हुँदैन बाटो । बाटोमा कहिल्यै फूलहरु भेटिन्छन त कहिल्यै काँडाहरु भेटिन्छन् । बाटो उकालोपनि हुन्छ ओरालो पनि हुन्छ । बाटोमा अप्रत्यासित मोडहरु पनि आउँछन् । बाटोमा ठेस लाग्छ । बाटोमा हासिन्छ, रोइन्छ । गाइन्छ अनि नाचिन्छ । मन्दिर पनि बाटोमा पर्छ । बाटोमा अनेक मानिसहरु भेटिन्छन, अनुभुतिहरु भेटिन्छन् । बाटोका अनेकौ मोडमा पाएका खुसीहरु दुःखमा पनि बदलिन सक्छन् । दुःखहरु खुशीमा पनि बदलिन सक्छन् । बाटोमा कोही आफ्ना चिजहरु छुटिन्छन् केही बिर्सिइन्छन् । केही आफुसँग नभएका चीजहरु भेटाइन्छन् र टाँसिन्छन् । बाटोमा कुमारी वस्तु भेटाइन्छ अनि वेश्या वस्तु पनि भेटाइन्छ । म पनि बाटो हिड्दै, अनेक अनुभुति स्मरण गर्दैर हावालाई चुम्दै हिड्दै जान्छु । म हिड्दै जान्छु आफ्नो छायाँलाई कुल्चदै–कुल्चदै । म धकेलिदै जान्छु अनेक तर्क – वितर्कहरु केलाउदै । मलाई लाग्छ म पुरानै यात्री हुँ !
सयमको निश्चित दुरीपश्चात धोवी खोलाको किनार देखिन्छ । नियम कानुनका कितावलाई सामान्य नजर लगाउछु । किनारतर्फ लम्किदै जान्छु । किनारमा कोही चिराग बोकेर उभिरहेकोहुन्छ । सायद ऊ कसैलाई पर्खिरहेको हुन्छ । कता–कता मलाई नै पर्खिरहेको होकि जस्तो लाग्छ । उसले लगाएको कोइला झैं कालो लामो ड्याम जुत्ता र कपुर झैं सेतो ह्याटमा मेरो बढी नै ध्यान जान्छ । ऊ मलाई देखेर मन्द किसिमले मुस्कुराउँछ, तर ऊ मेरोलागि नौलो अनुहार भएकाले ओठहरु मुस्कुराउन मान्दैनन् । ऊ क्रोधित भएर म तर्फ अघि बढ्छ । उसको क्रोधित आकृति देखेर ओठहरु उसलाई फकाउने हेतुले लजाउँदै मुस्कान पस्किन्छन् । तर, त्यो पटक उ मुस्काउँदैन ।
ऊ समिपै आएपछी मैले उत्सुकताको स्वर चडाउछु –
“तिमी को हौ?”
तर उ भने सामान्य तवरले अलगै प्रसङ्गको कुरा गर्छ –
“शान्त होऊ । डराउनु पर्दैन । म तिमीलाई जलाउन मात्र आएको हुँ ।”
उसको कुुराले मुटुमा चस्स चिसो पस्छ । चारैतिर नियाल्छुँ । सुनसान हुन्छ ।
“मैले के गल्ती गरें ? ” आफ्नो बचाउका लागि पहिलो प्रश्न थियो –
उ गम्भीर हुँदै बोल्छ, – “तिमी नजन्मनुपर्ने । जन्मनु तिम्रो गल्ती भयो ।”
उसको अनौठो कुराले ऊ पागल हो कि भन्ने शंका पलाउछ तर उसँग दनदनी बलिरहेको भव्य चिराग भएकाले म डराइरहन्छु । त्यसपछि मैले पनि उ सामु बेजोड तर्क राख्छु –
“म कहाँ आफ्नै इच्छाले जन्मिएको हुँ र ? कृपया मलाई छोडिदिनुहोस् । म जन्मनुमा मेरो गल्ती छैन ।”
ऊ फिस्स हाँस्छ । आँखाका नानीहरुलाई दायाँ बायाँ डुलाउँछ अनि मुस्कुराउँदै बोल्छ –
“आफ्नै इच्छा बिना जन्मिएको मनुजले किन इच्छा अनुरुप जल्न खोज्नु ? इच्छा बिना नै जन्मिएछौ, इच्छाबिना नै जल ।”
म तर्क बिहिन हुन्छु । त्यसपछी मेरो बिलौना सुरुहुन्छ । उ सामु हात जोड्छु । “मित्र मलाई नजलाउ । मलाई आगोदेखि साह्रै डर लाग्छ ।”
“तिमी जल्नको लागि नै बनेका हौ । तिमी जल्नैपर्ने हुन्छ । नडराउ ।”
फेरी बचाउकै निमित्त बिलौना रुपी तर्क राख्छु –
“मबाट निस्केको धुँवा आकाशमा फैलिनेछ । मेरो शरिर खरानी बन्नेछ । आखिर तिमी के पाउँछौ? ”
उसले मेरो बिलौनारुपी तर्कको पनि गला रेटिदिन्छ –
“तिमी मेरो तलतल मेटाउनेछौ । यो मेरो बानी हो । तिमी जसको हातमा परेपनि जल्थ्यौ, मेरै हातबाट जल्नू रहेछ ।”
मलाई उकुसमुकुस हुन्छ । कसैले चारैतिरबाट समाते झैंलाग्छ । भाग्ने सोच आएपनि खुट्टाहरु जमिनमा चुम्बक चप्केझै गरी चप्किराख्छन् । मैले बडो मुस्किलले बहाना बनाउछुँ – “मैले चुल्होमा हाँसका दुइवटा अण्डाहरु उसिनेर आएको छुँ । म तीँ खाएर आउछु । मेरो कोठाभन्दा पल्लो कोठामा बस्ने भोटेनीसँग नौलो प्रेम बसेकोछ एक पटक सम्भोग गरेर आउँछु । एउटा कथा आधा लेखेकोछु , त्यो पूरा गरेर आउँछु । एउटासँग बद्ला लिन बाँकी छ , उसलाई एक चड्कन भएपनि हानेर आउछु । मलाई एकपटक जान दिनुहोस् । माँ कसम ! म फर्केर आउँछु अनि जलाउनु होला ।”
सुरुमा उ मेरो कुराले जोर–जोरले हाँस्छ । फेरी एकैछिनमा गम्भीर हुँदै बोल्छ, “सम्पूर्ण कर्महरु सकेर को नै जल्न पाउछ र ? को नै पूरा सपनाहरु साकार पारेर जल्छ ? ती अण्डाहरु तिमीले उसिन्यौ भोली – पर्सि अरु कसैले खाइहाल्छ । अण्डाहरुको चिन्ता नगर । यहाँ कुनै कुरा खेर जाँदैन, फरक यो हो कि सबै कुरा तिमी उपभोग गर्न पाउन्नौ । सबै कुराको जश तिमी लग्न पाउन्नौ । तिमीलाई अन्याय गर्नेसँग कोही अर्कोले अन्याय गरिहाल्छ । तिमीले लेखेको आधा कथा अरुले पूरा जरुर गर्छ । तिम्री भोटेनीसँग अरु कोई संभोग गरिहाल्छ । मित्र ! यही संसार हो । यो जन्मको तिम्रो इच्छा र बद्ला अर्को जन्ममा पूरा गर्नू । धेरै पुकार गरेर काम छैन । चुरोटको पूकार के तिमीले सुन्यौ ? हो त्यस्तै हो ।”
म आत्तिदै छिटो–छिटो बोल्छु –
“चुरोट त बेवारिसे भई सडकमा अलपत्र खसेको थियो ।”
उसले पनि तुरुन्तै जवाफ फर्काउछ–
“मित्र ! तिमी पनि दुनियाँको कुनै किनारमा अलपत्र परेको एक पात्र हौ । यहाँ हरकोही अलपत्र छन् । हरकोही बेवारिसे हुन् ।”
आफुमाथी अस्तव्यस्त तरिकाले व्यवहार गरिरहेको त्यो अन्जान को हो भनी जान्न चाहें –
“आखिर तपाई को हो ?”
“म सेकेण्ड हुँ ।”
“आजसम्म यस्तो नाम सुनेको छैन ।”
“मनितान्त सही जवाफ दिदैछु, नपत्याए तिमीले बोकेका किताब हेर ।”
मैले दायाँ वायाँ नसोची आफूले बोकेका किताव हेर्छु । “मुलुकी ऐन” लेखिएका शब्दहरु बदलिएर ‘प्रकृति ऐन’ भएका हुन्छन । मैले अचम्मित अनुहारले उसलाई नियाल्छु –
“म समयको सेकेण्ड हुँ ।”
फेरी उसले खल्तीमा बोकेको सानो ऐना मेरो हातमा थमाउँछ । म आफ्नो अनुहार नियाल्छु । मेरा केशका रङ्ग बदलिएका हुन्छन् । गालामा चाउरी परेका हुन्छन् । म निःशब्द बन्छु । म बोल्न चाहान्न किनकी प्रकृतिको नियमलाई मानिसले बनाएका नियम झै तोडमोड गर्न सकिदैंन । तोडमोड गर्न मिल्दैन ।
“तिमी सानदारसँग जल्नेछौ । मान्छेले बाटोभरी हिडेको तरिकाबाट उ कसरी जल्छ र जलिसकेर कहाँ व्युझन्छ तय हुन्छ । तिमीसँगै जल्नेछ मानिसले बनाएका नियम कानुन , जोसँग तिमी रुष्ट छौ ।
यति भनेर उसले मेरो खुट्टामा आगो लगाउछ ।
म ‘बचाउ’ भन्दै आफ्नो कोठाको आफ्नै बिस्तरामा आफैलाई भेट्टाउछु । मुटु बेगसँग धड्किरहेको हुन्छ । आफ्नो पुरै शरिर छाम्छु । शरिरका केही प्रदेशहरु चिमोठ्छु । पलङ छेउको टेबलमा पानीको बोत्तल हुन्छ । सो पानीको बोतल रित्याउँछु । खाटबाट अलग्गिएर बत्ती वाल्छु । कोठामा भएका स्त्रीका शरिरका शिरहरुमात्र शेष हुन्छन् । दुनियाँमा शिरको विशेष महत्व छ झंै लाग्छ । शिर पछिसम्म अस्तित्व बोकिरहन्छ सायद । तस्वीरहरुको किस्सा बाहेक मेरो यथार्थ जीवनको अन्य समवेदना भोगाई र पात्रहरु जोडिएका हुँदैनन् । सपना पश्चात मलाई लाग्यो कि त्यो जिन्दगी जिएर यहाँ व्युझिएँ र यो जिन्दगी जिएर कतै व्युझनुपर्छ । यो जिन्दगी पनि लामो सपना हो सायद । बच्चा रुदै जन्मनुको कारण पनि सायद …….”
(स्रोत : Nepalpati)