~सुन्दर शिरीष~
अन्ततः मैले स्कुल चेन्ज गरें ।
स्कुल चेन्ज गरेपछि म मा एउटा नयाँ उर्जा भरिएको थियो । अब यहाँ मलाई कसैले चिन्दैनन् । सर नयाँ, साथी भाई नयाँ, सबै नयाँ । मलाई अब कसैले डटपेन चोर पनि भन्नेवाला थिएन् । मेरो टोपी तान्दै कान निमोठ्ने पासाङ भोटे पनि थिएन् । न अंग्रेजीमा ‘फ्युचर’ को ठाउँमा ‘फुटुरे’ सिकाउने लक्ष्मीकान्त सर नै । म छुट्टै संसारमा पुगेको थिएँ ।
०००
नयाँ स्कुल पहिलेको भन्दा निकै फरक थियो । स्कुल जानुको उमङ्ग नै बेग्लै थियो मनमा । डेरादेखि स्कुलसम्मको बाटो लामै थियो । म बाटोमा हुने अलमलमा खचिर्ने समयको समेत हिसाब गरेर १५ मिनेट अगाडि नै डेराबाट निस्किएको थिएँ । तर, अह“ स्कुलको पहिलो दिन समेत समयमा पुग्न सकिन । बाटोमा भैयाहरुले देखाएको चटक हेर्दा हेर्दै १५ मिनेट समयको मार्जिन त्यसै कतै बिलिन भएको थियो ।
धन्न क्लासमा सर भने पसि सक्नु भएको रहेनछ । क्लासमा पसेर बस्ने सिट खोज्दै यता उता आँखा डुलाएँ, भित्ता पट्टिको फस्ट बेञ्च भन्दा बाहेक अरु सब बेञ्चहरु प्याक भई सकेको थियो । लास्टमा आउनेले रोजेको बेन्च कसरी पाउनु ?
मलाई फस्ट बेञ्च भनेपछि बस्न मनै नपर्ने । लास्ट तिरको बेञ्चमा बस्यो, अनि साथीहरुसँग टन्न गफ ग¥यो, मजा नै बेग्लै । तर के गर्नु फस्ट डे– फस्ट बेञ्च, झूर नै भो नि । मन नलागी–नलागी भित्ता पट्टिको फस्ट बेञ्च मै बस्न कर लाग्यो, त्यो पनि एक्लै । झूर माथि झूरेस्ट भो ।
केहिबेरमा एउटा दुब्लो, मरन्च्यासे सर क्लासमा पसे । साईन्स पढाउने रहेछन् ती गुरु । मलाई त सर क्लासमा पस्ने बितिक्कै हाँसो उठिसकेको थियो । अनौठो नाके बोलीमा उनले आफ्नो परिचय पृथक तरिकाले दिए । ओहो, कस्तो स्वर हा. हा.. मन–मनै खित्का छुट्यो । र, रमाइलो पनि लाग्यो । त्यहि बेलादेखि एउटा नयाँ रुचि पैदा भयो म मा, उनको आवाज को नक्कल उतार्ने ।
हा. हा.. उटफट्याँङ् म ।
यस्तै यस्तै सोच्दै मात्र के थिएँ, ढोका कसैले ढक्–ढकायो । बाहिरको घाम को उज्यालोसँगै उभिएको एउटा आकृतीले ढोका खोल्यो । त्यो ढोकामा उभिएको आकृति बाहिरको उज्यालोको कारण कालो देखिन्थ्यो । ता पनि त्यो आकृति कुनै केटीको हो भन्ने छुट्याउन मलाई गारो भने भएन । छायाँ जस्तै आकृतिमा साइड तिर भिरेको ब्याग, लामो सर्लक्कको कपाल, स्कर्ट अनि अग्लो कदसम्म चिन्न सकियो । एकै छिन् मा त्यो छायाँबाट आवाज आयो, ‘मे आइ कम इन सर ?’
‘कम ईन प्लीज’ सरले जवाफ दिए । त्यो छायाँ बिस्तारै कोठामा प्रवेश गर्दा भने बल्ल क्लासको प्रकाशमा लगाएको कपडाको रंग, ब्याग, मुहार अनि आँखा बिस्तारै देखियो । उसको आखाँ गाजल लगाएका, निला र गहिरा थिए । गोली चलाउने खालका । ओठमा टलक्क लिप केयर । मेरो आँखा उसैतिर घोरियो ।
बस्नको लागि मेरो बेञ्च भन्दा अरु कुनै सिट थिएन । ऊ मेरो बेञ्चतिर आई र मलाई सोधी, ‘मे आइ सिट हेयर ?’
‘ह्वाई नट, अफ कोर्स प्लीज’, मनले जवाफ दियो । तर मुखले केहि नबोली भित्ता तिर सरिदिएँ ।
त्यसपछि ऊ छेउमै बसी । ब्यागलाई हामी बीचमा राखी । लाग्यो, त्यो ब्याग हैन, ग्रेट वाल हो जसले मलाई ऊ समिप जान रोकिरहेको छ । उसले हातमा ब्रास्लेट लगाएकी रहिछ । गोरो हात अनि ब्रास्लेट अति सुहाएको थियो, मन त्यसै फुर्रफुर्र गर्न थाल्यो । म एकैछिनमा चङ्गा भए ।
कपालको केहि भाग रंगाएको । गोल्डेन कलर । कपाल खुला थियो । कपाल बेला बेला उसको आँखा अगाडि आइरहन्थ्यो । ऊ चोर औंलाले बिस्तारै संगालेर कान पछाडी लान्थी । उसको यस्तो क्रियाकलाप म चिहाई–चिहाई हेरिरहेको थिएँ ।
‘थ्याङ्क यू सर ।’ अचानक आवाज आयो । ज्या.. साईन्स क्लास त सकिएछ । के पढाई भयो पत्तो नै भएन । यस्तो लण्ठूले के पढ्ला र ! आफैंले आफैलाई गाली गरें ।
‘हाई, आई एम सरिता, ह्वाट योर नेम ?’ क्लास सकिए लगत्तै उसले सोधी ।
‘सुन्दर ।’ मैले भने । ‘प्लिज्ड टु मिट यू ।’ फेरि मैले हल्का मुस्कान सहित भनें ।
‘सेम हियर’ उसले फर्काइ ।
त्यसपछि, घर, परिवार, साथी, पढाई इत्यादिका बारे केहि बेर कुरा भयो । फरासिली रहिछे ऊ ।
०००
उमेर सानै भए पनि एक बसाईमै मन पराएँ । कम पनि के हुनु चौध वर्षको । कक्षा आठ सिध्याएर नौ को लागि स्कुल चेन्ज गरेको थिएँ । मलाई त्यो स्कुलमा पढ्न मन थिएन ।
त्यसपछिका दिनहरु सामान्यसँग गुज्रिए । अल्फावेटीक अनुसार क्लासका हरेक क्रियाकलापहरुमा ऊ मसँगै हुन्थी । ऊ सँगको साथ मलाई रमाइलो लाग्थ्यो । पढाईमा ऊ तिख्खर थिई । म पनि राम्रै कोटीको विद्यार्थी थिएँ । सँगै प्राक्टिकल गर्ने, होमवर्क गर्ने, जाँचको बेला पढ्ने अनि गफ गर्ने, क्यान्टिन जाने, लाइब्रेरी जाने, क्लासमा पनि सँगै बस्ने ।
म पनि गफाडि टाईपको थिए । बेला–बेला हँसाईरहन्थे । ऊ मलाई बेलाबेला जोक सुनाउन भन्थी । कहिले त्यहि साईन्स सरको केरीकेचर गर्न लगाउँथी । मलाई पनि मज्जा लाग्थ्यो ।
केरिकेचर गर्दा गर्दै मैले स्कुलका प्राय सर, नेपाली नेताहरु र केहि कलाकारहरुको दुरुस्तै नक्कल उतार्न सक्ने भैसकेको थिएँ । उसको रमाइलोसँगै म मा विकास भएको कला मलाई खुशी रहन काफी थियो । त्यसो त म स्कुलमा हुने हरेक क्रियाकलापमा सहभागी हुन्थें । र, पुरस्कार पनि जित्ने गर्थें ।
०००
दिन प्राय उसैसँगै बित्थ्यो, घर जाने बेला छुटिनुपर्दा नरमाईलो लाग्थ्यो मलाई ।
घरमा पनि उसकै याद् आउँथ्यो । उसलाई सोचेर डायारीका पानाहरु भरिन्थे । उसकै सम्झनामा कहिलेकाहीँ कविता पनि कोर्थें । लेखिएका कविता उसैलाई सुनाउथें पनि । ऊ निकै रमाइलो मानेर सुन्थी र तारिफ गर्थी । कैलेकाहीँ त यो उसकै लागि हो भनेर बुझे हुन्थ्यो जस्तो पनि लाग्थ्यो । मन न हो के–के सोच्थ्यो । सोचाईहरु सबै पूरा हुने भैदिए…
एक दिन अचानक उसको क्लास नोटको अन्तिम पाना मा मैले केहि लेखिएको देखें । त्यो भन्दा मिठो कुरा मैले अन्त कतै पढ्न पाएको थिइन त्यस अघिसम्म । त्यसमा लेखिएको थियो ‘सरिता+सुन्दर’ ।
मेरो मन झनै फुरुङ्ग भो । उसले पनि मलाई मन पराउँदिरहिछे ।
त्यो रात म धेरैबेरसम्म सुत्नै सकिन । उसकै अनुहारको मात्र झ–झल्को आउँथ्यो । घरि–घरि अगाडि आउने कपाल र कपालमा लगाएको पहेलो पुतलीवाला क्लिप, हातको ब्रास्लेट, उसका निला आँखाले मलाई निदाउँन नसक्ने बनाईसकेको थियो ।
०००
(स्रोत : Nepalpati)