~रामनाथ खनाल~
माऊ जति दुब्लो र निरीह होस् तर बाछाले झम्टा मार्न छोड्दैन। आमा रोगले सिकिस्त किन नहोस् बालबच्चाले झिँझोल्न र गिजोल्न कहाँ छाड्छन र ? यसकारण कि रोग, शोक र भोक अभाव जत्तिकै निर्मम हुन्छन ।
हिजोआज हामी यहि निर्ममताको शिकार भएका छौं । कसैको नियत हाम्रो नियती बनेर आइलागेको छ र पेटभरी दुःख पाएका छौं । सहर पीडाको झन् ठूलो साक्षी बनेको छ । हिजो एकले अर्कालाई नचिन्ने सहरका कंक्रिटका भित्ताहरूमा आज धेरथोर सहानुभुती प्रतिबिम्बित छन् । घरमात्र नजिक भएर के गर्नु, आपसमै टाँसिएका कोठाहरू पनि कोसौं टाढा लाग्थे । मानिसहरूको समबेदना साँघुरिंदै गएको आभास हुन्थ्यो ।तर, आज त्यसमा थोरै बदलाव आएको छ ।
भर पर्दा भोकै पर्न सकिन्छ । परजीवीताको पराकाष्ठा मृत्यु हो । सहरले यो विस्तारै महसुस गर्न थालेको हुनुपर्दछ । हामी पूर्वसंस्कारमा फर्कन थालेका छौं, जहाँ हामी हिजो हुर्किएका थियौँ । अैंचोपैंचो गरेर छाक गुजारेका बाबुबाजेको चलन आज हामीलाई निकै प्रिय लाग्न थालेको छ र सिंगोसहर यसैलाई पछ्याउन थालेझैं लाग्छ;
यही सहरभित्रको कथा हो यो:
पूर्व क्षितिजमा रातो लाली नचढ्दै शरदको एक विहान कोठाको भित्तामा झुण्ड्याइएको घडीले पाँच बज्न केही मिनेट बाँकी भएको संकेत गर्छ । त्यो भन्दा पहिला काँठका कुनातिरबाट भाले बासेको आवाज पनि कानमा नठाकिएको होइन । तर, लमतन्न सहरका हिमवत् वायुरूपी कठ्यांग्रिँदो जाडोमा उठिहाल्न सजिलो कहाँ हुन्थ्यो र?
हिजो अस्ती मोबाइलमा आलार्म बज्ने गर्दथ्यो । आज त यसले पनि धोका दियो । उसले त के भन्नु बत्तिले । तीन दिन भयो बत्ती नआएको । राती ट्वीटरको टाइमलाइन स्क्रोल गर्दा नै पाँच प्रतिशत व्याट्री बाँकी थियो ।
मोबाइलमा व्याट्री रहेको अन्तिम संकेत नआउँदासम्म मोबाइलमा घोरिइरहने र फेसबुक ट्वीटरका भित्ता चहार्ने बानीले धेरै पटक अप्ठ्यारो पारिसकेको छ । तर, आपद् परेपछि मात्र यो कुरा दिमाखमा आउँछ । एक छिन् त आफैंसँग रीस पनि नउठेको होइन ।
बिहान ओछ्यान छोड्न र धर्ती छोड्न उस्तै गाह्रो होला सायद । उठ्छु भन्दा भन्दै घडीको मिनेट सुईले अरु आधा बृत्त पार गर्यो ।
हतार हतारमै दाँत मुख खोकलें ।
तल बरण्डामा झरें । मोटरसाइकल स्टार्ट गर्न थालेँ ।
स्टार्ट हुन निकै बेर लाग्यो । हतार र चिसोको एकै साथ सिकार बन्यो मोटरसाइकल ।हिजो बेलुका व्ल्याकमा किनेको तेलको करामत पनि हुन सक्छ । जे होस् अप्ठ्यारो गरी स्टार्ट भयो ।
नाकाबन्दी पछि मैले यसैगरी पाँच हजारको तेल हालेँहुँला । काठमाडौंको यात्रुचाप र सवारीको अभावकाबीच आफूलाई थप समस्यामा पार्नुभन्दा यही विकल्प उत्तम ठानेँ मैले ।
एक्सिलेरेटर बढाउँदै गति लिएँ । मोटरसाइकल केही दूरी पार गरेको थियो ।
धरामा उज्यालो बढ्दै थियो सँगै चिसो पनि घट्दो क्रममा थिएन ।
‘दाइ मलाई पुरानो बानेश्वरसम्म पुर्याइदिनुहोस् न?’
ब्राउन कलरको स्कार्फले टाउको ढाकेकी, छोटो स्कर्ट र कोट पहिरिएकी युवतीले हातले इशारा गर्दै लिफ्ट मागी ।
हुन्छ या हुँदैनको दोधारमै रहन नपाउँदै भनिहालें, ‘हुन्छ ।’
ऊ खुसीले पुलकित हुँदै बाइकमा बडो अप्ठेरोसँग बसी ।
हिँड्न अप्ठेरो । बस्न अप्ठेरो । देख्नेलाई पनि अप्ठेरो । लगाउन चाहिँ सजिलो हुँदो रहेछ क्यारे?घुँडा नढाक्ने स्कर्ट लगाएकी ऊ मुस्किललै लय पकडी ।
एक हातले मोटरसाइकलको पछाडी र अर्को हातले मेरो काँध समाउँदै सुरूमा टाँसिउँला झैँ गरी, खै किन हो फेरि पछाडि हटी ।
बहिरी चिसोलाई चिर्दै उसको शरीरको तातो मैले महसुस गरेँ या अनुभुती मात्रै थियो त्यो जेहोस्, केही न्यानो पक्कै थियो । मोटरसाइकलको गती मात्र होइन शरीरको रक्तप्रवाह पनि बढेको थियो । ऊ एक साइडमा बसेकी हुनाले मोटरसाइकलको सन्तुलन विग्रिएलाकी भन्न भय त थियो तर त्यो भन्दा ज्यादा उसको मीठो स्पर्श थियो ।
बेलाबखत हेल्मेटभित्रै पसेर कानमा हान्ने चिसो सिरेटो भन्दा तातै लाग्थ्यो उसको श्वासको स्पन्दन । हावाका झोंक्काले हान्दा भन्दा ज्यादा उसको स्पर्शले तरंगित गर्दै थियो।
‘दाइ यति विहानै कता हिँड्नु भएको नि ?’, स्पर्शबाट आश्वादीत हुँदै गरेको बखत उसले झस्काउने गरी सोधी।
‘काममा हिँडेको ।’ छोटो जवाफ दिएर मोटरसाइकलको गती बढाएँ ।
‘ए…’
उसले यति भनेको सुनेँ । अरु बुझिनँ । बाटो खाली थियो । सडकमा फाट्टफुटट गाडी गुडेका थिए । यसले उसको र मेरो नजिकास्पर्शलाई दूर गरिरहेको थियो । म चाहन्थेँ, बाटामा खाल्डा खुल्डी आइरहोस्। समान र विपरित दिशाबाट आइरहेका गाडीहरू छल्न खुट्टा र हात ब्रेक तर्फ अघि सरिरहुन् । उसको स्पर्शानुभुती अझ गहिरोगरी होस् । शरीरको चिसोलाई चिर्दै उसको शरीरको न्यानो अंशले मस्तिष्कमा अझैै झंकार पैदा गरोस् । उसले कानै नजिक आएर निश्वास बदलोस् । उसका पुष्ट बक्षस्थलले पिठ्यूँमा निर्मम प्रहार गरोस् । एउटा तन्नेर युवतीलाई मोटरसाइकल पछाडी राखेर हुईँकिदा के– के हुन्छ, त्यो सबै होस् । तर, त्यसो भइरहेको थिएन ।
‘दाइ मलाई यतै रोकि दिनुहोस्।’
उसको आवाजले पुनः झसंग बनायो ।
मोटरसाइकल रोकेँ । उ उत्रिई । मीठो मुस्कानका साथ थ्यांक यू भन्दै आफ्नो बाटो तताई । उसको मुस्कानको रंग त धेरैबेर मस्तिष्कमा अडिन पाएन । तर, चुहिएला झैँ बनाएकी गूलावी अधर निक्कै पर पुग्दासम्म मस्तिष्क ओरपर घुमिरह्यो ।
अफिस पुगें । उही पूर्ववत् अवस्थामा त्यो दिन बित्यो।
भोलिपल्ट उहि समय । त्यही बाटो । मोटरसाइकल अघि बढाएँ । ठिक त्यही ठाउँ पुगेँ र मोटरसाइकलको गति कम गरेँ । अहँ, ऊ त्यहाँ थिइनँ । थुइकक मेरो कल्पना ! सधैं संयोगको बाटो मेरो जस्तौ एउटै हुन्छ र ? ऊ अचानक फेला परेकी थिई र त्यही आवरणमा अदृष्य भई ।तर, मन मानिरहेको थिएन । मनकै भाकामा आँखा पनि बाटो ओरपर चहार्न उद्यत हुन्थ्यो ।
रेशादार कपाल, बाटुलो अनुहार, सलक्क मिलाएका आँखी भौं ।पुष्ट बक्ष, सुडोल शरीर । तीन फेर पिटेको सुनकोजस्तो बान्कीपूर्ण जिऊडाल । सौन्दर्यको मादकता कहाँ भुल्न सक्थेँ र म ? तर, आफ्नै रफ्तारमा बगिरहेको समयले मलाई अबेर भइसकेको संकेत दिइसकेको थियो । मस्तिष्कको एकोहोरो कल्पनालाई मस्तिष्ककै दराजमा थन्क्याएर अघि बढेँ ।
त्यस्तै सय मिटर अघि बढेको हुँदो हुँ अचानक आँखा हिजो कै युवतीमा पर्यो । अघिल्तिर पुगेर मोटरसाइकल रोकेँ ।
‘जाने हो ?’
उसले हुन्छ भनि र आवाज भुईंमा खस्न नपाउँदै हिजोकै शैलीमा मोटरसाइकल पछाडी बसी ।
‘दाइ सधैं यही बाटो हिँड्नु हुन्छ?’
उसले कुराकानीको बढाउन खोजी मैले पनि मोटरसाइकलको एक्सिलेरेटर बढाउँदै उसको कुरामा ध्यान दिइरहेको थिएँ ।
‘हो, यही बाटो छोटो पर्छ?’
उसले पुनः सोधी, ‘तेलचाहिँ कसरी हाल्नु हुन्छ?’
‘ब्ल्याकमा, तीन साढे तीनसयमा किनिरहको छु, अफिस जान आउन मात्र भएकाले यसैगरी धानीरहेको छु ।’
उसले ए.. भनि र बाक्य टुंग्याई। केही बेर रोकिएर फेरि सोधी, ‘मोटरसाइकल बिग्रेला नि?’
चिनजानकै साथीहरू मार्फत हालिरहेको छु, काठमाडौं– वीरगञ्ज चल्ने गाडीले ल्याएको तेल हालेको छु जे होला ।’
उसका प्रश्नका जवाफ मात्र के दिनु भन्दै कुराकानी आफैँले अघि बढाउँन सोधेँ, ‘अनि तपाईंको घर यतै हो?’
‘होइन विराटनगर।’
‘कुन लेभलमा पढ्नु हुन्छ?’
‘व्याचरल थर्ड इअर।’
‘काम पनि गर्नुहुन्छ कि?’
‘सानो तिनो गर्छु।’
‘काम पनि सानो ठूलो हुन्छ र?’
यसपल्ट उसले हाँसेर मात्रै टारी।
अझै नजिकानुभूती भइरहेको थियो ।उसको स्पर्श प्रणयामका नवयौवनाहरूको सुखद् आलिङ्गन भन्दा कम थिएन । बेलाबखत कानमा ठोकिने उसको तातो निश्वासले मस्तिष्कमा दोहोरो रक्तसञ्चार भइरहेको भान हुन्थ्यो । मीठो स्पर्श यो भन्दा अघि बढ्न सकेन । यसकारण हिजोकै ठाउँमा ऊ ओर्लिइ र उसैगरी बाटो लागी।
००
नाकाबन्दी छोट्टिने छाँट छैन । सहरको दैनिकी यसैगरी चलिरहेको छ । अफिसमा साथीहरूले भन्थे, ‘कारपूल काठमाडौंमा ह्यासट्याग रागेर लिफ्ट अनि आफ्नो रूट पोष्ट गर न, मुर्गा फेला परिहाल्छन् नि ।’
‘हाम्रा कति साथीहरूले त यसैबाट घरबार जोड्लान् कि भन्ने भइसक्यो । घर परिवारले देखे लिफ्ट देको भने भइहाल्यो ।’ उनीहरूको यो भनाईले मलाई पनि त्यसै गरौँ नभएको होइन । तर, आफ्नो भाग्यमा त्यती दुःख गर्न लेखेकै छैन, बाटैमा फेला परेको छ । बरु यसलाई पो कसरी जोगाउने भन्ने चिन्ता छ?
साथीहरूलाई फेला परेकी छे, भन्नु पनि भएन । फेरि सोधी खोजी गरेर हत्तु हैरानै पार्छन् ।
ऊ बाटोमा आज पाँचौपल्ट भेट भई । यसबीचमा हाम्रा धेरै कुराहरू भए । यत्ति कुरा भएको छैन कि मलाई ऊ निक्कै राम्री लाग्छे । मैले त उसलाई प्रेमीका बनाउन पाए हुन्थ्यो ठानेको सुरुकै दिनमा हो । ऊ तयार छे या छैन मलाई थाहा छैन । आज उसले बेलुका फर्कंदा कोठामा चिया खान जाउँ है पनि भनेकी छे । पछिल्लो तीन दिनमा मैले उसलाई अफिसबाट घरसम्मै पुर्याइदिन थालेको छु । मेरो अफिस छुट्नु भन्दा आधा घण्टा अघि नै उसको अफिसको काम सकिन्छ । त्यसपछि मलाई ऊ बानेश्वर चोकमा पर्खिएर बस्छे ।
बाटामा धेरैले धेरैपटक मैलेउसलाई मोटरसाइकल पछाडी राखेर हिँडेको देखेका छन् । तरपनि उनीहरूले धेरैथोक सोच्न भ्याएका छैनन् । उनीहरूले यत्ति सोचेको हुनुपर्दछ । यो खडेरीमा मोटरसाइकलमा लिफ्ट दिएर ल्याउने लैजाने म जस्तो सहयोगी कमै मात्र हुन्छन् ।
काम सकिएपछि ,म बानेश्वर चोक पुगें । ऊ मलाई पर्खिरहेकी थिई । त्यसपछि हामी उसको कोठातर्फ अघि बढ्यौ । उसको कोठा र मेरा घरबीचको दुरी धेरै टाढाको होइन ।र पनि यस अघि मैले उसलाई कहिल्यै देखिनँ ।
तीन तल्लाको घरको दोस्रो फ्ल्याटमा उसको कोठा रहेछ। सामान्य खाट, नजिकै किचन, कोठाका भित्तामा झ्ण्ड्याइएका केही थान फोटा, अल्मारीमा सजाइएका रंगिचंगी चुराहरू । त्यस आसपासमा राखिएका दर्जन जति ऋङ्गार सामग्रीहरू ।
केही बेरमै उसले चिया बनाएर ल्याई । नजिकै टेवलमा चिया राख्दै भनी, ‘हेर्नुहोस् न, ग्यास सिध्धिएको तीन दिन भयो, मैले घरबेटी अन्टीसँग मागेर काम चलाइरहेको छु’, कुरा नरोक्दै उसले पुनः भनि ‘उहाँहरूको चावहिलमा रेष्टुरेन्ट छ, खाना त्यहीँ खानुहुन्छ, म अवरमा परेको देखेर उहाँहरूले गिजरमा प्रयोग गर्ने ग्यास मलाई दिनु भएको छ।’
सिंगै सहर अचेल मागेर गुजारा गरिरहेको छ । गोजीमा पैसा हुँदा पनि कहाँ खान पाइँदो रहेछ र!
ऊ यस्तै गन्थन गर्दै थिई । म चाहन्थेँ, मेरो अन्तर्य खुलाऊँ । मनमा अंकुरित मायाका अव्यक्त चाहना छरपष्ट पारिदिऊँ । ऊ ओठ खोलोस् । मन्द मुस्कानका साथ मायावी मीठास छरोस् । यसकारणै मैले चियालाई सेलाउन दिएरै पिइरहेको थिएँ । एकदमै फुर्सद लिएर । समय स्थिर लागिरहेको थियो । कोठाका जडबस्तुहरु झैं , एकदमै अचेत, म सुन्न सक्थेँ उसका मुटुका धड्कनहरु । एकदमै खुल्ला रूपमा । उसका श्वासहरू भित्तामा ठोकिएर म तिर फर्किएँ लाग्थे । मेरो मुटुको धड्कन केही बढिरहेको थियो ।
अचानक आधा खोलिएको ढोकाबाट प्रिया भन्दै एक युवक छिर्यो ।
उसले पनि मुस्कानमा यस अघि नदेखेको रंग मिसाई र युवक भएतिर फाली । युवक पुलकित देखियो ।
‘उहाँ मेरो नयाँ साथी । मलाई कलेज जाँदा र अफिसबाट आउँदा लिफ्ट दिएर सहयोग गर्नुभएको छ ।’
उ म प्रति धन्य देखियो । र हात बढाउँदै, हाई विकास भन्यो । मैले पनि आफ्नो नाम बताएर परिचय टुंग्याएँ ।
‘उसले पुनः पनि, ‘ऊ मेरो ब्वोयफ्रेण्ड। भर्खर अष्ट्रेलियाबाट आएको । हामी यही मंसिरमै विवाह गरेर उतै जाँदैछौं ।’
यस अघिकै दृष्यले म पसिना मिश्रित भइसकेको थिएँ ।यो पटक ममा झन् चिटचिटाहट छायो । जति सक्दो चाँडो यहाँबाट उम्कौं भयो । ढिला नगरी बिदा भएँ ।
भोलीपल्टबाट अफिस जाने बाटो बदलेँ । उसले एकदिन दिन मेरो प्रतिक्षामा आँखा डुलाई होला । उसलाई थाहा होला या नहोला कि सहरभित्र लिफ्टको आवरणमा निहीतार्थ पूरा गर्नेहरूको पंक्ति काठमाडौंको सडक भन्दा निकै लामो छ भनेर ।
(प्रिय पाठक, यो सहरको बास्तविक कथा हो, काल्पनिक लागेमा संयोग मात्र हुनेछ ।)
(स्रोत : Nepalpati)