कथा : कुन जुनीको बदला लियौ आकृती

~राम ढुंगाना ‘अल्पमत’~

बर्खा याममा पहाँडबाट बेसी झर्न हतार खहरे झैं मेरो दैनिकि पनि सधैं हतारमै हुन्थ्यो। जसरी खोलालाई आफ्नो बाटोमा आउने चट्टान, खोँच र गल्छिहरुको वास्ता हुँदैन ठिक उसैगरी मलाई पनि यात्रामा दाँयाबायाँ कसैको मतलब हुँदैनथ्यो। परदेशको एकतमासको काम अनि आफ्नो साँगुरो तर प्यारो कोठा।

बाटोमा दैनिक हजारौ यात्री भेटिन्छन्। कोहि आफैसँग ठोक्किन आउछन् र कसैसँग आफै ठोक्किन पुगिन्छ। कसैलाइ दिनदिनै देखिन्छ र पनि वास्ता हुदैन गरिदैन मानौ त्यहाँ कोहि देखिएकै छैन, म देख्दै नदेख्नु र देखेर पनि नदेख्नुको भेद खोतल्नतिर लाग्दिन। मेरा निम्ति कोहि देखिनु र नदेखिनुको अर्थ फरक छैन। तर कोहिकोहि पहिलो नजरमै धेरै नै नजिक र आत्मिय लाग्दा रहेछन्, कहिल्यै सोचेको थिइन।

केहि दिनदेखि म हिँड्ने बाटोमा एउटै समयमा एकै ठाउँ बसेर मोबाइल चलाइरहने एउटा अनुहारमा नजर पर्न थाल्यो! एकदिन दुबै जनाको झट्ट आखा जुध्यो मलाइ छुट्टाउन गार्हो भो, नेपाली केटि हो कि अरु देशको ? जो सुकै होस एकछिन कुरा गर्छु भन्ने सोचेर अंग्रेजीमा सोधेँ ‘हेवर आर यु फ्रम?

उसले म कालो बर्णको देखेर इन्डियन सोचिछ क्यारे हिन्दीमा प्रतिप्रश्न गरि, आप इन्डियन है? मैले पनि हिन्दिमै जवाफ फर्काएँ ‘नहि जि मे नेपाली हुँ’ उसले जवाफमा आफू पनि नेपाली भएको बताइ।

केहिबेर उसको बसाइ, काम आदिबारे जिज्ञासा राखेँ। उसले मेरा बारे सोध्ने औपचारिकता देखाउन जरुरत ठानिन या स्त्री हुनुको स्वभाबिक अाचरणको सिकार बनी त्यतिबेला, ऊ आफै जानोस। उसले नसोधिकनै मैले आफ्नो काम र ठेगाना बताएछु। जवाफमा उसको ‘ए हो’ सुनेपछी म झस्किएँ बेकार आफैँ हल्का हुने काम गरेछु ।

दुइचार शब्द अलि बोल्न मन थियो, तर उसले म सँग बोल्न त्यति नखोजेको जस्तो गरि। केहिबेरको निस्तब्धतामा मैले उसलाइ यसरी हेरिरहेको थिएँ कि मानौ कुनै अर्कै संसारबाट आएकी परि पहिलो पटक देखिरहेको छु। तर उ चाहिँ वास्तै नगरि टाउको निहुराएर मोबाइल चलाउनमै ब्यस्त भएजस्तो गरि। केहि कुरा गर्ली भन्ने आशा थियो तर उसको बोली निस्किएन। अफ्ठेरो मान्दै मैले जान्छु ल ‘बाइ’ भने उसले मोबाइलबाट आँखा नहटाइकन ओके भनी, मैले सरासर पाइला आफ्नो गन्तब्यतिर अगाडि बढाए।

अघिपछिको यात्रा पनि हतारमै हुन्थ्यो सधै। काममा पुग्न हतार, काममा समय बिताउन हतार अनि फेरि कोठामा फर्किन हतार। हतार मेरो मात्रै थियो। मेरो समय शान्त चलिरहेथ्यो एकसुरले। तर भयो के भने उसँग कुरा गरेको दिनदेखि त्यहि ठाउँमा पुग्नासाथ मेरो खुट्टामा आपसेआप ब्रेक लाग्न थाल्यो । तर मेरो दुर्भाग्य जुनदिन उसँग कुरा भयो त्यसको भोलिपल्ट देखि ऊ त्यहाँ देखा पर्न छोडी।

***

किन हो किन उसको याद खुब आइरहयो। न कुनै साइनो सम्बन्ध नत नजिकको मान्छे, न धेरै कुराकानी भएको, तर आँखामा उसको तस्बिर घुमिरहन थाल्यो । फेरी भेटिन्छ भेटिन्न थाहा थिएन। मन भने उसको नाममा सपना बुन्न थालिसकेको थियो । निक्कै समयसम्म उसलाइ नभेटेपछि ती सपनाहरु आफै भत्किदै गए । सपनाहरु आफै बुनिए र आफै च्यातिए । कुनै कुनै सपना हिउँ जस्ता हुँदारहेछन हिउँ झर्नु र पग्लिनु सपना देख्नु र टुट्नु उस्तै उस्तै । हिउँ पग्लेर पानी बन्छ सपना टुटेर के बन्छ?

एकदिन किनमेल गर्न सुपर मार्केट घुम्दै थिएँ, टाढाबाट एउटा कुनामा त्यहि अनुहार केहि सामान छान्दै गरेको देखेँ । कतै अदृश्य होलि भनेर हतारहतार नजिकै गएँ र “हाइ” भने उसले पनि चिनि र मलाइ अकस्मात देखेर छक्क परि । भेट्ने आशा मारिसकेको मान्छे भेटिदा मलाइ भने कम्ति खुशि लागेको थिएन । मन फुरुंग भयो, भेट हुने साइत जुराइदिएकोमा भगवानलाइ धन्यबाद दिएँ मनमनै ।

मैले उसलाइ बिर्सिसकेजस्तो लाग्थ्यो तर मनको कतै कुनामा उ बसिरहेकै रहिछ । केहि बेर सँगै घुम्यौं सुपरमार्केटमा,उसले आफ्नो लागि सामान किनि मैले मेरो लागि । छुट्ने बेलामा मैले उसको फोन नम्बर मागेँ उसले उल्टै मेरो नम्बर मागी र भनी म आफै कल गर्छु । मैले मेरो नम्बर दिएँ , हामी बिदा भयौ ।

कोठामा छिरेँ सधै झै अन्धकार थियो ,बत्ति नबालिकनै एकैछिन बेडमा पल्टिएँ यत्तिकै । आखामा उसकै चित्र आइरह्यो । साधारण देखिने, मिठो बोल्ने ,असाध्यै राम्री, धपक्कै बल्ला जस्तो अनुहार । यस्तो लाग्थ्यो मानौं घाम जुनका मधुर रोशनी बटुलेर उसको अनुहार धिप धिप गरिरहेछ ।

अघिपछि प्राय: मोबाइल साइलेन्ट मोडमा हुन्थ्यो उसलाइ नम्बर दिएको दिनदेखि मोबाइल फुल भोल्युम बनाएर राखेँ । २/३ दिन फोनको आशमै बित्यो फोन आएन।

एकदिन काम सकेर फर्केपछी कोठाको ढोकाबाट भित्र पस्नै लाग्दा नचिनेको नम्बरबाट फोन आयो रिसिभ गरें । सुमधुर स्वरमा ‘हेलो’ सन्चै हुनुहुन्छ भन्ने आवाज सुनियो, ‘हेलो ‘भन्ने बित्तिकै बोलि चिनिहालेँ रपनि मैले नचिने जस्तो गरेर ‘को’ बोल्नुभएको भनेर सोधे? । उसले अनुमान गर्न लगाइ यसरी मानौं उ बर्षौंसम्म सँगै हाँसखेल गरेर केही समय अघि छुटेकी थिइ जो आज मलाइ फोन गरिरहिछे । ढाँट्न सकिन उसको नाम थाहा थिएन भनें, चिनें तर नाम थाहा छैन, आफ्नो नाम बताइ ‘आकृति’ । “तिमी जस्तै राम्रो नाम” मैले फुर्काइदिएँ , धन्यबाद भनी ।

त्यसदिनदेखि हाम्रो लगातार फोनमा र एसएमएस मार्फत कुराकानि र च्याट हुन थाल्यो । सामाजिक संजाल फेसबुक मा पनि हामीहरु जोडियौ ! मलाइ त रातदिन नै उसैसँग मात्र कुरा गरेर बिताइदिन मन लाग्थ्यो, काम पनि गर्न पर्यो नि पैसा पनि कमाउन पर्यो नि । माया प्रेमले मनको सन्तुष्टी मेटिदो रहेछ जिन्दगी रमाइलो हुदो रहेछ, तर भोक नमेटिदो रहेछ, आबश्यकता पुरा नहुदो रहेछ त्यसको लागि काम गर्नै पर्छ।

***

उहीँ म , सघैं हिड्ने बाटो एउटै, पुरानै काम तर मनमा भने नयाँ उमंग उत्साह बेग्लै ,संसारै जितौँला जस्तै फुर्ति । म स्वर्गिय नारायण गोपालको गित सम्झिन्थे “एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा” आफुलाइ नितान्त फरक महसुश गरिरहेको थिएँ ! तर पनि ऊ अझै मेरो आफ्नो त भइसकेकि छैन नि? उसलाइ मैले आफ्नो मनको कुरा भन्नै पर्छ , उसले मानि भने म सधैभरिको लागि आफ्नै बनाउछु भन्ने सोचें ।

बसन्त ऋतुमा पनि मुर्झाएको रुख जस्तो एक्लो जीवन उराठ लाग्दो रहेछ। भन्छन् मान्छेले आफ्नो आत्माको आवाज सुन्नुपर्छ , मैले सुनें मेरो आत्माले कसैलाइ आफ्नो भनिरहेछ कसैको साथ खोजिरहेछ त्यसैले मैले उसलाइ प्रेम प्रस्ताब राख्ने अठोट गरि उपयुक्त समयको पर्खाइमा बसेँ ।

मेरो जन्मदिन नजिकै आउदै थियो, मैले जन्मिएर आजसम्म जन्मदिन मनाएको थिइन, आफ्नो जिन्दगीको पहिलो जन्मदिन उसँगै मनाउने बिचार गरेँ र उसलाइ फोन गरेँ, ऊ आउन राजी भइ ।

जन्मदिनको दिन ऊ अलिक अबेर आइ, निक्कै श्रृंङारिएर आएकी थिइ, त्यो दिन सायद श्रृंङारपटार गर्न उसले निक्कै समय लगाइ र ढिला आइ, मैले अनुमान गरेँ । ऊ ढोका भित्र पसि म बाहिरै बसेर एकछिन उसको सौन्दर्यलाइ नजिकै बाट नियालिरहेँ । यस्तो लाग्यो अहिलेसम्म कुनै पनि नारि माथी गरिएका प्रसंशाका शब्दहरु र बर्णनहरु भन्दा ऊ धेरै माथि छे। अरु माथि गरिएका सौन्दर्यको टिप्पणीहरु उसको अगाडि फिक्का छन्। खै किन हो ? सायद आफुलाइ धेरै मन परेर पो होकि?

किन भित्र आउनुहुन्न? उसको प्रश्न सुनेर झसङ्ग भएँ । ऊ सामान्य जस्तो गरिरहेकी थिइ म आफैं किन असामान्य महशुस गरिरहेको छु? मुटु जोड जोडले धड्किरहेझैं लागिरहेथ्यो । तयारी पहिल्यै गरिसकेको थिएँ । सायद ऊ यो सोध्न चाहान्थी कि मेरो जन्मदिनमा किन उसलाइ मात्रै आमन्त्रित गरिएको हो? उसको अनुहारको भाव त्यस्तै देखिएको थियो तर आवश्यक ठानिन होला, सोधिन ।

मैले केक काटेँ र उसलाइ खुवाइदिएँ, उसले मलाइ खुवाइदिइ र मेरो अनुहारभरी केक दलिदिएर लाडिएजस्तो गरि खुब हाँसी । यहि मौकामा उसलाइ सोधें मेरो माया लाग्छ ? अकस्मात उसको हाँसो रोकियो अनुहारको रंग बद्लियो ।

वातावरणमा निश्तब्धता छायो । ऊ मलाइ प्रेम गर्दिन? मनमा अनेकथरी बिचारहरु आए । ऊ मौन बसिरही, मौनता तोड्दै मैले भनेँ म तपाँइलाइ प्रेम गर्छु । केहिबेर सोचेजस्तो गरि र सोधी । कस्तो प्रेम ? खाली बासनाका लागी हो भने तपाऐको प्रेम स्विकार छैन । म धोका सहन सक्दिन किन कि म सबैभन्दा बढी आफैलाइ माया गर्छु। उसको म सबैभन्दा बढी आफैलाइ प्रेम गर्छु भन्नुमा कुन अर्थ लुकेको थियो मैले बुझ्न सकिन, मैले केबल आफ्नो प्रेमको परीक्षा दिएँ, ऊ म माथी हावी हुँदै गइ । म चुपचाप बसिरहेँ।

मैले उसलाइ आश्वस्त बनाउदै भने, प्रेममा धोका दिने र साचो मायालाइ सस्तो मनोरन्जनको साधनको रुपमा बुझ्ने कुरा म बाट कदापि हुदैन। यी कुराहरु मेरा लागी अस्वीकार्य छन् । म तिमीलाइ मनको अन्तर- आत्मा देखि साचो प्रेम गर्छु । मैले यति भनिसकेपछि उस्ले प्रेम स्विकार गरेको आशय दिई, मैले प्रमाण खोजेँ उसले जिस्किदै दुई हातले गाला चिमोटी र मिठो चुम्बन गरि मैले मौकाको फाइदा उठाउन खोजेँ । अनि अरु?

उसले गालामा सुस्तरी चिमोट्दै भनी “नट्टि ब्वाइ” ।

जिन्दगीमा मैले भोगेका खुशीहरु मध्ये सबैभन्दा धेरै खुशिको दिन थियो त्यो। सारा संसार जिते जस्तो लागेथ्यो। अब मैले संसारमा पाउनु केहि छैन मात्र उसलाइ नगुमाउनु जिवनको लक्ष्य बन्यो। हामी केहि समयपछि ‘लिभिंग टुगेदरमा’ बस्न थाल्यौं। दिनहरु रमाइलो सँग बितिरहेका थिए, मेरो संसार ऊ नै थिइ। म मेरा सारा खुशीहरु सबै उसकै लागि समर्पण गर्थे ।

कुनै – कुनै बेला ऊ मोबाइलमा एकान्तमा बसेर सानो स्वरमा कुरा गरिरहन्थी ,मोबाइलमा च्याट गर्दै एक्लै मख्ख परेर हास्ने गर्थी । एकदिन मैले को सँग बोल्दै छौ भनेर सोधे, दाइ हो ” मेरो आफ्नै मामाको छोरा हो , दुख पाउनुभको छ उहाँलाइ पनि यता ल्याउन सकिन्छ कि भनेर सोधी ? मैले केहि बिदेशी एजेन्टहरु चिनेको छु, म कुरा गरुलाँ भने ।

म पनि खुशि थिए ऊ पनि खुशि नै देखिन्थी । लिभिंग टुगेदरमा बसेपनि मैले उसको आन्तरिक कुराहरु कहिल्यै सोधिन। उसको कुनै इच्छामा लगाम लगाउने कोसिश गरिन। सक्दो उसको इच्छा पुरा गर्ने कोसिश गरें कहिलेकाहिँ म देखि पर गएर एकान्तमा मोबाइलमा च्याटमै ब्यस्त हुन्थि र पनि मैले केहि भनिन र सोधिन पनि।

म मनमनै सोच्थे जब असल सम्बन्धमा अबिश्वासले पर्खाल चढ्छ न त्यहा माया बाँकि रहन्छ न बिश्वास ? शंकाले लंका जलाउछ अनि त्यतिबेला त्यो माया मरुभुमिमा परिणत हुन्छ जहाँ सम्बन्धको नयाँ पालुवा पलाउन असम्भब हुन्छ । उसको स्वतन्त्रता मैले कुनै पनि बहानामा खोस्ने र नियन्त्रण गर्ने दुस्साहस गरिन ।

उसले आफ्नो मामाको छोरा, दाइलाई जसरी भएपनि यतै ल्याउन पर्यो भनेपछि ,मैले पनि सक्दो सहयोग गरें चिनेका एजेन्टहरु सँग कुरा गरेँ, धेरै पैसा लाग्ने रहेछ के गर्ने भनेर उसँग सल्लाह गरें । तपाइसँग सँग छ भने सहयोग गरिदिनु पछि दाइले कमाएपछि तिरिहाल्नुहुन्छ भनेर अनुरोध गरि । उसको खुशी नै मेरो खुशी थियो । उसको प्रेमको अगाडि मलाइ पैसाको के महत्व थियो र मैले इन्कार गर्ने? दुखको बेलामा काम लाग्छ भनेर जम्मा गरेको केहि लाख पैसा बैंकमा थियो, त्यहि पैसा एजेन्टलाइ कागजपत्र सहित बुझाएँ। दुइ महिना भित्रै उनको दाइको भिषा पनि लाग्यो ।

लिभिंग टुगेदरमा बसेको पनि धेरै समय भयो। एकले- अर्कालाइ राम्रो सँग बुझिसक्यौ ,अब जिन्दगीको गति अगाडि बढाउन पर्छ, भन्ने सोचेर बिहे गरौं भनेर प्रस्ताब राखेँ। र उसको घरमा कुरा गर्न आग्रह गरे । फेसबुक मार्फत हाम्रो सम्बन्ध साथीभाइ , परिवार र इस्टमित्र लाइ थाहा दिउँ , हुन्छ? भनेर मैले सोधे । उसले म तपाइकै त होनी, दाइ आइपुग्ने दिन सम्म पर्खन भनेर अनुरोध गरि । मैले उसको कुरा कहिले इन्कार गरेको थिए र आज गरौ। मैले हुन्छ भने ।

***
अन्तत उसको दाइ आइपुग्ने दिन पनि आयो ऊ औधि खुशी देखिन्थी, उसको खुशीमा म पनि मख्ख थिए ! एअरपोर्टमा संगै लिन जाने दाइलाई, म काममा छुट्टि लिन्छु ल भनेर सोधे, उसले पर्दैन काम नछोड्नु, म गएर लिएर आउँछु घरमा आइपुगेपछि भेट भइहाल्छ भनि। कोठादेखि एअरपोर्ट सम्म पुग्न जम्मा आधि घण्टा समय लाग्थ्यो तर उ ‘प्लेन ल्याण्ड’ गर्नु भन्दा चार- पाच घण्टा अगाडि कोठाबाट एअरपोर्ट निस्कि।

***
दिनभरिको कामले थाकेको हुन्थे। काम सकेर फर्किदा जतिजति कोठा नजिकै आउथ्यो, मेरो थकान पनि टाढाटाढा भाग्दै जान्थ्यो । उसलाइ भेटिसक्दा त म पुरै ‘रिफ्रेस’ हुन्थे । अनि थकाइ भनेको के होला जस्तो पो लाग्थ्यो ।

सधै झै काम सकेर कोठामा फर्किएँ कोठा अध्यारो थियो , सम्झे दाजु- बहिनी बाहिर कतै घुम्न निस्कीए होला । बत्ति बालेर सरासर कोठामा गएँ, कोठामा सामानहरु छरपस्ट छरिएका थिए । उसलाइ मोबाइलमा फोन गरे स्वीच अफ थियो। दराज खोलेर हेरेँ उसले लगाउने लुगा-कपडाहरु केहि थिएनन्, दराज रित्तो थियो।

रातभरि नसुती ऊ फर्किने आशमा छट्पटाएर रात कटाए। त्यो रात सार्है भयानक थियो मेरो लागी । कहालीलाग्दो रात ।

बिहान भयो, ऊ जानसक्ने सम्भाबित ठाउँमा सबै ठाउँमा सम्पर्क गरें केही पत्तो लागेन मन बेचैन भैरह्यो, उसको दाइ आउनु, ऊ हराउनु केबल संयोग भैदियोस, ऊ छिट्टै फर्केर फेरि मेरो संसारमा आओस धरै कामना गरेँ। तड्पाइको पनि हद हुँदो हो तर म हरेक पल तड्पिरहेँ, कति रातहरु अनिदो रहे। मदिरामा लठ्ठ भएँ, बेहोशिमै रात -रातभर सडक सडक भौंतारिइरहेँ पागल बनेर । यहि ज्यान फाल्न सकिन, संसार त्यागेर मृत्यु रोजिन, अरु सबैथोक गरेँ तर यो सब उसलाइ पाउने आशाले कि बिर्सने चाहानाले म जान्दिन ?

लगभग दुइ महिना पछि ऊ अनलाइन देखिइ फेरि जीवनलाई जितेझैं भयो आशाका मुनाहरु पलाए, कस्तो – कस्तो आत्तिदै उसको प्रोफाइल खोलेँ । फेरि एकाएक चट्याङ परेजस्तो भयो दोहोर्‍याएर हेरेँ (इन अ रिलेशनसिप) अनि उनी संगै एउटा केटासँग अंगालो मारेर ‘माइ लाइफ माइ हार्ट माइ हेन्डसम ब्वाइफ्रेन्ड’ लेखेको फोटो अपडेट गरिएको थियो भर्खरै । उसको दाइ भनेको मान्छे त उसको ब्वाइफ्रेन्ड पो रहेछ। बेलाबेलामा एक्लै एकान्तमा कुरा गर्ने र च्याट गर्ने उसैसंग रहेछ।

जिउभरि काँडा उम्रिन थाल्यो, धर्ती भासिए जस्तो आकाश खसेजस्तो भयो , म पछारिएँ मेरो श्वास अडेको डोरि चुँडियो उठ्न खोजेँ उठ्नै सकिन। पुरै घर अध्यारो झैं भयो, के गरौं कसो गरौं सोच्नै सकिन बल्ल चाल पाएँ, मलाइ उसले प्रेमको नाटक गरेर प्रयोग गरिरहेकी थिइ मसँग कुनै बिकल्प थिएन ।

न पैसा बाकी रह्यो न प्रेम थियो । दुखमा साथ नछोड्ने त्यहि आशु थियो जो मेरो पिडामा साथ दिदै बगिरहेछ आजसम्म ।

मायामा मेरो हार भोकी उसको जित भनौ ?
आफुलाइ सम्हालौ कि उसलाई बधाइ दिउ ?
टुट्यो बाच्ने रहर भनौ कि,
मेरो चोखो मायाको अन्त भो ?
बताइदेउन कोही मलाई उ बिना अब कसरी म जिउ ?

राम ढुंगाना अल्पमत
हाल – इजरायल !

(स्रोत : KhabarChitwan)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.