~महेन्द्र महक~
अक्टोबर १०–१५, आबुधाबी ।
उनको अनुहारमा नेपालको तस्विर थियो ।
दशैंतिहारको यस अवसरमा लाखौं मान्छेहरु घर फर्किरहेका छन् । परदेशीहरु स्वदेश फर्किरहेका छन् । शहरमा बस्नेहरु गाउँ फर्किरहेका छन् ।
आबुधाबी अन्तराष्ट्रिय विमानस्थलको बहिर्गमन विभागबाहिर सडकसम्मै लाइन लागेको हुन्छ–परदेशीहरुको । दशैं तिहार मनाउन फर्किनेहरुको लर्को । बकर ईद मनाउन फर्किनेहरुको लर्को ।
दशैंतिहारमा हाम्रा चेलीहरु आफ्नो माइती घर जान्छिन् ।आफ्नो बा–आमासँग टीका थाप्न, दाजुबाट टीका थाप्न अनि तिहारमा दाजुभाइलाई सप्तरंगी टीका लगाइदिन । यी चाडपर्वहरु चेलीका हुन् । दुःख र खुशी दुबै बोकेर आउँछन् चाडपर्व चेलीहरुका लागि । चेली छैनन् त चाडपर्व पनि छैनन् । चेली छन् त खुशीयाली छ चाडपर्वमा ।
तर यहीबेला उनी अराइवलबाट मुग्लान पस्दै थिइन् । माइती जाने बेला उनी परदेश पस्दै थिइन् ।
ट्रली भरिभरिका सामान बोकेर आउँछन् मान्छेहरु । उठाइनसक्नुको हुन्छ लगेज । तर उनले काखीमा एउटा हाते झोला च्यापेकी थिइन् । कालो रंगको लेडिज ब्याग ।
श्रीमान्ले राती अबेरसम्म भट्टी पसलमा रक्सी धोकेर श्रीमतीलाई मरुन्जेल पिटेर धपाइदिएको जस्तो उनको अनुहार । र, सायद ज्यान जोगाउन भाग्दै गर्दा उनले त्यो मैलिएको कालो हाते झोलामा एक जोडा कपडा राख्न पनि भ्याइनन् होला ।
प्रेमीले प्रेमको नाटक गरी प्रेमिकाका भावनासँग खेलवाड गरी उसको अस्मिता लिलाम गरी फरार भएपछिकी प्रेमिकाको जस्तो दयालाग्दो अनुहार ।
बर्बर बलात्कारपछि अर्धबेहोसीमा हिँडिरहेकी युवतीको जस्तो उनको तस्विर । र, सायद त्यही बेला मैलिएको खुम्चिएको हुनुपर्छ उनको कालो/पहेंलो म्याक्सी पनि । …खै किन–किन मेरो मन एकतमासको भयो उनलाई देखेपछि । उनको अनुहारमा नेपालको तस्वीर देखें ।
के थियो होला त्यो कालो झोलामा ?
सायद झोलामा छोरा/छोरीको तस्वीर होला । सन्तानलाई काखमा राखेर स्टुडियोमा खिचेको अलि पुरानो तस्वीर । सायद होलान् पीडैपीडाका दस्तावेजहरु । बीस/पचास दिराम अथवा भोक लाग्दा खान भनी नेपालमै किनेको चाउचाऊ ।
उनी डरले खुम्चिएकी थिइन् । मानौं कि हात अथवा खुट्टा अलिकता बढी पसारिन् भने उनी यो देशमा अपराधी घोषित हुनेछिन् । खुम्चिएको कालो/पहेंलो म्याक्सी पहिरेकी उनले पछ्यौराले शीर छोपेकी छन्, अनुहार मात्रै देखिने गरी । फुङ्ग उडेको कान्तिविहीन मंगोल अनुहार । चिन्तै चिन्ताले खर्लप्पै निलेको ।
नाकमा प्वाँल थियो । नाकमा फुली थिएन ।
वैंशालु उमेर थियो । वैंश थिएन ।
खुट्टामा काला रंगका सामान्य लेडिज चप्पल थिए ।
अराइवल हलमा पर्खिरहेका छन् थुप्रै अरबीहरु ।
महिला पुरुष केटाकेटीहरु पनि ।
भारतीय/फिलिपिनी/बंगाली
पाकिस्तानीहरु पनि ।
ईदको उत्सव मनाउन घर फर्किरहेका छन् अरबीहरु । कुरिरहेका छन् थुप्रै आफन्तजनहरु व्याकुलताका साथ हातमा सुन्दर–सुन्दर फूलका गुच्छाहरु लिएर । अराइवल टर्मिनलभित्र प्रवेश गर्ने मुख्य गेटमा बसेको सुरक्षाकर्मीको बेवास्ता गर्दै तीन–चार जना केटाकेटीहरु खुशीले उफ्रदै भित्रैसम्म गएर आउँदै गरेको आफन्तको अँगालोमा जान्छन् । फूलका गुलदस्ता हातमा राखिदिएर स्वागत गर्छन् । एक अर्कालाई अँगालो मार्छन् । गालासँग गाला जोडेर म्वाइँ खान्छन् । वर्षौं बिछोडिएकाहरु फेरि भेट भएको खुशियाली मनाउँछन् ।
यसरी नै हर्षबढाइ गरिहेको एक हुल भीडको बीचबाट त्यो नेपाली अनुहार बाहिरिएको थियो । बुर्का पहिरेकी एउटी मुस्लिम महिला कन्दुरामा सजिएको अरबीको छातीमा टाउको लुकाएर रुँदै थिइन् । उनी भर्खरै आउँदै थिइन् र त्यो अरबी उनलाई कुर्दै थियो । त्यो प्रेमिल मिलन उनको छेऊमै भएको थियो । उनले देखिन् अथवा देखिनन्, खै ? उनका आँखाले बरु त्यो बंगालीलाई भेटाए, जो चुपचाप बार समातेर उभिएको थियो । उनले बंगालीलाई पासपोर्ट दिइन् ।
पासपोर्ट– उनलाई उनको परिचय/न्याय/देश र काम दिलाउने कागजको ठेली । देशले दिएको एउटा उपहार । सायद उनीसँग भएको सबैभन्दा महंगो चल सम्पत्ति यही पासपोर्ट मात्र थियो !
उनका लागि फूल लिएर पर्खिने कोही थिएन । भक्कानिएको उनको मनको बाँध रोकिदिने कुनै छाती थिएन । उनलाई देखेर चेक प्वाइन्ट पार गरी भित्रै आएर काखमा फूलको गुलदस्ता राखिदिएर लुटुपुटु गर्ने उनको छोरा/छोरी कोही थिएन ।
‘ईद मुबारक ! ईद मुबारक !’ भन्दै अरबी मुस्लिमहरु एकअर्कालाई अँगालो मारिरहेको बेला दशैं तिहारको शुभकामना दिने उनको मान्छे कोही थिएन यहाँ । उनी देश छोडेर परदेश पस्दै थिइन ।
सायद आँगनमा बामे सर्दै तोतेबोलीमा सुनौला सपना देखाउने आफ्नो राजकुमार/राजकुमारी छोरा/छोरीलाई कसैको जिम्मा लगाएर उनी परदेश पस्दै थिइन् ।
सायद श्रीमान्को अत्यधिक हिंसा र बेवास्ताबाट आजित भएर परदेश पस्दै थिइन् ।
सायद बोक्सीको आरोपमा समाजमा अपहेलित भएपछि परदेश पस्दै थिइन् ।
सायद मलेसिया/अरब पसेको श्रीमान् बेखबर भएपछि गरिबीको पुस्तैनी भार थेग्न नसकेर परदेश पस्दै थिइन् ।
सायद अवैध सम्बन्धको बेइज्जति सहन नसकेर परदेश पस्दै थिइन् ।
सम्भावनाहरु त अनन्त छन् ।
जेहोस्– उनी परदेश पस्दै थिइन् ।
उनी र त्यो बंगाली ट्याक्सी पर्खदै छन् । बंगालीको हातमा उनको हरियो रंगको पासपोर्ट छ । युरोपियन र अरबीहरुलाई बढी प्राथमिकता दिने ट्याक्सीहरुले उनीहरुलाई लिन आनाकानी गरिरहेका छन् सायद, त्यही भएर उनीहरु पर्खिदै छन् ट्याक्सी ।
म अलिपर वेटिङ एरियामा बसेर साथीहरुसँग कम्पनीको बस कुरिरहेको छु । अरु दिनहरुमा हामी यतै कतै बसेर बैंश बोकेर हिँडिरहेकी एयरहोस्टेज/फिलिपिना/यूरोपियन अरेबियन युवतीहरुलाई हेर्छौंै ।
हाम्रा आँखाहरुले हरेक दिन यो एउटा अपराध गर्छन् । हाम्रा आँखाहरु बैंशलाई पछ्याउँछन् उनीहरु आँखाबाट ओझेल नहुन्जेल । पर कतै उभिरहेको ट्रली ब्वाय अथवा क्लिनर हामीलाई मुस्काउँछ । हामी पनि मुस्काइदिन्छौं उसै गरी ।
उसका आँखाले पनि त्यही बैंश पछ्याइरहेका हुन्छन् । हाम्रा आँखाले पनि त्यही बैंश पछ्याइरहेका हुन्छन् । र त हामी एक अर्कालाई हेरेर हाँस्छौं । सोध्नुपर्दैन, किन ? के हेर्छौ ? आवश्यक छैन ।
हजारौं किसिमका श्रृङ्गार गरी रंगिएका गुलाबी बैशालु अनुहार–
हजारौं किसिमका फेन्सी लुगामा सजिएका जवानी–
मेरा आँखाले हरेक दिन यो अपराध गर्छन् तर कसैको अनुहार मेरो आँखामा बसेको छैन ।
पपुआ न्यू गिनिया अथवा जोहान्सवर्ग तीन महिने भिसामा गएर अर्धनग्न नाच नाचेर पैसा बटुल्नेहरुको जस्तो अनुहार थिएन उनको । किन–किन उनको अनुहारमा नेपालको तस्वीर देखें । त्यसैले भुल्न सकेन मेरो मनमस्तिष्कले उनलाई ।
पाँच–सात मिनेट पर्खेपछि उनीहरु ट्याक्सीमा सवार भए । साँच्चै, त्यो बंगालीले उनलाई कहाँ लिदैछ होला ? सायद उनी एउटा क्लिनर थिइन् । महिलाहरुको कार्यालय, बाथरुम, सिटिङ रुम सफा गरिदिने महिला क्लिनर ।
सायद उनी खदामा थिइन । कुनै अरबीको घरमा काम गरिदिने घरेलु नोकर्नी । खाना पकाइदिने खदामा । घर सफाइ गरिदिने खदामा । केटाकेटी हेरविचार गरिदिने खदामा । सम्भावित यौनपिपासु मालिकको यौन हिंसाको शिकार खदामा ।
सायद त्यो बंगाली कोठी चलाउँछ । उनलाई कोठामा बन्द गर्नेछ । र शहरको बीच चोकमा उभिएर दलाली गर्ने छ उनको बंैंशको– उनको उमेरको । ‘लडकी नेपाली है । एक सटका सौ दिराम !’ उनको कोठीमा उनीसँगै हुनेछिन्–
बंगाली
फिलिपिना
इण्डियन
पाकिस्तानी
अफ्रिकन…।
सायद… सम्भावनाहरु अनन्त छन् ।
सम्भावनाहरु त अनन्त छन् । देशसँग पनि त कहाँ पासपोर्ट मात्रै बनाइदिने सम्भावना रहेका छन् र ? सम्भावनाहरु अनन्त छन् । जस्तो कि– सधैं चम्किरहने अग्ला–अग्ला हिमाल छन् । अविरल बग्ने हजारौं नदीनाला छन् । बाक्लो वनजंगल छन् । विश्व सम्पदामा सूचीकृत क्षेत्रहरु छन् । जडिबुटी/पन्छी/जनावर/तालतलैया सबथोक त छन् ।
त्योभन्दा बढी कोटी–कोटी तातो रगत बग्ने उत्साही पाखुराहरु छन्– जाँगरिला युवाहरु छन् ।
तर, यी सबै सम्भावनाहरु थाँती राखेर एउटा मात्रै विकल्प रोजेको छ देशले– पासपोर्ट बनाइदिने । र, यसरी बनाइदिएको पासपोर्ट बोेकेर उनी परदेश पस्दै थिइन् । दशैं तिहारको पूर्वसन्ध्यामा ।
पासपोर्ट बनाउनु उनको अधिकार थियो । पासपोर्ट प्रयोग गर्नु उनको बाध्यता थियो । सरकारको एउटा मुख्य काम पासपोर्ट बनाइदिनु ।
पासपोर्टसँग जोडिएर आउने अनन्त सम्भावनाहरुसँग कुनै सरोकार छैन मेरो देशलाई । देश चलाउने ठेक्का लिएका ठेकेदारहरुलाई । ती सम्भावनाहरुको एक तहको पनि चिन्ता छैन उनलाई ।
अनन्त सम्भावनाका साथ उनी परदेश पसेकी छन् । सयपत्री ढकमक्क फुलेको आँगन छोडेर । दिदी/बहिनी आउने बाटो कुर्दै पर्खिरहेका दाजुभाइको तिहार नमनाउने गरी बडादशैंको पूर्वसन्ध्यामा ।
उनको परिवारले यस वर्षको दशैं कसरी मनायो होला ?
खैर, देशले त हरेक वर्ष यसरी नै दशैं तिहार मनाउँदै आएको छ जसरी मनायो यस वर्ष पनि ।
किन–किन उनको अनुहारमा देशको तस्वीर देखें मैले ।
(स्रोत : Nepalpati)