कथा : एक्लो जीवन

~नवराज राउत~Nabaraj Raut

“मैले सिन्दुर र पोते मेरो लोग्ने जिउँदै छ भन्नका लागि मात्र लगाएको हो। प्रेम र श्रद्धाले हैन। ऊ यो संसारमा छ तर मेरो लागि हैन। खै कताबाट हो, एउटा बतास आयो, त्यसैले मेरो लोग्नेलाई अर्को दुनियामा लग्यो र अहिले ऊ त्यही दुनियामा बाँचिरहेको छ।”

आमाको कुराले मन चसक्क छोयो। त्यस रात म उज्ज्वलको घरमा थिएँ। मुलपानीमा। उज्ज्वल मेरो मिल्ने साथी हो। हामीले सँगै क्याम्पस पढेका हौँ। बेलुका खाना खाँदै गर्दा प्रसंगवस उज्ज्वलकी आमाले पीडा पोख्नुभएको थियो।

मान्छेको जिन्दगी कति पीडादायी छ। हरेक जीवनमा समस्या र कथा छन्। आधा काटिएर बाँचिरहेको छ मान्छे। मैले उहाँको कुरा सुन्न बित्तिकै मनमनै भनेँ।

मलाई उज्ज्वल मैले पहिल्यै भनेको थियो, उसका बाबुले अर्की श्रीमती लिएर चाबहिलमा बस्न थालेको करिब २० वर्ष भयो। पुरानो घरमा ऊ र उसकी आमा मात्रै छन्। तर मलाई यो कुरा संसारमा चलेको एउटा सामान्य घटना लागिरहेको थियो। तर त्यस साँझ उज्ज्वलको आमाले भनेको कुराले म तिरमिराएँ। कुनै पनि विषय, प्रसंग, घटना वा कुरालाई भित्देखि महसुस नगरेसम्म सम्वेदनशील कुराहरु पनि समान्य नै लाग्छन्।
मैले सकिनसकी आमालाई सोधेँ, ‘आमा, सम्झना आउँदो हो।‘

“खै कस्तो लाग्छ भन्ने बाबु। बेलाबेलामा आउँछ सम्झना।सिन्दुर, पोते र रातो धोतीले सम्झाइदिन्छ। उज्ज्वलको मुख हेर्‍यो, सबै चिन्त्ता हराउँछ। अब त जागिर पनि खाइहाल्यो, विवाह गर्न पाए मन आनन्द हुन्थ्यो। यही छ चिन्ता”, हलुका मुस्कान ल्याएर हाँस्दै आमाले भन्नु भयो।

आमाको कुरा सुनेर उज्ज्वल मुसुक्क हाँस्यो तर केही पनि बोलेन।

आमाले नै बोल्नु भयो, “यही उज्ज्वलाई देखेर मात्रै भोलि के होला भन्ने चिन्त्ता लाग्छ। नत्र मैले त जिन्दगी बाचिसकेँ। अब आफैलाई सम्झने भनेको त विगत मात्रै हो।”

ठीक भन्नु भयो आमाले। मनमनै सोचेँ– सायद उहाँले बाँचेको विगत छोटो तर सम्झन लायक थियो होला। नयाँ दुलही भएर घर भित्रदा अकासको सूर्य नयाँ लाग्थ्यो होला। नयाँ सृष्टि गर्छु भन्ने आशा थियो होला। आशा र सपनै सपनाको पोको बोकेर यो घरमा भित्रनु भयो होला।
श्रीमानलाई आदर गर्दै घर सम्हालेर बस्छु भनेर भाकल गर्नु भयो होला। कति सपना सकार भएहोला र कति सपना गर्वमा नै तुहिए होला। तर त्यति हुँदाहुँदै पनि त्यहाँ जीवन थियो। लोग्ने र स्वास्नी बीच घनिष्ठता थियो तर बच्चा भैसकेपछि लोग्नेले अर्को श्रीमति लिएर छुट्टै बसेपछि उहाँ कति बिरक्तिनु भयो होला।

जिन्दगीको सपना कसरी भाँचिए? त्यो दुर्घटनालाई म अहिले कुनै भावुक फिल्मको दृश्य झैँ गरेर अनुमान लगाउन सक्छु। हो, म अनुमान मात्रै लगाउन सक्छु, किनभने मैले त्यो जीवन बाँचेको छैन। तर उहाँको भावनालाई केही हदसम्म बुझ्ने हृदय पाएको छु। त्यही भएर यो कथा लेख्दै छु।

“किन उज्ज्वलको बुबाले अर्को श्रीमती ल्याएको आमा केही थाहा छ?”,मैले प्वाक्क बोलिहालेँ। उज्ज्वलले पनि मलाई घुरेर हेरेको जस्तो लाग्यो। आमा एकछिन चुपचाप लाग्नु भयो।

मैले आफ्नो गल्ति स्वीकार गर्दै टाउको निहुराउँदै भुइमा हेरेँ।

आमाले भन्नुभयो, “बाबु म मन नपरेर होला नि। वा अर्कीको मोहिनी लगाउने रुप र धन थियो होला। यस्तै केही भएर उहाँ बरालिनु भयो होला। अरु त के होला र? तर म बरालिन सकिन। मेरो पोल्टामा छोरा थियो। यही छोरालाई मैले भविष्य र बाँकी जीवनको जिम्मेवारी सोचेँ, सम्झे र संसार यही भनेर यसलाई हुर्काए, पढाएँ।”

फेरि आमाले भन्नुभयो, “एक्लै बस्नुको पीडा भने कि मलाई थाहा छ कि भगवानलाई। एक्ली आइमाईलाई बाँच्न संसार निकै भारी छ। कतिले फकाउन आए, कतिले फेरि विवाह गरौँ भने। कतिले खुट्टै ढोग्न आए तर म एक रत्ति विचलित भइन। दिन छिपिँदै गएपछि सूर्यको प्रकास मलिनो हुन्छ तर म भइन। यही छोराको लागि। अहिले छोराको काँध हेरेर म मख्ख पर्छु र आफ्नो संकल्पप्रति म गौरव गर्छु। जिन्दगीलाई मैले खेर नफाली बाँचेँ बाबु।”

आमाको कुराले, उहाँको तपस्याले एकछिन म भित्रको अथाहा सागरको छाल रोकियो। उहाँले भन्नुभएको शब्द र भावनाले ल्याएको हावाहुरी बीचमा पनि नआत्तिकन हँसिलो अनुहार लगाउँदै बोलिरहनु भएको छ उज्ज्वलको आमा। लाग्छ पीडालाई ममताको आवरणले छेक्नु भएको छ।
हामीले खाना खायौं। आमाले घरधन्दा गर्नुभयो। म र उज्ज्वल सुत्न कोठमा तिर लाग्यौँ।

उज्ज्वलले सुत्ने बेलामा भन्यो, “यार। आमाले यस्तो कुरा कहिल्यै पनि गर्नुभएको थिएन। मलाई अचम्म लाग्यो।”

“हो यार। म पनि तेरो घरमा कति पटक आएको थिएँ तर यस्तो कुरा आमाले गर्नु भएको थिएन।”

मैले अगाडि भनेँ,“सायद आज तेरो बुबासँग भेटघाट भयो कि वा सम्झना धेरै आयो कि।”

“खै यार। अब सुतौ”,केहीबेर पछि उज्ज्वलले अपूर्ण वाक्य बोल्यो,“आमाको त्याग, मेरो भविष्यको लागि …”

भोलिपल्ट म अफिस गएँ। दिनभरी जसो नै उज्ज्वलको आमाको बारेमा सोचिरहेँ। घरमा गएँ। दिमागमा त्यही तर्कना चलिरह्यो। बेलुका खाना खाएर सुत्ने बेलामा झन् उहाँको धेरै सम्झना आयो।

म अक्सर कथाहरु कुनै घटना र परिवेशले छोएपछि, ती पात्रहरुले धेरै घच्घच्याएपछी मात्रै लेख्न बस्छु। केही बेर पात्रै भएर बाच्ने कल्पना गर्छु। एकछिन पीडामा रन्थनिन्छु। अनि एउटा परिवेश दिन्छु र लेख्छु।

मलाई जहिले पनि नारी पात्र भएर लेख्न कठीन लाग्छ। केटा भएर होला, डर लाग्छ उनीहरुको भावलाई सही मुल्याकंन न हुने पो हो कि भनेर।
तर उज्ज्वलको आमा कथामात्रै हैन, एउटा जीवन पनि हो। गतिशील भएर बगिरहेको जीवन। यही गतिशील जीवनलाई लेख्न मलाई धेरै गाह्रो भयो।

त्यही दिन बेलुका उहाँको बारेमा लेख्न सुरु गरेँ। त्यसपछि करिब तीन महिना पछि फेरि यो अधुरो जीवन कथालाई पुरा गर्ने निश्चय गरेँ। तर दुई हरफभन्दा अघि कलम अगाडि बढेन। १५ दिन यत्तिकै गएँ।

फेरि आज त्यही याद ताजा भएर आयो र जीवन कथा पल्टाउँदैछु।

लेख्नु अगाडि पहिला उज्ज्वलको बुबालाई भेट्न मन लागेको छ। उहाँलाई सोध्नमन लागेको छ,“किन तपाईंले विवाहा गरेर, छोरा जन्मेपछि आफ्नो श्रीमती र छोरासँग छुटिएर बस्नु भयो? के करुणा र संवेदनशीलता भन्ने कुरा तपाईँमा छैनन्? ”

सायद उहाँको उत्तर हुन्थ्यो होला, ‘म फसेँ। मेरो बाध्यता थियो। वा त्यस्ता कुलङ्गघारसँग पनि जीवन बिताउन सकिन्छ? मलाई त्यो मन पर्दैन। वा म प्रेममा परेँ।’

यस्ता हजारौं बाहना हुन्थे होला उहाँसँग मलाई र समाजलाई बताउन। जुन उज्ज्वलको आमा भएर सोच्दा सतप्रतिशत ब्यवाहारिकता भन्दा बाहिरको र वाहियात कुरा हुन्थ्यो।

अब उहाँको अर्को संसारमा जग गाडिसक्यो। मैले फेरि केही भनेँ वा केही गरेँ भने पनि उहाँ फर्केर जानुहुन्न। त्यसैकारणले यो पक्ष बारेमा थप सोचिनँ।

अब केही दिन वा केही महिनामै उज्ज्वल मेको बिहे होला। उज्ज्वलको श्रीमती उज्ज्वलको आमाको बुहारी बनेर घरमा भित्रिलिन्। उहाँले घरको सिँगार भनेर बुहारीलाई भित्राउनु होला। उज्ज्वल मेले जीवन साथी पाए भनेर मनमा श्रीमतिको तस्बिर राख्ला। उज्ज्वल र उसको श्रमतिबाट फूल जस्तो सुकुमार बच्चा जन्मेला। उनीहरुको जीवन अगाडि जाला। तर आमाको के हुन्छ?

यस्तो सोचाइ र भावनाको आभाष मात्रले मरो हात कामिरहेको छ।

हुनत सबै मान्छेसँग एक्लो पन हुन्छ। यो शास्वत सत्य हो। तर शास्वत सत्यलाई भुलाउने सम्बन्ध छन् संसारमा, जसले हरसमय मानिसलाई केही गर्ने उत्प्रेरणा जगाइरहन्छ।

मलाई लाग्छ, अहिलेसम्म उज्ज्वलको आमाको उत्पेरणा भनेको उज्ज्वल थियो। उज्ज्वलकै पढाई, लेखाई, स्वास्थ, भविष्यको बारेमा चिन्त्ता लिँदै र आवश्यकता पुरा गर्दै सायद, आमाले उज्ज्वलको आधा जिन्दगी बाँच्नु भयो होला। तर विवाहा पछि….भगवान सायद त्यति निष्ठुरी छैनन् होला। म पुकार गर्छु, उहाँले कुरा बुझ्ने र माया गर्ने नै बुहारी पाउनु होला।

अर्कै एउटा खरो यथार्थ अब झन् उज्ज्वलको आमको अगाडि बुढेसकालको ठाडो उकालो बाँकी छ। भनिन्छ बुढेसकालको सहारा भनेको नै बुढालाई बुढी र बुढीलाई बुढा हो रे। तर उहाँसँग श्रीमान् हुनुहुन्न। बुढेसकालमा उहाँको श्रीमानको मन फर्कन्छ कि? के भन्न सकिन्छ र समयको खेल तर फेरि उतापट्टि पनि उहाँकी श्रीमति छन्। उनी पनि बुढी हुँदै छन्।

यो निश्चय छ, बुढेसकालआमाले एक्लै काट्नु पर्ने छ। त्यही माथि दीर्घरोगी हुनु पर्‍यो भने? कस्तो नकारात्मक सोच आयो। एकछिन रोकिएँ। तर यो यथार्थ हो, धेरै जसो नेपालीहरु ५५/६० कटेपछि कुनै रोगले समातेर जिन्दगी भर औषधि खानु पर्ने आँकडा छ।

भनिन्छ, जे कुरा पनि सुरु गरेपछि अन्त्य हुन्छ, पाइला उचाले पछि टेकिन्छ तर यो जीवन कथाको अन्त्य हुनेवाला छैन। मसँग अन्त्य गर्ने कुनै उपाय पनि छैन। त्यही भएर शब्दको जालोले लम्ब्याएर कथाको बिट मार्ने कोसिस गर्दै छु।

जीवन भनेको पूर्ण वर्तमान नै हो। अझै म भन्छु, जीवनको अन्त्य, छैन र सुरुवात पनि छैन। मेरो जीवन कुनै न कुनै रुपमा मेरो शरीर जन्मनु भन्दा अगाडि देखि नै थियो र शरीर मरेपछि पनि कुनै न कुनै रुपमा अवश्य हुन्छु। जीवन गतिशीलता हो।

पानी झरनाबाट झरे पनि पानी नै हो, खोलामा पुगे पनि पानी नै हो, समुन्द्रमा बगे पनि पानी नै हो, आकासबाट बर्सिए पनि पानी नै हो। स्थानअनुसार पानीको स्वाद र बह फरक होला तर पानी पानी नै हो। त्यस्तै जुन रुप धारण गरेपनि, जहाँ भए पनि जीवन गतिशील जीवन नै हो।

अझै म उज्ज्वलको आमा भएर एकछिन बाँच्न सक्छु, थप दुइचार वटा अक्षर लेख्न सक्छु तर उहाँको सिंगो गाथा र ब्यथालाई म त्यही पीडामा बगेर, त्यही आँसु खसालेर, त्यही ममतामा पग्लेर लेख्न सक्दिनँ। एउटा लेखकीय बाध्यता।
मैले मनको बह रोकेँ।

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.