~सागर तामाङ~
मेरो मनको
आकाशबाट
कतै खस्यो भने एउटा जून
टिपेर
चुल्ठोभरी सजाइदिनु,
र
जीवनको भूगोल हिँड्दा
कतै आयो भने अँध्यारा बाटाहरु
त्यै जूनसँग माँगेर हिँड्नु
अलिकती उज्यालो ।
मेरो आँखाको
क्षितिजबाट
कतै झर्यो भने मेरा सुन्दर सपनाहरु
टिपेर
ती परेलीभरी सजाइदिनु,
म त्यहींबाट हेर्नेछु
सपनाहरुको एउटा इन्द्रेणी ।
त्यो पर
पहाडको डिलमा
मेरो मुटुको रङ्ग चोरेर
कतै फुल्यो भने एउटा लालीगुराँस
टिपेर
मुटुमाथि सिउरीदिनु,
सम्झनाका बाँडुलीहरुमा
कतै बढ्यो भने तिम्रो मुटुको धड्कन
सम्झनु
त्यै लालीगुराँस मेरो मुटु हो ।
म त देश बोकेर हिँडेको मान्छे
सम्हाल्दा–सम्हाल्दै
कतै लड्यो भने मेरो देश
तिमी आएर उठाइदिनु,
मेरो मुटुबाट
कसैले खोस्यो भने मेरो देशको मानचित्र
खोसेर फिर्ता लिनु
र
सजाउनु तिम्रो मुटुभरी,
मेरो छात्तिबाट
कसैले खोस्यो भने
मेरो स्वाभिमानको सगरमाथा
खोसेर फिर्ता लिनु
र
सजाउँनु तिम्रो छात्तिभरी
म त्यहींबाट
भेट्नेछु मेरो देश ।
आखिर म भन्नु तिमी न हो ।
(स्रोत : Ganatantradaily)