~मनु लोहोरुङ्~
ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,
ओ मलाला !
तिमीलाई थाहा छैन होला
तिम्रो बुर्का भन्दा केही फरक छैन
मेरो गाउँको संकीर्ण विचार
मेरो शहरको हिंस्रक कार्य,
मेरो समाजको अचेतना
तिम्रो बुर्काले त केवल
तिम्रो मुहारको सुन्दरता मात्रै छोपियो
तर संकीर्ण विचारले त
खोसिन्छन्,यहाँ इमान्दारका अवसरहरू
लुटिन्छन्, यहाँ गाउँमा गरिबीको पसिना
छोपिन्छन् यहाँ शहरमा ज्यादतीहरू
थाहा छ ? तिमीलाई कन्चटमा ताकेर
मार्न खोज्ने तालेवानी बिद्रोही भन्दा
कम खतरनाक छैन
मेरो अर्ध-चेत संस्कार
किन कि तिमी जस्तै
थुप्रै नारीहरूमाथि घरेलु हिंसा खनिन्छ
र यहाँ समाज निदाउछ
मेरो कानून बिक्छ = पैसामा
मेरो प्रसाशन बाँच्छ = गुण्डामा
मेरो न्याय लहसिन्छ = नेतामा
र सत्य साटिन्छ = नातामा
ओ मलाला !
तिम्रो आवाजहरू उज्याउन
मेरो रस्ती वस्तीमा पनि एक पटक जन्मिऊ न !
मेरो गाउँ ब्युँझियोस्
मेरो शहर झस्कियोस्
कि म चाहन्छु,
– प्रत्येक अँध्यारा गल्लीहरूमा
– शहरका चौक-डबलीहरूमा
– प्रत्येक अन्धो दिमागहरूमा
नारीको अस्मितामाथि
न्यायको हुंकार बोलियोस्,
बोलियोस्, परआत्मामाथि गरिने
कुठाराघातहरूमाथि निसाफ
अधिकार शक्तिमा बदलियोस्
न्यायको आभास बदलियोस
र
आडम्बरका महलहरूभित्र
उठाईका अधिनायक दिवारहरूबाट
निस्किउन् मानवीय चेतका गुञ्जनहरू
ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,
मेरो देशलाई…………….!