~टंक गौतम~
एकवर्ष भएछ मैले लेख्न छोडेको । हरेक बाहानाको साहारामा मैले लेख्ने विषयलाई चटक्कै छोडिदिएँ । जीवनको वास्तविकता लेख्न सकिदैन त किन लेखिरहनु ? यसको अर्थ नै के छ र ? तसर्थ कुनैदिन पनि लेख्न यो मनले मानेन । यसको अर्थ यो होइन कि यतिबेला म जीवनको वस्तविकता लेखिरहेको छु । यो त यस्तो समय बेथितिमा देखिएको अर्थहीनताको उपज हो । जहाँ शून्यता बाहेक अरु केही छैन । लाग्यो, यही शून्यतालाई ओकलिदिऊँ । वास्तविकता, यसको मूल्य छैन । मूल्यहीनता नै यसको मूल्य हो । अर्थहीनता नै यसको अर्थ हो । निरर्थकता नै यसको सार्थकता हो ।
असफलताको शृङखलाले शून्यताको विजारोपण गरिदिएको छ । अर्थहीनताको शृङ्खलाले आस्तित्विक चेतनाको सिर्जना गरिदिएको छ । म काफ्काको फेरमा मिसिएको छु । मलाई राल्फा अघिकी पारिजात प्रिय लाग्न थालेकी छिन् । बेकेट मेरा प्रिय लेखक बनेका छन् । सात्र्र र कामुको नाम सुन्ने बित्तिकै मन फुरुङ्ग हुन्छ । परिवेश विशाक्त छ । समय विशाक्त छ । मान्छे विशाक्त छ । चिन्तन र चेतना दुवै विशाक्त छ । यसो भनौं, विशाक्तता बाहेक अरु सबै विशाक्त छ ।
अचेल मेरो अलि भिन्न प्रकृतिका पुस्तकतिर ध्यान गइरहेको छ । हिजो मैले ‘योगीको जीवनकथा’ शीर्षकको पुस्तक पढिसकेँ । यो योगी परमहंश योगानन्दको आफ्नै आत्मकथा हो । संसारका २५ भन्दा बढी भाषामा प्रकाशन भइसकेको यो पुस्तक पढ्दा लाग्यो, संसार अनेक ध्रुवमा विभाजित छ । मलाई लागेको थिएन कि धार्मिक÷आध्यात्मिक पुस्तकको यति विशाल बजार छ । यो त कुनै विश्प्रसिद्ध साहित्यकारको कृतिभन्दा बढी भएन र २५ भन्दा बढी भाषामा अनुवाद हुनु ? मान्छे लोकप्रियताको सिढी चढ्छ, तर उसको लोकप्रियता पनि सीमित क्षेत्रका निम्ति हँुदोरहेछ । चोरको समूहमा चोरकै प्रसिद्धि हुन्छ भने साधुको समूहमा साधुकै प्रसिद्धि हुन्छ । लेखकका समूहमा लेखकको मूल्य बढी होला व्यापारीका बीच व्यापारीकै मूल्य बढी होला । तसर्थ यो संसारमा म सबैले चिन्ने कर्म गर्छु भन्नु व्यर्थ छ । आफ्नो क्षेत्रमा अब्बल भई निस्कनेलाई पनि त्यही क्षेत्रले चिन्ने हो त्यो भन्दा बढी केही होइन । योगानन्दलाई हिटलरहरु चिन्दैनन् हिटलरलाई योगानन्दहरु चिन्दैनन् । माक्र्सवादीका अघि गान्धीको मूल्य छैन । गान्धीवादीका अघि माक्र्सको मूल्य छैन । त्यही एउटै व्यक्तिलाई एउटाले पूजा गर्छ अर्काले गाली गर्छ । त्यो पात्र गाली गर्न लायक हो वा पूजा गर्न लायक हो भन्ने प्रश्नको उत्तर खोजी गर्दागर्दै अर्काको जीवन समाप्त हुन्छ । तसर्थ छोडिदिऊँ, यो भ्रमात्मक विश्वको धर्म बुझ्न ? भएको खेतमा अन्न फलाऔँ । तरकारी फलाऔँ । दुई छाकको मेलो गराँै । कर्ममा विश्वास गराँै । कर्मलाई पूजा गरौँ । काम गरे, व्यक्ति, समाज र राष्ट्र बन्छ । भाषण गरेर होइन । माफ गर्नुहोला मैले यो लेख्ने समयमा अस्ति बुबाले रोपेको सिमीको बोटमा एक बाल्टिन पानी खन्याइदिएको भए ? तसर्थ म पनि ठग नै हुँ ।
कर्मविहीन जीवन ईश्वरको श्राप हो । सभ्यताको उपहास हो । हामी अहिलेसम्म कुराले बाँच्यौं । भाषणले बाँच्यौं । भ्रमको खेती गरेर असफलतालाई लहलह फलायौं सभ्यताका बारीहरुमा । जसको हवाला दिएर भ्रमको सिर्जना गरियो तिनीहरु हात्तीका देखाउने दाँत सावित भए । अस्ति एकजना सथीलाई भेट्न रत्नपार्क गएँ । उनीले भेट्न त बोलाएँ । तर, एकछिन एकछिन भन्दै करिब ४ घण्टा कुराएँ । चारघण्टाको रत्नपार्कको कुराइमा मैले कति सास्ती खेप्नुप¥यो, विचरा ती मित्रलाई के थाहा ? पछि थाहा भयो उनी जागिर गर्दा रहेछन् । तर, उनीले आफ्नो यथार्थ कहिल्यै भनेनन् । भन्थे, टंकजी म पनि बेरोजगार तपाई पनि बेरोजगार यसो कहिलेकाँही भेटौँ न । मनको वह पोख्न त हुन्छ । त्यसैले मैले भनिदिएँ भोलि १२ वजे भेटांै न त । उनले हुन्छ त भने, तर जागिरमा समय मिलाउन सकेनन् । तर, म सँग जागिर गर्छु पनि भनेनन् । काम छ , एकछिन पछि आउँछु, काम हँुदैछ एकछिनपछि आउँछु भन्दा भन्दै मैले ४ घण्टा कुर्नु प¥यो । ४ घण्टा रत्नपार्कमा बस्दा मैले विभिन्न रोचक कुरा देख्न भने पाएँ । सुरुमा गेटभित्र छिर्नेबित्तिकै देखेँ, एकजना युवक अनेक जादूमय क्रियाकलाको साथ विभिन्न आयुर्वेदिक औषधि बेच्दो रैछ । एकछिन म पनि त्यही हुलमा मिसिएँ । एउटा डिब्बाभित्र पैँसा राखेर गायव बनाउनेदेखि जति फिट्दा पनि एउटै रंगका तास देखाउने, सानो ढुंगाको टुक्रामा ठूलो ढुंगा बसालेर अड्याउने सम्मका अनेक क्रियाकलाप गर्दै र बीचबीचमा आफ्ना औषधीको विज्ञापन गर्दै र बेच्दै पनि जान्थ्यो । उसको बोल्ने शैली पनि ताज्जुवको लाग्यो मलाई । ऊ एउटा दाँत सफा गर्ने र मुख गन्हाउने समस्याको निराकरण गर्ने औषधिको प्रचार गर्र्दै थियो । भन्दै थियो, हेर्नुुस्, मुख महत्वपूर्ण कुरा हो । मुख गन्हायो भने के हुन्छ, थाहा छ ? भरे श्रीमतीसँग सुत्दा श्रीमती भन्न सक्छिन् बुढा थुतुनु उता फर्काऊ मुतुनु यता ल्याऊ । अनि भन्नोस् यस्तो अवस्था आयो भने के हुन्छ ? भीडमा हाँसोको पहिरो गयो । मलाई लाग्छ यो यौनकुण्ठाको तिरोहण हो । उसले यति भनेपछि फेरि उसका ५÷७ औषधिका डिब्बा बिक्री भए ।
अलि भित्र पसेँ । एउटा राजनैतिक मण्डली रहेछ । चर्को वहस चल्दै थियो । वहसको केन्द्रमा थिए–लोकमान । वहस हेर्न र सुन्न लायक थियो । संविधानसभाको चुनावअघि यस्तै वहस १÷२ पटक रत्नपार्कमा मजाले सुनेको थिएँ । आज फेरि लाग्यो नेपालमा फेरि चुनाव हुन्छ कि क्याहो । वहसकै क्रममा एउटा रोचक कुरा पनि सुन्न पाइयो । अहिले ती मान्छे राजनीतिको केन्द्रमा पनि छन् । पटक–पटक राम्रै मन्त्री पनि भइसकेका छन् । उनी आफ्नो एस.एल.सी.पछि काठमाडौँ आएछन् । उतिबेलै विद्यार्थी राजनीति गर्दारहेछन् । उनका बाबु छोरालाई भेट्न डोकोभरि खानेकुरा र अन्नपातको पोकापन्तुरा बोकेर काठमाडाँै आएछन् । गाउँबाट आएका विचरा बुढा बाबुमा आफ्नै गाउँलेपन थियो गाउँले सभ्यता थियो । सन्तानप्रतिको अथाह स्नेह थियो । तर, ती महान् नेतालाई आफूलाई जन्म दिने आफ्ना पितालाई बाबु भनेर चिनाउन लाज लागेछ । र साथीले को हुन् ? भनी सोध्दा भनेछन, ‘हि इज माइ सर्भेन्ट’ । बुढा छोराले आफूलाई अंग्रेजीमा बुबा भन्यो होला भन्ने ठानी मख्ख परेछन् र गाउँमा गएर सगर्व आफ्ना छोराले यसो भन्यो भनेर गाउँलेसँग भनेछन् । एकजनाले भनिदिएछन् ‘सर्भेन्ट’ भनेको त नोकर हो । त्यसपछि ती बाबु छोराको कहिल्यै भेट नभई ती बुढा मरे रे । छोरो घर गयो भने बुढा घरबाट निस्किहाल्थे रे । पछि छोरो मन्त्री हुँदा समेत म उसलाई चिन्दिनँ भन्थे रे । सुरुमा त मलाई लाग्यो ती महान् नेता त्यस्ता कसरी हुन सक्छन् ? यो उनको राजनीतिको चीरहरण गर्ने हत्कण्डा हुन सक्छ । तर, मैले उनका जिल्लावासीसँग बुझे । आखिर घटना सत्य रहेछ । पछि मलाई ती नेताको नाम सुन्नेबित्तिकै यस्तो घृणा लाग्न थाल्यो टेलिभिजनमा उनको नाम आयो भने टेलिभिजन नै बन्द गरिदिऊँ जस्तो लाग्न थाल्यो ।
पशुपतिनाथ, यो यस्तै नेताले चलाएको देश हो । आखिर म ती साथी लाई नभेटेरै बसेरामा फर्किएँ । योगानन्द भन्छन्, क्रियायोगलाई आफ्नो जीवनमा आत्मसात गर जीवनमा ईश्वर प्राप्त गर्छांै र सुख पाउँछांै । कार्लमाक्र्स भन्छन् वर्गसंघर्षबाट मानव मुक्ति सम्भव छ । गान्धी भन्छन्–‘अहिंसा नै सुखको आधार हो ।’ गीता भन्छ–‘कर्म गर फलको आशा नगर ।’
अब यतातिर, ती हाम्रा महान् नेता भन्नुहोला–‘बृद्ध बृद्धाहरुको सम्मान गर्नुपर्छ ।’ म भन्दै छु–‘कर्ममा विश्वास गरौं । जबकि म ढलेको सिन्को उठाउन्न । मलाई कुराउने साथी भन्लान् अरुलाई धोका दिनु महान पाप हो । विचरा ती औषधि बेच्ने युवक आफै ती रोगका सिकार होलान् जसको तिनी औषधि बेचिरहेका छन् । तसर्थ पाठक, कृपया अवसर पाएपछि बोलिहाल्नोस् किनकि त्यसलाई तपाईले व्यवहारमा उतार्नु पर्दैन । जसरी मैले यो निबन्धको शीर्षक राखिदिएँ–अर्थहीन, जसको कुनै अर्थ हुँदैन । यो पशुपतिनाथले बचाएको देश हो तपाईले बचाउनु पर्दैन ।
(स्रोत : Ganatantradaily)