~टंक कार्की~
तल तिम्रै बलेंसीमा
भेल बगेको छ
काली गड्गडाकी छिन्
सेती रोएकी छिन्
उता पैह्रो ग’को छ यता पैह्रो ग’को छ
जमिन काँपेको छ
अन्नपुर्ण ! तै पनि तिमि मौन छ्यौ
गुँरासेमा स्याल कराउछ
अनि हुइयाँ सुरु हुन्छ
नानीहरु तर्सन थालेका छन्
कलेटी परेका ओंठहरु लिएर
सोच्दा हुन् भरे पनि आमाको दूध खान नपाइने भो
विवेकको घरि घरि हुर्मत भएको छ
भविष्यकी देवी तिल्मिलाएकी छिन्
अन्नपुर्ण ! तै पनि तिमि मौन छ्यौ
तिम्रै संरक्षण क्षेत्र भित्र
दिनदहाडै हरिणको पाठो लापत्ता भ’को छ
उ वन कुञ्ज बुर्कुसी मार्न छोडेको छ
सिरुका पातमा छिर्किएको आलो रगत उसकै हुन सक्छ
अन्नपुर्ण ! तैपनि तिमि मौन छ्यौ
तिम्रै पाखा पखेरामा
लालुपाते फुल्न छोडेको छ
गुँरास मुर्झाको छ
सुनाखरी हास्न छाडेको छ
नागी डाडामा बुकी फुल्दैन
अन्नपुर्ण ! तैपनि तिमि मौन छ्यौ
जन जनमा हाहाकार छ
भोक,अभाव र तृष्णाको छटपटी छ
वस्तीहरु उजाड उजाड छन्
चोरको डाको ठुलो भा’को छ
फेवाको माझ मझेरीमा
भएभरका जुवाडे जमा भ’का छन्
र छाती पिटी पिटी छक्का हानेका छन्
तिम्रै अस्मितामा तिम्रै यौवनमा
दाउ हानेका छन्
अन्नपुर्ण ! तैपनि तिमि मौन छ्यौ
कतै त केही खट्किएको छ
सृष्टिमा कहीं केही त नमिलेको छ
न्यायकी देवीको पट्टि खुल्न बाँकी छ
स्वयम्भूका आँखा टाँस्न बाँकी छ
अन्नपुर्ण ! गाजलु तिम्रा आँखा सजाउन बाँकी छ |
(स्रोत : Nepalpati)