~मधु माधुर्य~
माटो “पानी ! पानी !!…..” भनेर छटपटाएको बेला
उ नहर कुलोहरु भएर बगिरहेको हुन्छ
बिछोडको दु:खद घडीमा
वारी र पारीको ह्र्दय जोड्न
उ पुल बनेर तेर्सिरहेको हुन्छ दोभानहरुमा
लाम लागेर हमेशा दौडिरहन्छन्
मान्छे र गाडीहरु छाती भरी
उ चाप सहेर चुपचाप सडक पल्टिरहेको हुन्छ
थाकेर प्रकृति मस्त निदाएको निस्पट्ट रातमा
अन्धकारको साम्राज्य भत्काउंदै
उ बत्ति बनेर उज्यालो सल्किरहन्छ
संगालेर असीम प्रेम
मनभित्रको बांंधभरी
बस्तीको कण्ठतिर्सना मेटाउन बगिरहन्छ
अन्तिम थोपासम्म बगिरहन्छ
पाटपूर्जा अनि इलेक्टेनमा क्षत बिक्षत पारेर आफ्नो मन
कम्प्युटरसँग प्रतिद्धन्द चर्काईरहन्छ
अन्तरीक्षको असीम फैलावट नाप्न
शुन्यता पारी पारी उड्न सक्छ उ रकेट सरी
वा धर्तीको गहिराई नाप्न
समूद्रको पीँध मुनी गहिरीन सक्छ उ
जीवन आफैंमा बिडम्बना हो कि कसो ?
ओत लाग्ने ओढार नभए पनि
उस्को गगनचुम्बी भवन ठडिन सक्छ
उस्को मन खाली तन टकटक्याउँदै
श्रीमती खोल्न सक्छे आफ्नो मन
“कहिले हुने हो पदोन्नती….? कहिले हुने हो ओभरसियर ? ”
समष्टिमा उ पर्यो सानो श्रष्टा !
ताने पनि नताने पनि व्हिस्कि-वियर
समष्टिमा उ हो इन्जिनियर ! इन्जिनियर !!
मास्को जून १०,२००१
(स्रोत : Freenepal)