~युयुत्सु शर्मा~
‘अब एउटा घर बनाउनुपर्यो छोरा
जागिर खोज
घरमा काम गर्ने बुहारी चाहियो
दुलहीहरू खोज
एउटी तिमीलाई
एउटी भाइलाई ।’
चिनियाँ भाँडामा बिरालालाई
बासी रोटीका टुक्रामाथि
तातो चिया खन्याउँदै
र,
त्यसमा झम्टिन खोजिरहेका
कुकुरहरूलाई गाली गर्दै आमा बर्बराउनुहुन्छ ।
आमाका शब्दहरू
मेरो स्तब्ध मुटुको पीरो सतहमा
बिस्तारै खस्छन् ।
‘इँटाको घर बनाउन
अब मिहिनेत गर्न सकिँदैन बाबै,
जीवनको दैलोमा
स्वर्गबाट झर्ने भगवान्का शब्दहरू पर्खंदै
टाढा कुवाबाट पानी ओसार्न सकिँदैन,
थाहा छ ?
अस्ति कुवा नजिकैको फोहर खाल्डामा
म पछारिएँ
बूढी भइयो र कमजोर पनि ।
बाबु, जागिर खोज
घरमा काम गर्ने बुहारी पनि चाहिन्छ
दुलहीहरू खोज
एउटी तिमीलाई
एउटी भाइलाई ।’
प्रकाशित: भाद्र २५, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )