~प्रणिका कोयु~
“तँलाई,यसरी नै पुगोस् यही हेर्न पाउँ”
यो आशिर्वाद होइन आक्रोश हुन्
मेरा जानीफकारका
म झर्कन्छु, रिसाउँछु, कराउँछु
खाना खाँदा मुन्टो निहुराउँदिन (उनिहरूले जस्तो)
ठाडो शिर पारेर हातलाई नै तन्काएर
मुख भित्र गाँस लाउँछु
उनीहरूले जस्तै म रीस बाँध्दिन
ङिच्च हाँस्दिन
नजर हटाउँदिन
बरू थपडी मार्छु
बेफिक्री हाँस्छु (हाँसो कसरी सानो आवाजमा हुन्छ?)
मनमा कुरा राख्दिन
तररर आँशु झार्छु
प्याच्च-पुच्च भन्छु
मन नपरे गनगन गर्छु
मनपरे अँगाल्छु
त्यसैले उनीहरू ममात्तिएको देख्छन्
पात्तिएको देख्छन्
गतिछाडा देख्छन्
मलाई बिहोरा नभएको आइमाई भन्छन