कथा : जुलिया

~राजु पुडासैनी~Raju Pudasaini

फेब्रुवरी ११ को साझँ ।अद्रकवाले चाय पिउन पुस्ताकालय बाहिर निस्किएं । छेउको स्टल नेर गएं। प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसें । भाइ एक चाय देना ! जिउ तन्काएं । हाइ गरें। पत्रिका पढेझैं गरें।

यताउति मन डुलाएं। चस्मा निकालेर आखाँ मिचें ।म छेउमै पावरवाला चस्मा लगाएको एउटा साउथ् इन्डिएन प्रौढ हातमा पहेलों–पहेलों रंगको किताब च्यापेर चिया पिइरहेका थिए । मेरो ध्यान उनको हातको किताब मा खिचियो ।

म बोलिहालें– अंकल जी वो आपका बुक देख् सक्ता हूँ क्या? एकछिन अकमकिए झै – हाँ देखो देखो ! बोले उनि । बाइबल रहेछ । मराठी भाषामा लेखिएको । म मराठी केहि बुझ्दिनथें , हास्दै फिर्ता दिएं। उनले पुस्तक समात्दै गर्दा बाइबल बाट पट्याएर राखिएको दुइ तीन कापीको पन्ना भुइँमा खस्यो । उनले थाहा पाएनन् । मैले भनिनँ। म गतिलो मान्छे कहा हूँ र ? उनि पैसा तिरेर हिडे। मैले घुटुक्क चिया निलें । सेलाइसकेको थियो । छ रुपे पुग्ने गरि प्याँटको दुबै खल्ती बाट सिक्का बटुलें । तिरें । त्यो कापीको पन्ना टिपें र पुन: पुस्तकालय छिरें ।

000

म जन्मदै अन्धी थिएं । मेरी आमा म जन्मेको दुइ साल पछि बितेकी थिइन। मलाई मेरो पापाले हुर्काएका हुन् । उनले मलाइ आखाँ देख्न नसक्ने भएकोले पनि होला एकदमै माया गर्थे ।
मलाइ उनले माया गरेको देखेर सबै चकित पर्थे। मेरो उमेरका केटाकेटीहरु मेरो आहरिस गर्दथे। मेरो पापा अस्टेरिस झ्यालखानाको प्रमुख थिए । उनि परमेश्वर लाइ मान्दैनथे। नास्तिक थिए। त्यतिबेला कमै मान्छेहरु क्रिश्चिएन थिए । चर्चहरु बिस्तारै बन्दै थिए । सम्राट क्लाउडिएस परमेश्वरसित रत्तिभर डराउदैनथ्यो । मेरो पापा आफ्नो सम्राटको अन्धभक्त थिए। राज्यको सम्राट नै नास्तिक भएर होला क्रिश्चिएन हरुका कुरा सुन्न पनि मानिसहरु डराउने गर्थे। तर परमेश्वर भन्दा ठूलो क्लाउडिएस हुन सक्दैनथो। धर्मलाइ आफ्नो शासन टिकाउने माध्यमको रुपमै भएपनि पछि बिस्तारै उ क्रिस्तानी हरुप्रति उदार हुदै आउन थालेको थियो । मेरो पापा पनि मर्ने बेला तिर परमेश्वरको नाम जप्ने भएका थिए।

अहिले जस्तै घोडा चढ्नेहरु को जताजतै वाहवाही हुने गर्थो । ठुल-ठूला ओहदाका सैनिक हरु , सम्राटका नोकर हरु ले मात्रै घोडा चढेर हिड्न पाउछन्। मेरो पापा पनि क्लाउडिएस को सच्चा दास थिए। उनको पद पनि ठूलै भएर त होला नि हाम्रो घरमा पनि घोडा थियो । पापा मलाइ घोडा मा राखेर घुमाउने गर्थे। मेरो पापा अरुको लागि जति नै क्रुद्ध र खराब भए पनि मेरो लागि असल थिए। छोरीलाइ पुरुषहरुको मनोरंजनको साधन मानिन्थो । म आफै पनि आफूलाइ यस्तै मान्दथें। समाजमा बहुविवाह अहिले भन्दा पनि बढि प्रचलित थियो । एउटै पुरुषको घरभित्र र बाहिर सयौँ स्वास्नी हुन्थे । महिला हरु व्यभिचार गरेको आरोपमा निर्मम सजाय पाउथे। मारिन्थे । अहिले पनि समाज त उस्तै त छ । तर म सानी हुदा त यो भन्दा पनि बढ्ता थियो । अहिले एउटा पुरुषले दशौँ स्वास्नी बनाउछन् ,त्यो बेला त सयौँ बनाउथे। केहि पनि परिवर्तन भएको छैन यो ४०-५० वर्षमा पनि ।

ईसापूर्व २३५ मा रोमन सम्राट अलेक्जेन्डर सेभेरस लाइ उनकै सेना ले मारेको थियो । त्यसपछि सम्राटहरुमा त्रास र अविश्वास बढ्दै जान थालो । शंका-उपशंका , आरोप प्रत्यारोप बढ्दै जादा आफ्ना ले आफ्नैलाइ मार्न थाले । बाउले छोरालाइ , छोराले बाउलाइ । सम्राटहरु आफ्नो शक्ति बढाउन हुने-नहुने काम गर्न थाले । सैनिकलाइ घुस् खुवाउने , निकै सिक्का, गहना दिने जस्ता अनैतिक कामको सुरुवात त्यहीबेला बाट शुरु भो । भ्रष्टचार एकदमै मौलाउन थाल्यो । राज्य को सम्पति कम हुदै जान थाल्यो । रोमन साम्राज्य को दुर्दशा सेभेरसको हत्या पछि चुलिएको हो । ईसापूर्व २५८-२६० को बीचमा रोमन साम्राज्य तीन टुक्रामा विभाजित भयो । गौल, ब्रिटानिया र हिस्पानिया मिलेर गालिक राज्य बन्यो । सिरिया प्लालेस्टिना, इजिप्टस मिलेर पल्मिरेने राज्य बन्यो । अर्को इटाली राज्य भैगयो। यो बिचमा विदेशीको हमाला पनि हुन थालेको थियो। अनेकौ सक्रांत्मक रोगहरु फैलिन थाले । भोकमरी शुरु हुन थाल्यो । राज्य मा आर्थिकमन्दी नै लागेको थियो । परिवार-परिवारको बिच र परिवार भित्र कलह हुन थालेको थियो । आफै बाट छुट्टिएका राज्यहरुको लडाइ मा गालिक राज्यको सम्राट क्लाउडिएस द्वितीयले विजय हासिल गरें र पुन: रोम माथि शासन गर्न थाले । तैपनि हत्या, आतंक, दंगा रोकिएको छैन । टुक्रिएको राज्य मिलिसकेको पनि छैन । पर्सियनहरु को हमाला बढ्दो छ । हाम्रो सम्राटको विरता लाइ तिनीहरुले चिनेकै छैनन् । पापा मलाइ सुनाउने गर्दथे । मलाइ चासो लाग्थो यस्ता कुरा सुन्न । मेरो पापा आफ्नो सम्राटको बारे अनेकौ किस्सा सुनाउने गर्थे । म सुनिरहन्थे र पापालाइ प्रश्न सोधेर हैरान पार्थे । अन्धी भएकोले मलाइ पापा आफु सितै कार्यलय लैजान्थे । झ्लालखानाका कैदि हरु सित कहिलेकाही म कुरा पनि गर्दथे ।

एकदिन कैदिहरु मध्ये एउटा कैदिले मलाइ सोध्यो – तिम्रो नाम के हो सुन्दरी? मैलै नहिच्किचाइ भनें- जुलिया । तिम्रो नाम तिमी जस्तै सुन्दर रहेछ । उस्ले भन्यो । उसको यति बोलीले मलाइ नौलो महसूस भयो। कति मिठो बोलेको त्यसले। मैले त नाम सोध्नै बिर्सेछु। घरमा पनि उसकै आवाज सुनिरहें जस्तो लाग्थो । मलाइ आखाँ देख्न नसकेको मा पहिलो पटक अति नै दु:ख लाग्यो । उसित बोलेको रात म अन्धी हुनुको दु:खले जति रोएं त्यो भन्दा बढि त रात कहिले बित्ला र झ्यालखाना जाउला भनेर तड्पिएं । भोलिपल्ट हाम्रो कुरा हुन सकेन । उसको बारेमा कसैलाइ सोधुं भने नाम पनि थाहा थिएन। म यत्तिकै तड्पिरहें।

सबै कैदि हरु कसैको कुरा इज्जतका साथ सुनिरहेका थिएं । ‘स्त्रीहरु पुरुषको सहयात्री हुन् । उनिहरुलाइ प्रेम र सम्मान दिएर बाचीहेर तिमीहरुलाइ परमेश्वरले खुसी नै खुसी दिनेछन् ।’ कोहि मिठो स्वरमा कैदिहरुलाइ सुनाइरहेको थियो । त्यो स्वर मलाइ वर्षौ देखि परिचित स्वर लाग्यो । स्वयं परमेश्वर नै बोले जस्तै लाग्यो । उ कति मिठा -मिठा सुनिरहुँ लाग्ने कुरा गरिरहेको थियो ।मेरो पापाले धेरै नबोल भनेर हकार्नु भो । उ एकछिन चुप लागे झै गर्यो र पुन: नडराइ बोल्न थाल्यो । म उसको कुरा र स्वर बाट यति प्रभावित भएं कि बर्षौ-वर्ष उसकै आवाज सुनेर एकै ठाऊं बस्न सक्छु जस्तो लाग्थो ।

मैले पापालाइ सोधें- त्यो तपैको पनि डर नमानी बोलिरहने मान्छे को हो ? त्यसले के अपराध गरेर झ्यालखानामा लेराको ?’

त्यसले ठूलो अपराध गरेको छ । सम्राट क्लाउडिएसको आदेश मान्नुको साटो उल्टो विरोध गर्दै हिडेको छ । मर्ने काल आएपछि मान्छेको दिमाग भड्किन्छ । त्यसले राजाज्ञा तोडेर केटा-केटीको विवाह गराइदिदै हिडेर आफ्नो काल छिट्टै निम्तायो । तेरै उमेरको छ होला त्यो । बहुलाहा केटो। छिट्टै मृत्युदण्ड पाउछ त्यसले ।

पापा हास्नु भयो ।’पुरुषले एउटै मात्रै केटि विहे गर्नु पर्छ रे । अन्य स्त्री लाइ नराम्रो नजरले हेर्न पनि हुन्न रे ! एउटा पुरुष ,एउटा स्त्री विहे गरेर जीबन बिताउनु पर्छ रे । हेहिहा ! पुरै बौलाइसक्यो त्यो । मर्छ अब छिट्टै।

पापा सित मलाइ रिस उठ्यो । उसले भनेको कुरा छन त कसैले मान्ने खालको थिएन। पुरुषहरु एउटै स्त्रीसित मात्रै कसरि जीवन बिताउन सक्छन् ? कस्तो हुनै नसक्ने कुरा गरेको त्यसले? तर मलाइ यि कुरा अजीबको लाग्न थाल्यो । साच्चीकै यस्तो हुने हो भने त कति राम्रो हुन्थ्यो होला !

निकै पछि उ सित मेरो कुरा भयो । उसले – म सित पानी मागेको थियो । पापाले थाहा नपाउने गरि मैले पानी दिएको थिएं । ‘म परमेश्वर सित प्रार्थना गर्छु ,प्रभुको विश्वास गर एक दिन तिमी देख्न सक्ने हुनेछौ ।’ उ बोल्यो र पानी पियो । उसको घाँटी पानी पिउदा क्लिकक्लिक बजेको थियो । मलाइ त्यो अपूर्व मिठो संगीत लाग्यो। त्यो आवाज आज पनि मेरो कानमा गुन्जीरहन्छ । उसले धन्यवाद भन्नु अघि नै मैले सोधें- तिम्रो नाम के हो ??

भ्यालेन्टिन ।

पादरी भ्यालेन्टिन!

यो नामको त चर्चा पहिल्यै सुनेको थिएं । सैनिकहरुले थाहा नपाउने गरि राती राती चर्चमा युवा- युवतिको विवाह गराइदिने गर्छ रे यो पादरी। परपुरुषगमन र परस्त्रीगमनको विरुद्ध सबैलाइ बुझाउदै हिड्छ रे! बहुविवाह गर्नु पाप हो । परमेश्वर त एउटै विवाह गर्ने सित खुसी हुन्छन् र सुख समृद्धी दिन्छन्; भन्छ रे । उसलाइ भेट्ना साथ सैनिकले पक्डिन्छन् रे । क्लाउडिएस् उ सित अति नै रिसाएका छन् रे । मैले सुनेको थिएं।

म अन्धी भएकोले मलाइ कसैले बिहे गरेका थिएनन् । त्यस्तै २५-२६ वर्षको भइसकेको थिएं म।बेला बेला बिहे गर्ने रहर त लाग्थो। आफ्नै संगीहरु को बच्चाहरु ठुलठुला भइसकेका थिए। उनिहरु लोग्ने सित हुने रात्रिक्रिया पनि सुनाउथें ! म सुनेर नै उत्तेजित हुन्थे र आफ्नो बिहेको कल्पना गरिबस्थें। मेरो दिमागमा भ्यालेन्टिन बसिसकेको थियो । पछि पछि म उ सित बिहे भएको कल्पना गर्थे ।

झ्यालखानामा हाम्रो दिनहुँ कुरा हुन थालेको थियो । म पापा बाहिर तिर गएको बेला पारेर उसलाइ आफ्नो खानेकुरा दिन्थें । पानी दिन्थें। उ मेरो साथी भइसकेको थियो । उसको कुरा अनौठो हुन्थो। बातै पिच्छे उ परमेश्वरको नाम लिन्थो । व्यभिचारी स्त्री र बहुस्त्रीगामी पुरुषलाइ उ घृणा गर्दथो । प्रेम को बारेमा मिठा कुरा गर्दथो । म उसको कुरा मा निकै डुबिसकेको थिएं। म उसलाइ माया गर्न थालेकी थिएं ।

राज्यमा अशान्ती मच्चिरहेको थियो । सेनामा दिनहूँ भर्ति खुल्थे । सबै युवालाइ सैनिक बनाएर युद्धमा पठाइन्थो । क्लाउडिएस ले बिहा गर्न प्रतिबन्ध लगाएको थियो । बिहा गरेपछि परिवार ,श्रीमती र सन्तान को मायाजाल मा फसेर आफ्नो सैनिक हरु युद्धमा जान नमान्ने र मर्न-मार्न नसक्ने हुन्छन् भनेर उसले कडाइका साथ केटा -केटी भेट्न पनि नदिने उर्दि जारी गरेको थियो । उसको यो आज्ञा प्रजाहरुलाइ मन परेको थिएन । भ्यालेन्टिनले उसको यो उर्दीको विरोध मात्रै गरेन । निकै युवा-युवति को परमेश्वर साक्षी राखेर विवाह पनि गराइदिएको थियो । यो कुरा कसैले क्लाउडिएस सम्म पुर्याइदियो र उसलाइ पक्डेर झ्यालखानामा कैद गरिएको थियो ।

इसा पुर्व २६९ फ्रेब्रुअरी १३ तारिक थियो त्यो दिन। पापाले सुनाए- भोली भ्यालेन्टिनलाइ मृत्युदण्ड दिदै छ । यो सुन्ना साथ मलाइ रिगंटा लाग्यो । म बेहोस भएर ढलेछु। होस आउदा म कुनै वैध- चिकित्सकको आश्रम मा थिएं । चमत्कार त के भएको थियो भने म देख्न सक्ने भएको थियो । म पहिलो पटक पापा लाइ देखिरहेको थिएं। मेरो होस् आउदा पापा निकै खुसी हुनुहुन्थ्यो । मैले देख्न सकेको कुरा ले पापा निकै खुसी हुनुभयो ।चिकित्सक ले मेरो आखाँ पनि ठिक पारिदिएकोले पापाले उसलाइ निकै सिक्का दिनुभएको थियो । घर आउदा रात हुन लागेको थियो । मैले भ्यालेन्टिन लाइ सम्झिएं। आखां देख्न सके पनि मलाइ संसार अन्धकार लाग्यो । मेरो सबै खुशी एकाएक हराए। म रुन थालें । मैले उसित छउन्जेल आखाँ देखिनं , जब आखाँ देख्न सक्ने भएं मेरो भ्यालेन्टिनलाइ मारिइसकेको थियो । वर्षौ पछि पाएको दृश्य मलाइ रगंहिन लाग्यो । जन्मेपछि को २६ सालसम्म म अन्धोपना मै अभ्यस्त भइसकेको थिएं । आज देख्न सक्ने भएर पनि म केहि देख्न नसक्ने भएको थिएं। मैले देखें त सिर्फ़ सन्नाटा र अन्धकार ! म फेरी कहिल्यै उज्जालो देख्न नसक्ने अन्धी भएं।

निकै पछि म पापा सित झ्यालखाना गएं । एउटा कैदि ले मलाइ एउटा कागज दियो। भ्यालेन्टिनले मलाई दिनु भनेको थियो रे। म अक्षर चिन्दिनथें । त्यो चिठ्ठीका अक्षरमा के लेखिएको थियो थाहा पाइन तर मलाइ त्यसमा प्रेम नै प्रेम लेखिएको छ जस्तो लाग्यो । मेरो भ्यालेन्टिन कस्तो थियो होला ? पक्कै उसको आखाँ चहि यहि अक्षर जस्तै थियो होला। बोलिरहे झै लाग्ने ! मलाइ नि हेरिरहे झैं लाग्ने ! त्यो चिठ्ठीका प्रत्येक अक्षर लाइ चुम्बन गरे मैले । मेरो भ्यालेन्टिन अक्षर बनेर कागजमा हासिरहेको थियो ।

कागतमा बसेको भ्यालेन्टिनलाइ कसैले नदेखोस् जस्तो लागेर मैले कसैलाइ पढ्न लगाइन त्यो चिठ्ठी। पापासित जिद्दी गरेर अक्षर सिक्न थालें। राम्रो सित अक्षर पढ्न सक्ने हुदा एक साल बित्यो । भ्यालेन्टिन को एक एक कुरा सम्झिदै भक्कानो फुटिरह्यो मेरो । तर प्रेमपत्रमा अक्षर बनेर मेरो प्रिय भ्यालेन्टिन बाचेको छ जस्तो मानेर चित्त बुझाएं।

ठिक एक साल पछि फ्रेब्रुअरी १४ मा म उत्तरी भेगको रोम नदि छेउ गएं। पत्र बोकेर । मिल्भिएन पुल को छेउमा उसको सव गाडिएको थियो । त्यहि पुगें ।र उसको चिहान मा एउटा रातो गुलाब चढाइदिएं । भुइँमा शरिर मिल्काइदिएं । भावविभोर भएर छाति पिटि-पिटि आशु बगाएं। उसको पत्र पढ्न भनेर साँचेको दिन थियो । पढें।

प्रिय जुलिया ,

तिमीले आखाँ देख्न सक्नेछौ एक दिन । मलाइ परमेश्वर माथि भरोसा छ । म मेरो अन्तिम समय मा पनि उहाँ सित तिम्रो लागि प्रार्थना गर्नेछु। मर्ने बेलाको अन्तिम इच्छा त परमेश्वरले अवश्य पुरा गर्दिनेछन् । मैले तिमीलाइ एकदमै मन पराउथें । म परमेश्वर र आफुलाइ जति माया गर्छु त्यो भन्दा पनि बढि त तिमीलाइ गर्छु। मलाइ थाहा छ तिमीले पनि असाध्यै माया गर्छौ। जुलिया! मलाइ विश्वास छ मेरो यो पत्र तिमी आफ्नै आखाँले पढ्नेछौ ।

प्रेम को कुरा गर्नाले , प्रेमपूर्ण एउटै विवाहको पक्ष लिनाले , शासकहरु मलाइ मार्दैछन् । तर प्रेम लाइ कसैले मार्न सक्दैनन् । स्त्रीपुरुष परमेश्वरको महान् सृष्ट्री हुन् ।यिनीहरुको प्रेम लाइ कुनै सम्राटले निषेध गर्न सक्नेछैन।

जुलिया , प्रेमलाइ आखाँले देख्न सकिन्न। यसको महशुस हृदय मा ,श्वासप्रश्वास मा भइरहन्छ । म पनि तिम्रो हृदयको प्रेम हुँ जसलाइ आखाँले देखिन्न, त्यसकारण मलाइ देख्न नपाएको मा दु:खी नबन। म यहि प्रेमपत्रमा बसिरहेको हुनेछु।

तिम्रो भ्यालेन्टाइन ।

००००००००००

म चेतशुन्य भएछु। एउटा दुर्लभ कहानी पढें भन्ने पत्याउन गाह्रो भइरहेको थियो । तेस्रो शताब्दीको त्यो प्रेम कहानी अंग्रेजी भाषामा उल्था गरिएको थियो । यि पाना हरु त्यो प्रौढलाइ नदिएकोमा आफैलाइ धन्यवाद दिएं । रुममा फर्किदा ट्रेन भरि म भित्र अनेकौं खयाल आइरहे । तेस्रो शताब्दी देखि अहिले एक्काइसौं शताब्दी सम्म त्यहि प्रेम र प्रेमी को सम्झना मा मनाइदै आएको प्रणय दिवस प्रति आस्था पैदा भयो म भित्र।

कुमरी -७, नुवाकोट ,नेपाल
हाल : मुम्बै ,महाराष्ट्र,भारत

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.