~चन्द्र गुरुङ~
आँखाहरू बन्द छन्
अनुहारभरि फैलिएको छ मौनता …
एक खुट्टामा उभिएर
ध्यानमग्न छ बकुल्लो ।
कति शान्त
कति सौम्य
कति शालीन
र, भद्र अनुहार ।
कुनै
तपस्यालीन साधु जस्तै
भजनको संगीतमा डुबेको भक्त जस्तै
मस्त आत्मा जस्तै ।
अभ्यस्त छौ
साथको अभिनय गर्न
गहिरो मित्रताको नाटक खेल्न
सद्भावको ढोँग रच्न ।
तर,
धेरै पटक देखेको छु
तिमीले ओठमा बोक्रे मुस्कान उमारेको
झारेको गोहीको आँसु
चुपचाप उभिन्छौ
मनमा कपटपूर्ण जाल बुन्छौ
पर्खी बस्छौ मायाप्रेमको आकाश फिँजाई
आफ्नो आहारा छोप्न ।
जहिले देख्छु
तिम्रो मुखमा कुनै निर्दोष रगतको छिट्टा
छट्पटाइरहेको कुनै अभागी जलचर ।
र,
हेर्दाहेर्दै
भर्खर, तिमीले चेप्न भ्यायो आफ्नो तेजधार चुच्चोमा
एउटा निर्दोष माछो !