कविता : अपिल: अर्जुनहरूलाई !!

~नारायण रेग्मी~ Narayan Regmi

हे अर्जुनहरू हो !
बन्द कोठामा, आफ्नो महत्वाकांक्षाका खातिर
नदिपारीको बस्ति नदेख्ने केहि धृतराष्ट्रहरू
प्रदेशको सीमांकन र नामांकनका नाममा
बन्धुहरूलाई लडाईरहेछन्,
भाईचारा भत्काई रहेछन्,
शान्ति र सद्भाव बिथोलीरहेछन्,
फगत!
आफ्ना आसेपासेको भबिष्य सुरक्षित गर्न।१।

खुला चौरमा, आफ्नै अभिमानको रक्षाका खातिर
डाँडामाथिको बस्ति नदेख्ने अरू केहि धृतराष्ट्रहरू
स्वायत्तता र पहिचानको नाममा
भातृबध गर्न उक्साईरहेछन्
मेलमिलापको डोरी चुँडाईरहेछन्
“सर्बेभवन्तु सुखिन” को मान्यता तोडिरहेछन्
फगत!
आफ्नो सन्ततिको भबिष्य सुरक्षित गर्न।२।

आफ्नो महत्वाकांक्षा र अभिमानको चौघेरोमा
पट्टि बाँधेका आधुनिक धृतराष्ट्रहरू
आफ्नै दाजुभाईको काटमारमा
झुठ्ठा आश्वासनका अग्निगृहको रचना गरीरहेछन्।३।

कुर्सीमोह त्याग्न नसक्ने आधुनिक धृतराष्ट्रहरू
स्रोतसाधन र अधिकारको रजाई किन छोड्छन्?
नाताबाद भन्दा माथि नउठ्ने यी
कसरी नागरीक हक प्रदान गर्छन्?
गणेशप्रथाका संरक्षक यी
किन स्वाधिनता र स्वतन्त्रता दिन्छन्?
बिद्रोह र बिनासको रासलिलाका रचयिता यी
कसरी शान्ति र स्थायीत्व दिन्छन्?
अहंकार र आत्मरतिमा रमाएका यी
कसरी बिकासको सर्जक बन्न सक्छन्?
आफ्नै पहिचान नभएका यी
कसरी तपाईंको पहिचान संरक्षण गर्छन्? ।३।

तर, दुखको कुरा
धृतराष्ट्रहरूले सपना देख्न छाडेका छैनन्
किनकि!
हामी आफै शकुनिका पासा स्विकार्छौं
आफ्नै दाजुभाईलाई भाला रोप्छौं
दिदीबहिनिको बदनाम गर्न तत्पर हुन्छौं
बिबेकलाई बन्धक राखेर धृतराष्ट्रहरूका आश्वासनमा मोहित हुन्छौं
आफ्ना पराया छुट्याउन सक्दैनौं
अनि, उनिहरूकै सपना मजबुत बनाई रहन्छौं। ४।

जब सम्म धृतराष्ट्रहरू बनबास जाँदैनन,
तबसम्म हामिले आफन्तको मृत्यू हेर्नै पर्नेछ
ठूलो भक्कानो सहित, आँशुको भेल बगाउनै पर्नेछ
प्रतिदिन लाशको गन्ति गर्नै पर्नेछ
नाबालकको भबिष्य समाप्ति सहनै पर्नेछ।५।

हे अर्जुनहरू हो!
सद्भाबको बिगुल फुकेर
आत्मीयता सहितको एकताको लागी
शकुनिहरूका कुटिल चालबाट मुक्तिका खातिर
धृतराष्ट्रहरूको महत्वाकांक्षाबाट छुट्कारा पाउन
आफ्नो आँगन र आकाश दुबैका लागी
गौरब र गाथा दुबैको रक्षा , अनि
भातृत्व र भाइचाराको दिर्घायूका लागी
धृतराष्ट्रहरूका चौर बहिष्कार गर्नोस्
उनिहरूको आदेशको उलंघन गर्नोस्
उनका लिखतप्रति बेवास्ता गर्नोस
उनिहरूका खातिर आफ्नो बिबेक नगुमाउनोस
सद्भाव, मेलमिलाप र सहमतिको आवाज बुलन्द गर्नोस
लड्नै परे, निर्धा र अबोध नागरीकसँग होईन
आधुनिक महाभारतको युद्ध लड्नोस्
जहाँ दुर्योधन, शकुनि र धृतराष्ट्रहरू पहिलो निशाना बनुन् ।६।

(स्रोत : Nepalpati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.