~दिपा राई पुन~
तिम्रो सपनाको कित्तामा
आत्मा ज्योति बलोस साँझ बिहान
प्रेमील आस्थाको बिश्वास
सार्थक रूपमा फुलोस
मनको कामनाको बिस्कुन
ढुकढुकीले लेखेको अक्षर
तिम्रै नाममा खामबन्दी छ
जीवन बग्ने नागबेली किनारमा
मेरो पनि रहरको एउटा मुल छ
त्यो पनि तिम्रै तिर बगिरहेछ
तिम्रो सपनामा खुशीको बर्षात हुँदा
म पनि रूझ्न सकू हर्षको आभाषले
तिम्रो अनुभूतिहरूमा रमाइरहू
अभिन्न बनेर हृदयमा प्रज्वलित हौ
म जीउने श्वास भरू
तिम्रो सामिप्यताको प्राप्तिले
जीवनको इन्द्रेणी सबै भेटु
समयको निर्दोष तिम्रो अनुहारमा
मेरो सपना ब्यूतेको देख्छु
अर्धमृत सपनाहरू
जुलुस गर्छन् बाँच्ने चाहमा
शिखरमा पुग्नु छ भन्छन्
आँखाहरू छछल्किन्छ त्यो बेला
तिम्रो सपना आँसुले नझारोस भनि
म एक घुट्कामा सागर पिउँछु
तिम्रै मायाले या आफ्नै मायाले
माटो र राष्ट्रिय मोहले
परिस्थितिको तारे भीरमा
उकालै चढाउँछ तिमीलाई
लगन र परिश्रमको बुकी फूल
मगमगाउँछ तिम्रो बोलीमा
म देउरालीमा आँसुको फूलपाती चढाएर
समयको चाप र बिबशताको रापमा
पिल्सिंएर हिडेको मेरो पदचापहरू
ढोगेर शान्त हुँदै
पाइतला तिमीलाई सुम्पिदिन्छु
पुरातन बिचारको जर्जर मनस्थिति
उखालेर फ्याक्नलाई
मेरो हातहरू लैजाउ
तिमीलाई मन पर्ने मुस्कान
तिम्रै पसिनाको ताज महल
हेरिरहने यी आँखा
बतास जस्तो पच्छाइ रहने
दुख र कष्टहरू
छेल्नलाई काम लाग्ने मेरो छाति
सुम्पन्छु सबै तिमीलाई नि:शब्द
पहाड र पहरा जस्तो
सिमेन्टको जड्गलमा
पदार्थ बनेको भावनाहरूलाई
आठौ आश्चर्य हुन अगावै
मेरो सुकोमल मन
तिम्रै मुटुको दलिनमा राख
तिमी सितै म बाँच्न चाहन्छु
तिम्रै प्रतिरूप भएर
तिम्रो सपनाको साकार धरातलमा
म जीवनको स्व:निर्वाण प्राप्त गर्छु।
(स्रोत : Janaboli )