~प्रवीण खड्का~
हिजो जस्तै,
बिहानै सूर्य उदायो ।
दिनहरु निरन्तर बितिरहे
घाम र जुन बनेर |
समय घुमिनै रह्यो
आफ्नै रफ्तारमा।
तर,
लेखेर गयो केही नयाँ इतिहास
र मेटिदियो पुरानाहरु ।
भारी भएर थिचियो मन
जहाँ भक्कानो छोड़ेर
रोई रहेछ मेरो देश
कम्पन र पराकम्पनको अंक गणितमा
झन झन कमजोर हुँदैछ ।
चर्किएका मेरा विश्वासहरु
भत्किएका मेरा आस्थाहरु
मुचुल्का नउठाइ सनाख़त गरिदिन्छु म।
ऐठन हुन्छ मलाई,
भूमण्डलको अर्को कुनामा उछिटिएको “म”
गनिरहेछु आफ्नाका लाशहरु
पुछ्न सक्दिन अबिरल बगी रहेका आँशुहरु
सक्दिन थाम्नलाई काँपेका कापेका हातहरु
घुट्टन बढ्दछ यहाँ
जब आफ्नाहरु पराई हुन्छन्
पराईहरु आफ्ना बनेर हातेमालो गर्छन् |
भुलेर रंग अनि माटो
खनि रहेछन् थुप्रिएका भग्नावशेषहरु
आशाको झिनो डोरीमा बाँधिएर
चलि रहेका होलान् कति जीवनहरु माटोमुनि।
जीवन गरिरहेछ संघर्ष
खुल्ला आकाशमुनि बसेर पनि
अर्ध निन्द्रा निदाएर
खाएर आधा पेट, मेटेर आधा भोक
सुमसुमाइ रहेछन् आफ्ना जस्तै घाऊहरु
लाखौँ लाखौँका।
अनिश्चितता बोकेर छातीभरि
लागिरहेछन् बीर बहादुरहरु
सम्हाल्नलाई चर्किएको देश
बनाउनलाई भत्किएका घरहरु।
यी कम्पनहरुले
सुन्धारा मात्र ढलाएन
ढलायो गगन छुने महलहरु
गाउँ मात्र रुवाएन
रूवायो सहरका बस्तीहरु
लग्यो हजारौ सपनाहरु
खोसिदियो सहारा कत्तिका।
संग सँगै सिकाएर गयो
जिन्दगीको क्षण भंगुरता
प्रकृतिको शक्ति !
र
चिनाएर गयो
मर्दाका मलामीहरु
देश हाँक्ने हरामीहरु !!
हाल: बाल्टिमोर,अमेरिका |
(स्रोत : KhabarChitwan)