निबन्ध : बुद्धिविलास !

~विमल आचार्य~bimal-acharya

एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए। उनी प्राय: आइरहन्थे। आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन्। केही काम छैन तिनको। सप बक्वास !’

लेखपढको हाम्रो लघु संसारमा मार्टिन चौतारी धेरैलाई थाहै छ। थाहा नहुनेका लागि औपचारिकतावश कुरो गरौँ (थाहा हुनेले यी दुई अनुच्छेद नपढ्नुहोला)। मार्टिन चौतारी २४ वर्षभन्दा बढी समयदेखि निरन्तर गफ गरिरहेको ‘वक्ताहरूको गफाडी कुनो’ हो। मिडिया शोधको मियोमा सामाजिक–आर्थिक, राजनीतिक, ऐतिहासिक, वातावरणीय, शैक्षिकलगायत अनेकन् विषयमा विमर्श, शोध, शोधप्रशिक्षण, शोधपत्र प्रकाशन, सोचपत्र प्रकाशन, पुस्तकालय सञ्चालन गरिरहेछ।

सन् २००६ देखि बर्सेनि निस्किरहेको मिडिया अध्ययन र सन् १९९६ देखि अर्धबर्सेनि निस्किरहेको स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी जर्नलका सम्पादक पनि चौतरियाहरू नै हुन्। आधिकारिक र वैधानिक ठानिँदै आइएको ज्ञानबारे प्रश्न गर्नु र नवप्रस्थापना अघि सार्नु उसको ‘पहिचान र सामथ्र्य’ हो। मेरो घरगाउँको वरपीपल चौपारीझैँ यो चौतारी पनि ज्ञानको उपभोग र उत्पादन अनि विनिमय र वितरण तथा संग्रहण गर्ने श्री कुलपतिज्यूबिनाको गैरठेकेदारी संस्था हो।

चौतारीले खुला कचहरी नचलाएको सामाजिक विषय पत्ता लाउनेलाई पाँचै करोड इनाम दिने घोषणा गरे पनि त्यो पैसो महत काकाको पुँजीगत बजेटझैँ फ्रिज हुने सम्भावना छ। त, यही संस्थाका कामलाई गाली गरे ती जवानले। गफ गर्नु, छलफल गर्नु, बहस गर्नु, प्रश्न गर्नु, अन्तरक्रिया गर्नु, ‘रिसर्च सेमिनार’ गर्नु, समीक्षा र समालोचना गर्नु, पुस्तकालय चलाउनु, शोध गर्नु–लेख्नु–पढ्नु–छाप्नु, बिब्लियोग्राफी बनाउनु–छाप्नु, लेखनलाई टीका–टिप्पणी र लेखकलाई घोचपेच दिनुु, स्वनामधन्यहरूलाई बोलाएर उल्लीबिल्ली पार्नु इत्यादि (जे चौतारी गरिरहेछ)लाई ‘काम गर्नु’ भनिँदैन भन्ने उनको ‘कुरा’ थियो। कुरा होइन, उनको पनि काम नै थियो खासमा।

चपाइते वा महाबौद्धिक स्टाइलमा भन्दा उनले चौतारीबारे टिप्पणी वा आलोचना गरे। तर, काइते वा झर्राे शैलीमा ट्याक्क भन्दा उनले गाली नै गरे। गाली सँगसँगै केही घोच्य प्रश्न पनि गरे। तर, प्रश्न यसरी गरे, जसरी कुनै जानिफकार गुरु जाँचकी ध्येयले चेलालाई गर्छ वा सर्वज्ञ पत्रकार ‘क्वोट’को औपचारिकता पूरा गर्न स्रोतलाई गर्छ।

त उनले आफ्नो ‘ऋषिमन’ले ऋषि धमलाझैँ प्रश्न गरे, नेपालमा गरिबीको बहस पुस्तक निकालेर गरिबी घट्छ? छापामा दलित निकालेर छुवाछूत रोकिन्छ? एक जनाले पनि नपढ्ने शोधपुस्तक निकालेर के काम? के अर्थ त्यसको? के सारा जनताको रुचि शोधमा छ? मान्छे एक छाक खान र एक सरो लाउन नपाएर मेरै घरमा तड्पिया तड्पियै छन्, तपैँहरू अनुसन्धान गरेर के नाप्नुहुन्छ? यति धेरै लाखौँ पुस्तक निकाल्ने खर्बाैं खर्ब डलर हजारौँ जनसंख्यामध्ये करोडौँ गरिबलाई दिए सयौँको जुनी फेरिने थियो होला। मलाई तपैँहरूका काम सब बक्वास लाग्छ है। कि कुरो कसो हो डाक्टसाप्?’

हप्तामा तीन दिन वा सोभन्दा बढी नै दिन अनेकन् विषयमा बौद्धिक चर्काचर्की, भनाभन, पेलापेल भइरहन्छ चौतारीमा। महाभूकम्पप्रतिरोधी कटेरोमा चकटीमा बसेर रातो चिया पिउँदै गफ सुन्न पाउनु रमाइलै हो। र, सुन्ने जोकोहीले संसारै हाँक्ने गफ दिन पाउनु अनि अन्टसन्ट प्रश्न तेस्र्याउन पाउनु पनि झनै रमाइलै हो।

त्यही ‘बुद्धिविलास’को तलतल मेटाउन ती जवान ‘पाए देशै चलाइदिन्छु’जस्तो बनी आइरहन्थे। श्रोतादीर्घाबाट उनले प्रश्न र जिज्ञासाभन्दा बेसी मबाट सुरु गरेर गन्थने आत्मकथा नै सुनाउँथे। कटेरो–कचहरीमा ढिलै छिरे पनि अन्टसन्ट प्रश्न नसोधी त कहिल्यै उठ्दैनथे। बेलगाम बोलिसकेपछि अनुहारमा ‘भित्तैमा पुर्‍याइदिएँ यसलाई पनि’ खिपेर सहभागी सबतिर नजर डुलाउँथे गजक्क परेर।

आयोजक र पण्डितप्रति उनका केही स्थायी प्रश्न थिए। जस्तो कि, ‘यत्रो दुई–दुई घन्टे छलफलको निष्कर्ष के हो? फलबिनाको छलफलको के काम? बहसका लागि बहसको केही औचित्य छैन। यस्ता बहसबाट हामीले के शिक्षा वा उपदेश लिने? कुरा मात्रै गरेर के हुन्छ? छलफलैपिच्छे जम्मा हुने औसत ३० जना जतिले दुई घन्टा श्रमदान गर्‍या भए देश कहाँ पुग्थ्यो होला? बुद्धिविलास र शब्दविलास गरेर मात्रै देश बन्ने भए संसारमा ग्रिस किन एक नम्बरी भएन? हाम्रो आवश्यकता सास टिकाउने गाँस, बास, कपास अनि सहवासको ग्यारेन्टी हो कि तपैंहरूले गर्ने शब्दविलास, बुद्धिविलास, शोधविलास, ज्ञानविलास, पुस्तकालयविलास तथा समस्त विलासै विलासै?’

प्राय: दुई घन्टा चल्ने छलफलहरू सकिएपछि बाहिर निस्केर जुत्ता–चप्पल लगाउँदै वा चिया पिउँदै वा जीउ तन्काउँदै केही बेर झुन्डझुन्डमा उभिएर गफिने कुरा हुन्छ। त्यतिबेला पनि उनी आफ्ना कुरा कसैले सुनोस्–नसुनोस् सुनाइरहेका हुन्थे। जस्तो कि, ‘यो सुन्दर देश बिग्रेको यस्तै कथित बौद्धिक गफाडीहरूले गर्दा हो। एनजीओहरू सब चोर, डाँका, फटाहा, भ्रष्ट, अपारदर्शी द्रव्यपिशाच हुन्। आफू सिन्को नभाँच्ने, अनि सधैँ अरूले भाँचेको यस्तो भएन, उस्तो भएन मात्रै भनिरहने? महोदय ! उपदेश दिनुभन्दा उदाहरण बन्नुहोस्।’

(नोट : स्थान अभावका कारण उनको सदाबहार धाराप्रवाह प्रवचन यहाँ एक तृतीयांश पनि लेखिएको छैन।)

बाप रे बाप ! ‘ऋषिमन’का उनी ऋषिपोर्टर्स क्लब नगएर चौतारी किन आउँथे, बुझिएन। जबकि, त्यहाँ क्यामेरा र कलमवाहक रिपोर्टरहरूको सधैँको खचाखच, चौतारीमा त्यस्तो केही नाइँ। त्यहाँ जस्तोसुकै कार्यक्रममा पनि ऋषिमुनि मञ्चस्थ हुनैपर्ने, चौतारीमा त्यस्तो कर्मकाण्ड केही नाइँ। त्यहाँ नेता र कार्यकर्ताको सनसनीपूर्ण हेडलाइन भाषण, चौतारीमा त्यस्तो केही नाइँ। त्यहाँ हाम्रो अति सुन्दर देश बिग्रिएको चिन्ता, चौतारीमा खराब देश सप्रिन लागेको चिन्तन। तर, उनी ऋषिपोर्टर्स क्बलमा हुने हावाविलासभन्दा चौतारीको बुद्धिविलास नै ठीक लाग्ने भएकाले यता आएको चाहिँ भन्थे।
***
वर्ष दिनपछि जसोमा उनीसँग केही कुरा गर्ने मेसो मिल्यो। केही सवाल–जवाफ :
→ तपाईं कस्तो हुनुहुन्छ भने, रत्न पुस्तक भण्डारमा गएर ‘सागसब्जी किन नबेचेको’ भनी थर्काउनुहुन्छ अनि कालीमाटी तरकारी बजारमा गएर ‘पुस्तक किन नबेचेको’ भनी थर्काउनुहुन्छ। आरोहण गुरुकुलमा गएर फिलिम हेर्न खोजेजस्तो अनि गोपीकृष्णमा गएर नाटक हेर्न खोजेजस्तो गर्नुहुन्छ तपाईं। माधव घिमिरेलाई ‘उपन्यास लेख्’ भनेर खगेन्द्र संग्रौलालाई ‘गजल लेख्’ भन्न कुद्दै आइपुग्नुहुन्छ तपाईं।
→ किन? अरूको आलोचना गर्नेले आफ्नो आलोचना सुन्नुपर्दैन?
→ जब मार्टिन चौतारीको जन्मकुण्डलीमै उसको उद्देश्य बहस, शोध, लेखन, प्रकाशन, पुस्तकालय भनी तोकिएको छ भने उसलाई त्यस्तो काम किन गर्छस् भनेर आलोचना गर्नु बेकार हो। बरू उसले आफ्नो उद्देश्य अनुरूप काम गर्‍यो–गरेन वा कसरी गर्‍यो अनि कहाँ कति ठग्यो भनीकन मज्जैले छ्यास्नूस्। तपाईं गरिबी किन घटेन भनेर योजना आयोगलाई सोध्नूस् वा रामशरण महतलाई, न कि सत्यमोहन जोशीलाई।
→ उसो भए तिमीहरूले पुस्तक र सिनेमाका पात्र र चरित्रबारे घन्टौँ बहस गर्नु महाबौद्धिक काम हुने। तर, मेरी निरक्षर आमाले टेलिसिरियलका पात्र र चरित्रबारे शोक र उत्साह प्रकट गर्दा अबौद्धिक र झुर अनि हास्यव्यंग्यको पात्र हुने? यो तिमीहरूको सामन्तवाद हो कि होइन?
→ जरुर हो। यो हाम्रो कथित बौद्धिक उल्लुपनले निम्त्याएको घृणित ठालूपन हो। अनपढलाई हेप्ने शोषक मानसिकता हो।
→ अहिलेको हाम्रो मुख्य आवश्यकता राजनीतिक तथा नागरिक अधिकार हो कि आर्थिक तथा सामाजिक अधिकार? भोको पेटमा अधिकार र वकालत मात्रै सिकाएर के हुन्छ?’
→ हेर्नूस् मित्र, दुइटा बाटा छन्— याचक मुद्रामा सडकछेउमा बसेको गरिबका पोल्टामा कि तपाईं एक–दुई सिक्का झारिदिनुहुन्छ कि ‘तँ कुन थिचोमिचोले गर्दा भिखारी बन्न बाध्य भइस्’ भनेर कान भरिदिनुहुन्छ। तर, यहाँ समस्या के छ भने, सिक्का बाँड्ने महत र कान भरिदिने बाबुराम; यी दुवै जना भिखारीलाई देखै नदेखै गरी बाटो काट्ने प्रकाशचन्द्र लोहनीजस्ता भएपछि गरिबहरू बढे। हामी गरिबी घट्यो त भन्छौँ, प्रतिशतमा घटेको सही हो। तर, जनसंख्या वृद्धिसँगै गरिबको संख्या भने बढिरहेकै छ।
→ मानव अधिकार वा भ्रष्टाचारविरुद्ध काम गर्ने एनजीओको अन्तिम लक्ष्य वा दीर्घकालीन सोच संस्था नै बन्द गर्नुपर्ने हुनुपर्ने होइन? देशैभर अझ टोलैभर शाखा विस्तार गर्ने योजना छ भन्नु त भ्रष्टाचार वा मानव अधिकारविरुद्धका घटना बढून् भन्ने कामना होइन?
→ ठीक भन्नुभो, त्यस्ता संस्था यूएनको ‘ट्रस्टीसिप काउन्सिल’झैँ निष्क्रिय भइसक्नुपर्ने हो। आफ्नो उद्देश्यमा सफल भएर अन्तत: संस्था बन्दै गर्ने लक्ष्य राख्नुपर्ने हो। विडम्बना † त्यस्ता संस्था उल्टै सहस्रौँ उम्रिरहेछन्। अझ इन्सेकका अध्यक्षले नै बुटवल महाधिवेशनमा एमाले अध्यक्षका लागि उम्मेदवारी दिए। यो बेइमानी हो।
िसयतिरका कुरा सारेर तिमीहरूले तयार पार्ने तथाकथित अनुसन्धानमूलक लेखन त मलाई मैले एसएलसीमा चिटिङ गरी लेखेको उत्तरझैँ लाग्छ। फरक यत्ति छ– मैले स्रोत खोलिनँ, तिमीहरू सन्दर्भसामग्री र फुटनोटको चाङ बनाउँछौ।
→ कतिओटा के–के शोध पढ्नुभयो तपाईंले?
→ फुटनोट देख्यो कि पढ्नै मन लाग्दैन। लेखाइले तान्नु परेन? पृष्ठभूमि–पूर्वकार्यको समीक्षाबाट सुरु भई निष्कर्ष र सन्दर्भ सामग्रीमा टुंगिने लेख मैले एउटै पढ्या छैन। ती सबै मलाई एउटै साँचाका उही कदका इँटाजस्ता लाग्छ।

हामीबीच यी र यस्तै थुप्रै विषयमा प्रश्नोत्तर भए सुरुमा। पछि मैले उनका प्रश्नको उत्तर दिन सकिनँ। किनकि, उत्तर पनि उनी आफैँ दिन्थे। उनका निरुत्तरित प्रश्नहरू यहाँ राखेर म आफ्नै बेइज्जत किन गरूँ † शोधार्थी वा पत्रकारले आफ्नो ‘हाइपोथेसिस’लाई पुष्टि गर्ने खालका सामग्री मात्र लिएर अरू सबै लुकाइदिएजस्तो मैले पनि उनका केही प्रश्न यो लेखमा लुकाइदिया छु।
***
त्यसपछि अचाकन उनी बिलाए कतै। सात–आठ वर्षपछि ती जवानसँग मेरो भेट भयो सहरमा। उनका कुरा सुनेपछि मैले यी तलका अनुच्छेद लेखेँ।

पहिले उनी जे जे प्रश्न सोध्थे, अहिले उनी तिनै तिनै प्रश्नका उत्तर दिँदै हिँड्दा रहेछन्। लेखनलाई बुद्धिविलास र बकवास ठान्ने उनी आफैँ नेपाल म्यागेजिनमा लेख छपाउँदै मक्ख पर्दा रहेछन्। एनजीओलाई गाली गर्ने उनी आफैँ एनजीओमा संलग्न भएछन्। शोध गर्ने त परै जाओस् पढ्दा पनि नपढ्ने उनी एमफिलका लागि शोधरत रहेछन्। अझ अनुसन्धानकै महिमागान गर्दै त्रिचन्द्र कलेजमा साहित्यको अनुसन्धान पढाउँदा रहेछन्, तीन वर्षदेखि।

अचम्मको कुरा त के भएछ भने, उहिले आफैँले सकेजति गाली गर्ने उनी त्यही चौतारीमा तीन वर्ष सम्पादक भएछन्। चौतारीको आलोचक भई छिरेका उनी प्रशंसक वा ब्रान्ड एम्बेसेडरझैँ भई झुर तरिकाले उभिँदा रहेछन्। सधैँ अजासु (अति जान्नेसुन्ने) पल्टिने सहरका अनेकन् कावा उपबुज्रुक वा कामु सहबुज्रुकजस्ता उनी अचेल बुद्धिविलासीहरूले जस्तो घुमाउरो पारामा कमकमै बोल्दा रहेछन्। उनी शब्दविलास, विचारविलास, शोधविलास, सम्पादनविलास र अध्यापनविलासमा संलग्न र मग्न रहेछन्।

यसरी एउटा विचारविलासी प्रचण्ड अन्तत: शब्दविलासी (बहुलवादी) पुष्पकमलमा परिणत भएछ ।

प्रकाशित: भाद्र ११, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.