~शम्भु दंगाल~
मन लाग्छ…
सानो बालक बनुँ
अनि समाउँ ‘बा’को हात
र मागू आकासको चम्किलो एउटा जुन
मन लाग्छ…
कतै टाढा ‘बा’सँगै पैदल हिँडू
बिझेका काँडा रुँदै झिक्न लगाउँ
अगाडि लम्किरहेका उनलाई भेट्न
स्वाँ स्वाँ गर्दै बेस्सरी कुदुँ
मन लाग्छ…
लगाउँ ‘बा’को पूरानो सर्ट
र बुझुँ एउटा घुमाउरो जिन्दगी
उठाँउ सुख–दुखको एउटा बिस्कुन
मन लाग्छ…
चिच्याँउ बेस्सरी
पुगेर एउटा अग्लो पहाडको चुचुरोमा
‘बा’ प्रतिका अनगिन्ती खुसीका
शब्दहरु
अनि धीत मरुञ्जेल सुनु फर्केर
आउने प्रतिध्वनीहरु
(स्रोत : Onlinepatrika)