स्मृतिहरुको एल्बममा
उफ्रीउफ्री नाचिरहेछ–दुःस्वप्न
समवेदनाहरुको लस्करमा
लुखुरलुखुर हिँडिरहेछ– यहाँको किशोरी घाम
हो,
यो त्यही उजाड बस्ती हो
जहाँ बबण्डरमय बाढीले
एकदमै भद्दा चित्र कोरेर गएको थियो
कैयन्का ओजस्वी सपनाहरुलाई
अजिङ्गरले निलेझैं
निलेको थियो प्रकृतिको रौद्ररुपले
यहाँको हावामा
आज पनि आला लासहरुको नमीठो गन्ध बहन्छ
उछिट्टिएका टाउका, हात, खुट्टा र आन्द्राभुँडीहरुको फेहरिस्त बहन्छ
हेर्दाहेर्दै
निमिट्यान्न भो तातोपानीको कुण्ड
र छ्याल्लब्याल्ल पोखियो आँसुहरुको कुण्ड
यो आँसुहरुको कुण्ड
यो रहरहरुको अस्थिपञ्जरको कुण्ड
यहाँको हावामा
रुपान्तरणको चर्को दस्तुर बहन्छ ।
मर्नेहरु त मरेर गए
बाँच्नेहरु के साँच्चै बाँचिरहेछन् ?
उप्m !
मनबाहिर भन्दा मनभित्र बढी छ मसानघाटको आवादी !
ओ, खारापानी !
तिम्रो अर्थी कविताबाट
मुक्ति खोजिरहेछन्–
सनाखत हुन नसकेका थुप्रै जीवनेच्छाहरुले
गुममाया र गुमप्रसादका आत्मकथाले
अन्तिम प्रकाशन खोजिरहेछन्
बग्दै गरेका
मान्छेहरुको अन्तिम क्रन्दन
चौपायाहरुको अन्तिम चित्कार
बग्दै गरेका
रुख, ढुङ्गा, मुढाहरुको भयानक परिदृश्य
घर, खेत र खलियानहरुको अन्तिम आहट
बग्दै गरेका
बस, ट्रक, ट्रयाक्टर र पुलहरुको विस्मयकारी पटाक्षेप
घर, खेत र खलियानहरुको अन्तिम आहट
गल्ती÷गल्ती÷गल्ती–
गल्तीको आधा चेहरा मान्छेको
गल्ती÷गल्ती÷गल्ती–
गल्तीको आधा चेहरा प्रकृतिको
आज म
सजायहरुको चेकबुकमा हस्ताक्षर गर्न
खारापानी आएकी छु
र सोध्दै छु–
ओ, खारापानी !
सजायहरुको यो चेकबुकलई
कसले बनायो हँ– मान्छेले कि प्रकृतिले ?
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)