~दीलिप रार्इ सगर~
प्रीय फूल नूर !
म फाँसी चढ्न जाँदैछु
तिमीलाई
प्रेम गरेको आरोपमा ।
यो मेरो मृत्युको अन्तिम घडिमा
सम्झन्दैछु ती सुनौला दिनहरु/ रँगिला क्षणहरु
जो तिमीसित
यो अरबको पबित्रभूमिमा बिताएथेँ/ बसेथेँ
जो तिमीसंग
यो मरुभूमिमा प्रेमको हरियाली बनाएथेँ
जो तिमीसंग
हाँसोखुशी साट्दै हनिमुन मनाएथेँ ।
जाबो म बिचरा
यौटा बिदेशी कामदार !
हरेक दिन
तिम्रो घर आउदा/ जाँदा
केवल दूध/…. दिने र लिने बहानामा
मसँग बढायौ परिचयका हातहरु
र
मलाई खन्यायौ आत्मियताको तरहरु
मलाई भर्यौ मृग नयनी महहरु
म डुबेछु मौरी बनेर
त्यही तिम्रो लावण्य यौवन तरमा
जो तिमीले घुँघटभित्र लुकाएर
यसरी जतनले ढकमक पारेर हुर्काएकि थियौ
म फसेछु चोर भएर
त्यही तिम्रो लजालु मुस्कानमा
जो तिम्रो कालो बुर्काभित्र
दुनियाको नजरबाट जोगाएर राखेकि थियौ
म परेछु माछा भएर
त्यही तिम्रो विनयी जालहारी वचनमा
जो तिमीले कसैलाई पोख्नै पर्थ्यो
त्यही तिम्रो प्रेम पोखरीमा ।
ए प्रीय नूर !
म आफ्नो पाप भोग्न जादैछु
तिमीलाई
मन पराएको आरोपमा ।
प्रीय फूल नूर !
म फाँसी चढ्न जादैछु
तिमीलाई
प्रेम गरेको आरोपमा ।
तिम्रो आब्बाको अल्लाह र मेरो इस्वर यौटै हो
तिम्रो अम्माको खबुस र मैले खाने रोटी यौटै हो
तिम्रो आब्बाको कुरानमा
प्रेम गर्नु पाप हो भनेर कहानेर लेखेको होला र
हाम्रो पुराणमा त प्रेम भगवानको प्रसाद हो
अनि लेखिएको छ-
प्रेम दुई आत्मको मिलन हो
प्रेम प्राप्ती मात्र हैन बलिदान पनि हो
प्रेम सेवा हो, जीवनको किरण हो
बस मैले तिमीसित
यही प्रेम त गरेको थिएँ झरनाको पानी जस्तो
यही माया लाएको थिएँ हिमालको हिउँ जस्तो
यो तिम्रो देशको भूमिमा
मैले कति बिकास गर्देको छु गधा भएर
मैले कति उन्नती गर्देको छु गोरु बनेर
आफ्नो गरिबीको कारण
यो तिम्रो देशको माटोमा
म जस्ता कतिले ज्यान कुर्वान गरे होलान् ?
हो म जस्तै प्रेम गरेको आरोपमा
कति मदनले शाहजाँह हुन परे होलान ?
कति जीवनले राँझाह बने होलान ?
कति पारुहाङ्ले मज्नु बने होलान ?
तिम्रो देशको कानुन
कति निरीह रहेछ/ कति क्रुर रहेछ
कति साँगुरो रहेछ/ कति पतीत रहेछ
तिम्रो देशमा मानवता रहेनछ ।
हे प्रीय नूर !
तिमीलाई यसको पाप नलागोस
तिमीले कुनै दण्ड सजाय नपाउ
अब त मैले
यहाँको मुअल्लाहहरुले गरेको फैसला अनुसार
आफ्नो घाँटीमा डोरी कस्न जादैछु
तिमीलाई छुएको अपराधमा
सहरबिच शुलीमा चढ्न जादैछु
मलाई कुनै डर छैन
मलाई पछुतो नि छैन
ई हेर मेरो आँखामा
कुनै नामर्दपन छैन ।
मेरी प्रीय नूर !
म शूली चढ्न जादैछु
तिमिलाई
भेट गरेको आरोपमा ।
तिमीलाई प्लेन चढाएर
मेरो देश लैजाने कत्रो सुन्दर सपना थियो
मेरो पहाडको उकाली ओरालीमा
लेक, बेशी, खोँज,
वरपिपल चौतारीहरुमा
झोलुङ्गे र पँधेरीहरुमा
तीनफन्के सारी र चोली लाईदिएर
लैबरी भाका सिकाउने थिएं
बुकि र गुराँसघारीमा
हलेसो जोडी भैई लुकामारी खेलाउने थिएँ
नौँरँङ्गी डाँफे चिनाउने थिएँ
तिमीले स्कुलमा पढेकै हो-
विश्वकाे शिर सगरमाथा
जो मेरो देशमा छ देखाउने थिएँ
र गोर्खालीको घरमा
भव्य स्वागत गरी राख्ने थिएँ
नेपाली कला, साहित्य र सँगीत
ईतिहास नै चिनाउने थिएँ
अनि
मेरी आमाको सपना
राम्री बुहारी बनाई भित्र्याउने थिएँ ।
हो प्रीया नूर !
म फाँसी चढ्न जादैछु
तिमीलाई
प्रेम गरेको आरोपमा ।
प्रीय फूल नूर !
म बली चढ्न जादैछु
तिमीलाई
प्रेम गरेको अपराधमा ।
हो मलाई मुहल्लाहरुले कालो नोकअफ
ओडाईदिनेछ सहरको बीच चौकमा
अनि पढिनेछ कुरान
र बाच्नेछन जोड जोड्ले प्राथनाहरु
बजाइनेछ्न बाजा नगराहरु डनन डनन
अन्तिम यो घडिमा
सम्झन्दैछु हामी हिडे डुलेको रेगिस्तानहरु
हामीले हांसे बोलेको मधूर बचनहरु
अग्लो झ्याम्म खजुरको बोटमा
तिमी र मैले मिलेर
राज+नूर लेखेर पानको पात कोरेको -आई लव यु नूर !
मेरो जीवन
हाम्रो प्रेमको लागि
यहिको भूमिमा विसर्जन गर्दैछु ।
अत: मेरो लासले
बागमतिको पानीमा पखालिन पाएन
आर्यघाटमा पोलिन पाएन
आफन्तले देख्न पाएन ।
तिमीले नि देख्ने छैनौ
र त यो मेरो पत्र सादिकबाट अन्तिम भेट दिन
आउनेछ तिमीलाई
एक पल्ट पढी चुमेर जलाईदिनु
र यो राजलाई सदालाई भुलिदिनु
म यहीको परिवेशमा
हावा भएर घुमिरहनेछु/ डुलिरहनेछु
वर्षा बनेर बर्सिरहनेछु
यहीको भूमी मलिलो पार्दै
फुलिरहनेछु / फलिरहनेछु
प्रेम-क्याक्टस भएर ।
मेरी प्रीय नूर !
म याे सँसार छाड्दैछु
तिमीलाई
प्रेम गरेको आरोपमा !
-दीलिप रार्इ सगर
उर्लाबारी4/253, मोरङ,
हाल, मलाया
(स्रोत : Dainikpost)
Pingback: कविता : नूरलाई अन्तिम प्रेमपत्र-3 | साहित्य संग्रहालय