~मौलश्री लिम्बू~
सरकार !
सबैभन्दा पहिले मेरो खुट्टा भाँची देउ
ताकी म,
आन्दोलनमा सरिक हुन नसकुँ
समानताको लस्करमा देखा नपरुँ
विभेद विरुद्धको मोर्चामा उफ्रन नसकुँ
परिवर्तनको बाटोमा कदम चाल्न नसकुँ
तिम्रो लाठीचार्ज र गोलिवर्षाबाट भाग्न नसकुँ
सरकार !
चित्त नबुझेमा
मेरो हात भाँची देउ
ताकी म,
संविधानमा मेरो हक अधिकार लेख्न नसकु
तिम्रो अत्याचार विरुद्ध प्रतिकार गर्न नसकुँ
सभ्यताका कला बनाउन नसकुँ
पहिचान र संघीयतालाई सलाम गर्न नसकुँ
मुक्तिगामी हातहरुसंग हात मिलाउन नसकुँ
सरकार !
अझ दमन गर्ने भए
मेरो जिब्रो थुती देउ
ताकी म,
तिम्रो असमानताको खिलाफमा बोल्न नसकुँ
पक्षपातीतन्त्रको भन्डाफोर गर्न नसकुँ
दबाईएको आवाजलाई बुलन्द पार्न नसकुँ
मैले बोल्ने मातृभाषा बोल्न नसकुँ
सरकार !
क्रमशः मेरो आँखा फुटाई देउ
ताकी म,
केही देख्न नसकुँ
यहाँसम्म कि खुद आफुलाई हेर्न नसकुँ
सरकार !
साम,दाम,दण्ड र भेद प्रयोग गरि पेल
ताकी म,
तिम्रो एकात्मक चिन्तनको दासी बनुँ
तिम्रो हैकम र हुँकारमा दबिएर बसुँ
र पनि
केही केही गर्न नसकुँ
तर
तर सरकार ! एकदिन
ममाथिको निर्ममताले/अत्याचारले
तिमीलाई/तिम्रो थेत्तर शरीरलाई
मानसिक भ्रम हुनेछ,ज्वरो आउँनेछ
कम्पन छुट्नेछ,बान्ता आउँनेछ
श्वास लिन गाह्रो हुनेछ,मासी पर्नेछ
अझ रक्तश्राव हुनेछ
मान कि !
तिमीले कल्पनासम्म नगरेको ‘ईबोला’ रोग लाग्नेछ
र खोजी हुनेछ संक्रमित तिमी भित्रका
असमावेशी,तानाशाही,पक्षपाती भाइरसहरु
जो अत्याधिक सल्बलाएको देखेर
विश्व नै सोच्न वाध्य हुनेछन्
तब, दबाईको सट्टामा
‘ईबोला’ ले ग्रसित तिम्रो शरिरलाई
नामेट गरि दिने छ
सर्वनाश गरि दिने छ।
-मौलश्री लिम्बू
झापा, धरमपुर
(स्रोत : Dainikpost)