~डा. जंगब चौहान~
झ्यालमा आएर बसेको छ नीलो जून
र कोही आएर सुस्तरी बोलिरहेछ
“ए, उठ न !”
झ्यालमा जून आएर बसेको छ
नीलो जून झ्यालमा आएर …
सपनी ओढेर निदाएको म
बज्न खोजेछु अचानक एउटा अपरिचित धूनमा !
एउटा अपरिचित धूनभित्र
बज्न खोजेछु म
ए, मेरा सपनीहरु !
ए, मेरा लामा रातहरु !
पिएर नीलो जून रित्याउन खोजेझैं
विस्तृत आकाश-प्याला !
हृदयतार छोएर
स्पन्दित हुँदैछन् रंगीन सपनाहरु
जुनेली रातहरु
भन न,
ए, अमूर्त आस्था !
कुन प्रयोजनले मलाई सुस्तरी उठाइरहेछौ
संगीतमय यस क्षणमा ?
(स्रोत : Freenepal)