आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो,
जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै
असंख्य वियोग संगालेर सुर्यास्त सम्म
इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !!
पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर
पानिको मलिलो छाति बस्तिहरु मा इश्वर बगाउँछ,
यस धर्तिका देशान्तरहरु मा फुलका बियाँहरु इश्वरका ककटेल सन्देश बोकेर
छालहरु मा ओइलिएका आस्थाको आयतन संग घृणा साँटासाँट गर्छन !!
यस युगका महान कविहरु इश्वरको हत्या गर्छन
इश्वरको मृत्युशोक मनाउन उनिहरु ले जानेका छैनन्,
घृणाको स्वास फेरी रहेको पृथ्वीलाइ पिण्ड खुवाएर
निषेधित सडकमा उल्टो सङ्ख फुकिरहेछ्न कविहरु !
भोका इश्वरहरु लाइ खुनी शिर चढाएर
कवि का मुर्कुट्टाहरु बार्दलीमा सुर्यस्नान गर्छन,
इश्वरका ककटेल सन्देश बोकेर देशान्तरमा फुलका बियाँहरु
खालि मुदुसहरु मा मुस्किल आतंक नाचीरहेछन !
माफ गर्नुस प्रिय भावक हरु ! शाब्दिक सपनाको उपरोक्त मार्गचित्र
मानवताको किनारमा पाहुना बन्न युद्ध अस्थिपन्जरमा झुल्केको जूनले
आँशु र रगतले आगामी सय बर्ष सिंगारेर देखेको यस पृथ्वीको अन्तिम सपना हो,
मान्छेका सापट उमंगहरु मा बाँचेको मान्छेकै स्खलित बर्चश्वको अन्तिम यथार्थ हो !!
बलदेव भट्ट “बिहानी”
डडेल्धुरा
(स्रोत : Shabdahar )