~रोमी दास~
नेपालको मध्य-पूर्वी तराईमा पर्ने मिथिला क्षेत्र आफ्नो भाषा, कलासंस्कृति, परम्परा र चित्रकारितामा धेरै धनी मानिन्छ । यस क्षेत्रको विवाह शैली र विवाहको रितितिथीले पनि परम्परागत मौलिकता झल्काउदै आएको छ। विवाहको पहिलो वर्ष बेहुलीको लागि धेरै महत्वपूर्ण हुने भएकोले वर्षभरी विभिन्न चाडपर्वहरु हर्ष र उल्लाशका साथ मनाइन्छ । पहिलो वर्ष मनाईने चाडपर्वहरु मध्ये वटसाब्रिती (सावित्री सत्यवानको पूजा), तिलासंक्रांति (माघेसंक्रान्ति), कोजगरा (कोजाग्रत पूर्णिमा) र मधुश्रावनी महत्वपूर्ण हुन्। ती मध्ये मधुश्रावनी सबै भन्दा लामो र वृहत पर्व हो जसले मिथिलाको परम्परालाई हिन्दूधर्मंसंग अभूतपूर्व रुपमा जोड़ेको छ। यो पर्व विवाहको पहिलो वर्ष श्रावन महिनामा १३ देखि १५ दिन सम्म विस्तृत पूजाआजा र विधिविधानका साथ मनाइन्छ। यस पर्वमा बेहुलीले श्रद्धाका साथ विशेषगरी गौरीशंकर, नागदेवता, चन्द्रसूर्य र नवग्रहको पूजा अर्चना गरि आफ्नो सुखी वैवाहिक जीवन, सफल दाम्पत्य र अखंड सौभाग्यको कामना गर्दछिन।
यो पूजा प्राय माईतीमा मनाइन्छ। मधुश्रावनी अवधीभरी बेहुलीले मांसाहारी भोजन र लसुन प्याज रहित भोजन खानुपर्ने हुन्छ। पूजा शुरुहुनु अगाडीको दिनलाई ‘‘नहायक खाएके’’ भनीन्छ र य़स दिनमा बेहुली तथा परिवारको अन्य महिलाहरुले स्नानंध्यान गरी पवित्र हातले गौरीमाताको नैवेद्यको लागि पकवानहरु, नाग देवतालाई चढ़ाउन धानको लावा सहित अन्य पूजा सामग्रीहरु तयार पार्छिन।
मधुस्रावानी पूजाको पहिलो दिन कोहबरघरको (विवाहको रितितिथी गरिने कोठा) भुईमा पिठार (चामलको पीठो र पानीको मिश्रण) तथा सिंदूरले अरिपन बनाएर पूजा बस्ने ठाउ तयार गरीन्छ। त्यसैगरी विषहरी पूजाको लागि ठुलो हरियो पातमा पिठारले नागनागिनको चित्र कोरि माटोको भाड़ोहरुमा दूध र लावा चढाइन्छ। मधुश्रावनी पूजा प्रतेक दिन गौरी पूजाबाट शुरु हुन्छ जसमा कन्याले ‘‘फकारा’’(गौरी मंत्र) पढी रातो फूल तथा विभिन्न नैवेध्यहरुले गौरीको माताको अराधना गर्दछिन् । गौरी तथा नाग देवताको पूजापछि धर्मंग्रन्थ सम्बंधी विशेष ज्ञान भएको एक वृध महिला द्वारा रामायण, महाभारत, गौरीशंकर तथा अन्य देवीदेवताहरुको कथा श्रवन गरिन्छ। मिथिलाको हरेक चाडपर्वहरुमा गीतहरुको विशेष महत्व हुने भएकोले बेहुली तथा पूजामा आएका अन्य महिला दीबहिनीहरुले धार्मिक गीतहरु गाएर पूजालाइ संगीतमय बनाउने गर्छन्।
यस पूजामा विषहरीमाताको गीतहरु गाउने पनि चलन छ। देवीदेवताको कथा सकिएपछि आफ्नो कुलदेवता लाई प्रणाम गरि दैनिक पूजा सम्पन्न हुन्छ । मधुश्रावनीपूजाको अर्को रमाइलो पक्ष्यचाही ‘‘फूल लोढन’’ कार्यक्रम हो। प्रतेक दिन साँझ र बिहान नवविवाहिता बेहुली आफ्नो दीदीबहिनी तथा संगिनीहरुसंग गीतनाद गाउदै फूल टिप्न जान्छिन् र विभिन्न रंगीबिरंगी फूलहरुले फूलडाली सजाएर रमाइलो गर्दै घर फर्किन्छन्। सेतोफूल नाग देवतालाइ र रातो फूल गौरी पूजाको लागि चाहिने भएकोले ती फूलहरु यस पूजाका लागि अनिवार्य हुन्छन्। मधुश्रावनी पूजा श्रावन शुक्ल तृतीया को दिन समाप्त गरिन्छ। अंतिम दिनमा दुलहाको घरबाट विशेष पूजा सामग्रीहरु, मरमिठाई, चिउरा दही, फलफूल तथा पकवानहरु पठाईन्छ । ”भार” भनीने यस किसिमको विशेष उपहारमा संपूर्ण परिवारजन्यको लागि नया पहिरनहरु पनि पठाईन्छ । अंतिम दिनमा नवविवाहिता बेहुलीको घुडामा पानको पात राखेर मनतातो धातुले स्पर्श गराई ”टेमी ’’ दिइने चलन छ। अंतिम दिनको पूजा तथा धार्मिक कथा समाप्त भएपछि बेहुलाको घरबाट आएको मिठाई, चिउरा तथा भिजाइएको चना पूजामा आएका सबै महिलाहरुलाई वितरण गरीन्छ। त्यसपछि बेहुलीको सुखी जीवन र सौभाग्यको कामना गर्दै आशीर्वाद सहित मधुश्रावनी पूजा सम्पन्न हुन्छ। यो पूजा नवविवाहिताहरुको लागि महत्वपूर्ण भएतापनि अन्य विवाहिता महिलाहरुलेपनि १५ दिनसम्म गौरी पूजा गरेर ‘‘फकरा’’ सुन्ने र पहिलो तथा अंतिम दिनमा ब्रत बस्ने गर्छन्।
यसरी धार्मिक, पारिवारिक र सामजिक महत्व बोकेको यो पूजा मिथिला संस्कृतिको बिशेष पहिचान बन्न पुगेको छ। बद्लिंदो सामाजिक, आर्थिक र राजनितिक परिवेशको बावजुद पनि यस क्षेत्रका महिलाहरुले आफ्नो चाडपर्व सदैव महत्वका साथ मान्दै आएर आफ्नो परम्परा तथा संस्कृतिको जगेर्ना गर्ने काममा विशेष भूमिका खेलेका छन् ।
(स्रोत : Weallnepali)