~राम प्रसाद पोखरेल~
आंखा हेर्दा तिरमिर भयो, कान भयो बहिरो,
बोल्न खोज्दा लरबराउंछु, जिब्रो लटपटियो।
शरिर गल्यो दाह्री बढ्यो, खौरनलाई गाह्रो,
जन्मी हुर्की, खेली खाको, यही ठाउँ मलाई प्यारो।। (१)
यताउति दौतरीलाई, उस्तै उस्तै देख्छु,
मनको पीर वेदनालाई, उसैसंग पोख्छु।
उसका पीडा समान पाउछु, जब कुरा चल्छ,
सन्ततीको माया गाह्रो, अब देश रुन्छ।। (२)
रोजगारीको खोजीगर्दै, सन्तान गए विदेश,
लेखपढगरी पैसा कमाई, आउँछु भन्थे स्वदेश।
रातो टीका निधारमा, हातमा फूलको गुच्छा
वर वर आँसु बगाएथेँ,तीनलाई बिदा गर्दा ।।(३)
छोरा नाती पनातीको, मुख हेर्न भो गाह्रो,
गाउँघरको सुख भन्दा, विदेश भयो प्यारो।
वर्षौ भयो यो देशमा,शान्ति छाको छैन,
बृद्ध बृद्धा एक्ला भयौं, कान्ति आको छैन।। (४)
दाँत झरे केश फुले,गाला चाउरी परे,
रगतका नाता जति, टाढा टाढा सरे।
दिन रात भेट हुन्छन्, फेसबुक खोल्दा,
आफैंसंग भाको ठान्छु, माबाईलमा बोल्दा।। (५)
केको कमी भाको छर , घरमै बसी खानु,
धर्म कर्म गर्ने भए, मठमन्दिरमा जानु।
यस एम यसमाखबर आउंछ, घण्टी बजिदिन्छ,
यस्तो गति भईरहे , कसलेकसलाई चिन्छ? (६)
समयको चक्रबनी, जीवन चलिराछ,
मेरो पनि पालो यही हो, कसले बझिराछ।
जस्तो गति छोराको छ, उस्तै गति नाती,
बृद्ध बृद्धा दुःखी भयौं, को बन्देला सथी।। (७)
नीद्रा छैन चैन भएन, गाह्रो हुछ राती,
हे देशका चालकहो, बन्देउ तिमी जाती।
स्वदेशको माया गरी, शान्ति कायम गर,
आमा बाको पीडा बुझी , सुख शान्ति छर।।(८)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )