~शोभाकान्त गौडेल~
बगरमा पल्टिरहेको पत्थर त होइन म
आत्मा र भवशून्य भइरहने
बनमा लडिरहेको मुढो पनि त होइन म
युगौदेखी निर्जीव सडिरहने
तर म ढुङो भइदिनु पर्यो रे !
या मुढो भइ लडिदिनु पर्यो रे !
रोदन, क्रन्दन सुन्छु
अन्याय र अत्याचार देख्छु
मनै मान्दैन भावना दौडिन्छ
नशा नशामा रगत उम्लिन्छ
लेखिन्छ बिरोधमा अन्याय र अत्याचारको
शोषण, तस्करी र भ्रष्टचारको ।
के नलेखुँ मैले ?
के प्रकट नगरुँ अभिब्यक्ती मैले ?
तर म मुढो भइदिनु पर्यो रे !
म ढुङो भइदिनु पर्यो रे !
मुढो बनाई लडाउन नसकेपछि
ढुङो बनाई पुज्न खोजे कसैले
लावा सिन्दुर र अक्षता लगाई
ठूलै आसनमा राख्न खोजे कसैले
म ढुङो कसरी बनुँ ?
फूल, तुल र सिन्दुरका लोभले
म पूजनिय कसरी बनुँ ?
चेतनालाई लिलाम गरी
मान, शान र यान पाउने लोभले !
ढुङो भइ पुजिनु भन्दा
मान्छे भइ कुहिनु जाती
मुढो भइ मानिनु भन्दा
मान्छे भइ मरिमेट्नु जाती ।
त्यसैले ढुङो भइ पुजिन चाहन्न म
फोरिदेऊ कुनै निर्माणमा एक सल गारो भइदिन्छु
मुढो बनाई नलडाउ मलाई
बरु चिरिदेउ मक्किएका कुनै घरको दलिन हुन चाहन्छु
देशका लागि यही माटोमा विलिन हुन चाहन्छु ।
(स्रोत : Satakosahitya)