जेठ महिनामा तराईमा रहेको छापामार अस्थायी शिविरमा गर्मी निकै मात्तिएको थियो । आकासमा खैरो बादल बाक्लिदै थियो । छापामारहरु मौसमको प्रतिकूलतालाई अनुकूलतामा बदल्ने प्रयास गरिरहेका थिए । उनीहरुले लगाएको मैलो कम्ब्याट पसिनाले निथु्रक्क भिजेको थियो । केही छापामारलाई भने गाउँघर र परिवारको यादले निकै सताइरहेको छनक दिइरहेका थिए, भित्रभित्रै भुसको आगोझैं । मुक्ति अभियानमा सामूहिक रुपमा लागेका उनीहरुले गाउँ, घरपरिवारको निजी कुरा गरेर मनलाई बेचैन भएको कमाण्डर सामु र साथीभाइको अगाडि देखाउन निकै गाह्रो थियो ।
एकजना छापामारलाई गाउँ, घर र परिवारको याद र जेठको गर्मी उस्तै–उस्तै थियो । त्यसदिन उनी बिहानको नियमित कसरतमा समेत सहभागी भएनन्, बिरामी भएको बहाना गरेर । साँच्चै तनको बिरामी भने उनी थिएनन् । दुर्गम गाउँबाट श्रीमतीले पठाएकोे चिट्ठी अघिल्लो दिन बेलुका मात्र उनको हातमा परेको थियो । त्यही चिट्ठीले उनको दिनचर्या खल्बलिएको थियो । सायद चिट्ठी पाउनुअघि उनको घरपरिवारको सम्झना मुटुको कतै कुनामा थन्किएको थियो ।
त्यो चिट्ठीले उनको मनमा ठूलै तरङ्ग ल्यायो, जसरी युद्धकालमा उनीहरुले कुनै सुरक्षा क्याम्प आक्रमण गर्दा देशभरि हलचल मच्चिन्थ्यो । केरमेट गरी लेखिएको भए पनि चिट्ठीको शब्दवान् गोलीभन्दा पनि शक्तिशाली लागिरहेका थिए, उनलाई अर्थात् माओवादी छापामार विवेकलाई । चिट्ठीको ब्यहोरा यस्तो थियो ।
मेरा प्यारा प्राण,
मुटुभरिको धेरै–धेरै माया ।
तपाईंलाई शिविरमा सञ्चै होला । तपाईंको शिविर नजिकको अर्को शिविरका ‘गुराँस’ घर आएका थिए । उनले तपाईंको हालखबर रामै्र छ भनेर सुनाएका थिए । सञ्चै भएको थाहा पाउँदा मन शान्त भयो ।
तपाईंले चिट्ठी नपठाएको धेरै महिना भइसक्यो, न त तपाईं नै यहाँ आउनुभयो । घरतिरको माया नलागेर हो कि फुर्सद नपाएर हो ? केही थाहा भएन । सुनेकी छु आजकाल शिविरमा त्यति काम छैन रे । बिदा पनि पाइन्छ रे । तर, तपाईं घर आउनु त कता हो कता, चिट्ठी पनि पठाउन छोड्नुभयो । म र छोराछोरीलाई बिर्सने गरी हामीबाट केही गल्ती गरेजस्तो पनि लाग्दैन । अन्जानमै केही गल्ती गरेको भए सोझी र निर्दोष महिला सम्झी माफ दिनुहोला । जतिसुकै ठूलो काम गर्नेले पनि श्रीमती र सन्तानलाई भुलेको मलाई थाहा छैन ।
बरु युद्धको बेलामा तपाईंले पटक–पटक चिट्ठी पठाउनु हुन्थ्यो । खबर पठाउनु हुन्थ्यो । त्यसबेला हामीलाई सान्त्वना दिनुहुन्थ्यो । संघर्ष गरेर बाच्न सिकाउनु हुन्थ्यो । तपाईंकै भनाइ अनुसार मैले के गरिनँ ? हलो जोतें । जोतेको देखेर पुलिसले मलाई यातना दिएको कुरा तपाईंलाई थाहै छ । तैपनि मैले हिम्मत हारिनँ । जसरी पनि घर टिकाउनु पर्छ भनेर जस्तोसुकै गाह्रो काम पनि गरें । घरमा एक मानो अन्नपात नहुँदासम्म ऐचोपैंचो गरेर आफ्नो पेट खाली राखेर छोराछोरीको पेट भोको राखिन् । रातदिन नभनी घरखेतको काम गरें । आतंककारीका श्रीमती भन्दै पुलिसले दिएको यातना र अपाच्य गाली अहिले पनि मेरो आँखामा ताजै छ । मैले ती कुरा यो जिन्दगीमा कहिले बिर्सन सकुँला र ?
त्यसबेला तपाईंले भन्नुभएको थियो, युद्धपछि कुनै दुःख हुने छैन । अहिले युद्ध सकिएको छ । तर, मेरो दुःख बीसको उन्नाइस भएको छैन । त्यही बेदना लेखूँ भनेर नजानी–नजानी चिट्ठी कोरेकी हुँ । पीर नमान्नु होला । मेरो पीडा जति भने पनि कमै हुन्छ । अझ पहिलेभन्दा पीडा र दुःख झन् बढेको पाएकी छु । पोहरसाल ससुरा बितेपछि मेरो सहारा दिने मान्छै नै छैनन् भने पनि हुन्छ । एउटी आइमाईलाई सहाराबिनाको जिन्दगी बाँच्नु बालुवा चपाउनुजस्तै रहेछ । तपाईंलाई यो कुरा थाहै हुनुपर्ने हो । समय, दिन फेरिएका छन् । तर मेरा पीडाहरु फेरिएका छैनन्, अझ थपिएका होलान् । तपाईंलाई नभनी कसलाई भन्ने र दुःख पीडा ? आक्रोश पोख्न मन लाग्छ, कहिले कम हुन्छ, हाम्रा पीडा ? छापामारका परिवारले सन्तोषको सास कहिले फेर्न पाउँछौं ? हाम्रा सजिला दिन कहिले आउँछन् ?
दुई महिनाअघि नानी असाध्यै बिरामी परी, दुई हप्तासम्म ओछ्यानमै सुती । बल्लबल्ल जडीबुटीका सहाराले सञ्चो त भई, अझैं स्कुल जान सक्दिन । तपाईंलाई चिट्ठी पठाएँ, केही खबर आएन । काखको छोरा बिरामी भएको आज १० दिन भयो । अन्नपानी खान सक्दैन । औषधी उपचार गराउने दाम छैन । छोराछोरीको हालत देख्दा वरिपरि अँध्यारो मात्रै देख्छु । ऋण सापट पनि कसैले दिदैनन् । उनीहरु मलाई उल्टै भन्छन्, आजकाल तेरो लोग्नेले तलब पाउँछ रे, । पैसा पठाउँछ होला नि । छोराको उपचार गरे भइहाल्यो नि, भन्छन् । अहिले पनि दुई छाक टार्न गाह्रो भइरहेको छ ।
यसपालि सबै खेतबारी लगाउन सकिनँ, आधा बाँझै छ । म रुखमुनिको बालीजस्तै कमजोर छु, तनमन कमजोर भएको छ । सहयोग गर्ने छिमेकी पनि पाइएन । खेतीपाती गर्न नसकेको खेतबारी सिस्नु, दुबो, राउन्ने र झारपातले ढाकेको छ । हल गोरु पनि बुढा भइसकेका छन्, आउँदो बाली लगाउने बेलासम्म जोत्न सक्दैन् जस्तो छ । यस्तै हुने हो भने हामी घरभित्रै भोकै मर्ने अवस्था आउनेछ ।
भन्नुहोस् अब म के गरुँ ? छोराछोरी र घरको हालत देख्दा रुन मात्र मन लाग्छ । तर, अब रोएर दुःख, पीर कम हुने रहेनछ । अब त रुनलाई आँसु पनि सकिएजस्तो लाग्छ । आफ्नो भविष्य त भएन–भएन, छोराछोरीको भविष्य पनि अन्धकारमा धकेलिएको जस्तो लाग्छ । मलाई चिन्ता भनेकै मुटुका टुक्रा बालबच्चाकै लाग्छ । मैले भनेका कुरा तीता लाग्न सक्छन्, सत्य कुरा तीतै हुन्छन् । जे देखें भोगें त्यही भनेको हुँ ।
मभन्दा तपाईं धेरै कुरा जान्नुहुन्छ । मैले धेरै कुरा गर्दा मन दुखाउनु होला । श्रीमतीका नाताले आफ्ना मनका कुरा भनेकी मात्र हुँ । के गर्ने भनेर तपाईं आफै निर्णय गर्नुहोला । अहिलेलाई यत्ति नै ।
तपाईंकै देवी
जीवन आफैमा संघर्ष हो, यसमै रम्नुपर्छ र अघि बढ्नुपर्छ भन्ने भनाइलाई दह्रोसँग समातेका विवेकलाई श्रीमतीको चिट्ठीले भने निकै भावुक र कमजोर बनाइदियो । जीवन संघर्ष हो तर समयको परिवर्तनसँगै त्यो संघर्षको रुप फेरिनुपर्ने हो कि होइन ? यो यक्ष प्रश्न उसको सामुन्ने उभिएको छ । हो, विवेकको संघर्षको रुप फेरिएको अवश्य हो । ऊ अब पहिलेको मोर्चामा छैन । यो कुरा घामजस्तै छर्लङ्ग छ । तर, उसकी श्रीमतीको संघर्षको रुपमा कुनै फेरबदल भएको छैन । उनी अहिले पनि उही दुई छाक टार्ने संघर्षमा छन् । दिनचर्या अहिले पनि उस्तै कठिन र कहालीलाग्दा छन् ।
मैलो चिट्ठीलाई खल्तीमा राखेर विवेक शिविर छेउको जंगलतिर लागे । जहा“ उनी रोएको कसैले नदेखुन् । उनी त्यसदिन खुलेर रुन चाहन्थे । आँसु र हासो पनि जिन्दगीको एउटा पाटो हो । उनले रुखमुनि बसेर फेरि त्यही चिट्ठी पढ्न थाले । चिठी पढ्दै गर्दा खोलाको पानीसरी उनको आखाबाट आँसु बगिरहेको थियो, उनले नपुछिकनै आँसु बग्न दिए । निकैबेर उनका आखाबाट आँसु बगिरहे । उनलाई धित मरुञ्जेल रुन मन लागेको थियो, त्यस दिन । उनलाई क्रान्ति, देश, मुक्तिको कुरा छाडेर घरपरिवारतिर फर्कन मन लागेको थियो । त्यस दिन उनको मनलाई नै खल्बल्याउने गरी आँधीबेहरी, भेल बाढी एकैचोटी आएको थियो ।
धेरैबेरपछि विवेक शिविरमा फर्के । सबै साथीहरुले खाजा खाइसकेका थिए । उनलाई खाजा खान मन लागेन । उनी त्रिपालभित्र छिरे र झोलाबाट डायरी निकालेर शिविर नजिकैको एक्लो रुखमुनि गए । त्यसबेला सूर्य पश्चिमतिर ढल्कदै थियो । विवेकले श्रीमतीको चिट्ठी अगाडि राखेर उत्तर लेख्न शुरु गरे । धेरै बेर गम खाए, तर कलम कत्ति पनि अगाडि बढ्न सकेन । केही बेरपछि मात्र उनले चिट्ठी लेख्न शुरु गरे–
प्यारी देवी
मुटुभरिको माया ।
मलाई यहाँ सञ्चै छ । घरमा छोराछारीको बेसञ्चोको खबरले निकै दुःखी बनाएको छ । तिमीलाई चिट्ठी लेख्न खोज्दा मेरा हात कामिरहेका छन् । युद्धकालमा पनि यसरी हात कामेका थिएनन् । बन्दुक समात्दा नकामेका हात आज चिट्ठी लेख्न कलम समातेको बेला अचम्म गरी थरथर कामिरहेका छन् । धेरैचोटी चिट्ठी लेख्ने प्रयास गरें, केही मेसो पाएको छैन । तिम्रो निर्दोष मनले भनेका कुरा कुनै बनावटी होइनन् । तन र मनले जे भोगेकी छौ, त्यहीं कुरा लेखेकी छौ । त्यसमा कसैको दोष छैन । मैले यो कुरा राम्ररी बुझेको छु । मलाई तिम्रो चिट्ठीको जवाफ दिन निकै गाह्रो भएको छ । माफ गर, ढिलै भए पनि चिट्ठी पठाउने जमर्को गर्दैछु ।
देवी, तिमीलाई थाहै छ । म युद्धमा रहरले लागेको थिएन । समयले मानिसलाई कहाँ–कहाँ पु¥याउँदो रहेछ भन्ने कुराको साँछी तिमी र म आफै छौं । समयले युद्धदेखि शिविरसम्म पु¥याएको छ । अझैं अनिश्चित छ, कहाँ पु¥याउँछ भन्न सक्ने अवस्था छैन ।
मलाई घरपरिवारको सम्झना मनमा नआएको त कहाँ हो र ? घरपरिवारदेखि टाढा रहे पनि बिर्सिन गाह्रै पर्छ । तिमीले पनि सुनेकै हुनुपर्छ । हामी बसेको शिविरमा पनि सजिलो छैन । एक ठाउँमा बस्दैमा सजिलो हुन्छ भन्ने रहेनछ । चिट्ठी लेखुँ भन्दाभन्दै धेरै महिना बितिसकेछन् । तिम्रो चिट्ठी आए पछि मात्र छा“गाबाट खसेजस्तै झसङ्ग भएँ । समयमा चिट्ठी पठाउन नपाएकोमा मलाई दुःख लागेको छ ।
तिमीले जिन्दगीमा कति दुःख गरेर बाँचेकी छौ, त्यो कुरा मैले शब्दमा बयान गर्न सक्दिनँ । सन्तानका लागि तिमीले सरकारबाट यातना पाइनौ कि समाजबाट अपहेलित भइनौ कि । तर पनि तिमीले हिम्मत हारेनौ । अहिले पनि हिम्मत हारेकी छैनौ भन्ने लागेको छ । हिम्मत हार्न पनि हुँदैन । एउटी सोझी गाउँले महिलाले गरेको यो संघर्ष मूल्याङ्कन गर्ने हो भन्ने एउटा युद्ध भने पनि फरक पर्दैन । सायद तिमीले पनि समयलाई बुझेर होला, केही सहारा खोजेकी छौ । यो सहारा खोज्ने बेला पनि हो । किनभने हामीले पहिले जस्ता युद्ध लड्नुपर्ने अवस्था छैन । हामी क्याम्पमा सीमित भएका छौं । युद्धको प्रतिकूलता बेहोर्नु परेको छैन । तर पनि राजनीतिक सेनाको बन्धनमा बाँधिएपछि व्यक्तिगत जीवन कम हुँदो रहेछ ।
गाउँमा तिमीलाई अहिले पनि भोक, अभाव, गरिबीको चर्को युद्ध छ । यो युद्धको निस्सासिदो अवस्थामा तिमी र छोराछोरी परिरहेका छौ । तिम्रो वेदनाका कुराले काँडाले मेरो मुटु घोचेझैं भएको छ । तर देवी, म लाचार छु, मसँग गरिबीको युद्ध हटाउन सक्ने क्षमता छैन । जनमुक्ति सेनाको अनुशासनले मलाई धेरै कुरा भन्न सक्दिनँ । कडा अनुशासनमा बाँधिनु परेको छ । पहिले मेरो हातमा एउटा राइफल थियो, आजभोलि त्यो पनि छैन, हतियार कन्टेनरमा थन्किएका छन् । जीउमा केवल पुरानो कम्ब्याट ड्रेस मात्र छ । अब त यो डे«समा कुनै शक्ति नभएजस्तो लाग्छ । हामी शिविरको घेरामा राजनीतिक बन्धनमा बाँधिएका छौं ।
अहिले पनि मन लागेको बेला घर आउन र जान मिल्दैन । कहिलेकाँही शिविर छोडेर घरतिर लागौं जस्तो लाग्छ । तर, यति बर्ष युद्ध लडियो, बल्ल–बल्ल बाँचियो । त्यसै आउन सकिएन । ठूलो कमाण्डर पनि हुन सकिएन । तर, भविष्यमा केही हुन्छ कि भन्ने आस भने मरेको छैन । म पनि आसै आसमा बाँचेको छु । आसा भएन भने मान्छे बाँच्न मुश्किल पर्छ तर त्यो आसा पूरा हुन्छ कि हुँदैन त्यो भविष्यमा नै थाहा हुनेछ ।
देवी, म यहीं महिना जसरी पनि बिदा मिलाएर घर आउँछु । एकपटक घर नआइकन मेरो मनले मान्ने छैन । चिट्ठीमा धेरै कुरा लेख्नुभन्दा घरै आएर सबै कुरा गरौंला । अहिलेलाई यत्ति नै ।
उही तिम्रो श्रीमान् विवेक
विवेकले धेरै कुरा लेख्न भनेर चिट्ठी लेख्न बसेको थिए, तर उनको कलम धेरै अगाडि बढ्न सकेन । उनको चिट्ठीले श्रीमतीको मन बुझ्छ भन्ने कुरामा उनलाई विश्वास लागेको थिएन । धेरै कुरा लेख्न नसक्नुको उनको बाध्यता थियो । करिब तीन घण्टा लगाएर चिट्ठी पूरा गर्दा घाम अस्ताउन लागेको थियो । उनका साथीहरु बेलुकाको रोलकल गर्न चौरमा आइसकेका थिए । उनी भने टाउको दुखेको बहाना गरी त्रिपालमै बसे ।
जति बिर्सन खोजे पनि घरको याद निरन्तर आइरह्यो । उनले आफैलाई प्रश्न गरे, दश वर्षे युद्धको अवस्था अहिले कहाँ छ ? पार्टी सरकारमा छ, नेताहरु संसदमा छन् । जनमुक्ति सेना शिविरमा छ । जनता कहाँ छन् ? उनीहरुका सपना कहाँ छन् ? शहीदहरुका सपना साकार कहिले हुन्छन् ? शहीदका परिवारको हालखबर के छ ?
यस्तै प्रश्न उनको मनमा आइरहेको बेला आकाशमा कालो बादलले ढाक्यो, चट्याङको आवाज आयो । बेसरी हावाहुरी चल्न थाल्यो र जोडले पानी प¥योे । सबै सेना आ–आफ्नो छाप्रातिर दौडे ।
(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)