कथा : पुनर्गमन

~घनश्याम शर्मा~Ghanashyam Sharma

“बा काठमाडौँ जाऔँ । एक्लै गाउँमा कसरी बिताउनु हुन्छ । यो बुढ्यौली शरिर बोकेर कती खेतबारी बस्तु डिंगा भन्नुहुन्छ । आखिर एकदिन त छुट्ने नै हुन् ।”

बाको फुङ्ग उडेको अनुहारभित्र गाडिएको आँखामा डरले आँखा जुधाउँदै मैले प्रस्ताव राखेँ । बाले चिन्डेको लेकतिर एकनाश हेरीरहनु भयो, म डराइरहेको थिएँ ।मेरो अनुहार रातो रातो भैसकेको थियो । बा रिसाउनु पो हुन्छ कि ? वहाँ असाध्यै रिसाहा मानिन्थ्यो आफ्नो बेलामा अझैपनि सबै जना डराउँछन् गाउँमा । चिन्डेको लेक हिउँले छपक्कै ढाकेको छ सेतै । हरियो डाँडालाई सेतो पछ्यौरा ओढाएको लाग्ने मनोरम दृश्य । मेरो घरको दृश्य भने दुःखपूर्ण, ओइलाएका फूलहरूको बगैँचा जस्तो । निकै दिनदेखि कसैको स्याहार नगरेको बगैचा जस्तो ।

बा बोल्नुु भएन । मैले तत्काल सोहि कुराको पुनरावृत गर्न पनि सकिनँ । म उहाँको प्रतिक्रियाको प्रतिक्षामा बसेँ । त्यो भन्दा अर्को बिकल्प पनि थिएन । उहाँ विस्तारै गल्न थाल्नु भएको थियो । आमाको मृत्युले उहाँलाई झन् बढी नै एकहोरो बनाएको थियो । त्यस्तो बोल्ने मानिस , रसिलो , जो मानिस भेट्दा पनि उहाँलाई बोल्नै पर्ने एक वचन, तर हिजो आज उहाँ उति सारो बोल्नु हुन्न । सार्वजनिक ठाउँमा जान त्यति रुचाउनु हुन्न । भर्खर आमाको बर्खान्तको बार्षिकी कार्य सकाएपछि बालाई गाउँमा एक्लै छाड्न मन लागेन र त्यस्तो प्रस्ताव गरेको थिए । बा भने चुपचाप हुनु भो ।

“तैले उनीहरूलाई तेरो आमाले दिनु भनेको सबैकुरा दिइस् त ?”

वहाँको प्रश्नले आमाले अन्तिम अवस्थामा आफ्नो लुगाहरू नजलाइ वहाँले भनेको मानिसलाई दान गरिदिनु भन्ने अभिप्रायलाई संकेत गर्नु भएको थियो ।

“ हुन्छ बा मैले उनीहरूलाई लिन आउनु भनेको छु तर हजूरलाई थाहा छ ? आजकाल गाउँमा त्यस्तो अर्काको पुरानो जडउरी लगाउने मानिस कहाँ छन् र ? सबैले केही न केही कमाइ राखेकै हुन्छन् । आमाले त्यो पुरानो जमाना सम्झिनु भएको थियो होला र त्यस्तो प्रस्ताव गर्नुभयो । वहाँको अन्तिम इच्छा मैले पनि नाइ भन्न नसकेकोले हुन्छ भनिदिएको थिए तैपनि कतै न कतै कसैलाई दिन्छु । ”

बाको जिज्ञासा शान्त पारें तर जवाफ भने दिनु भएन । हुक्कामा नली जोडेर एकनाश गुड्गुड्गुड् तमाखु तानी रहनु भयो ।

“तेरी आमाले चिलिममा हालेको आगोले तानेको तमाखु ।”

यति भन्दै गर्दा बाको आँखा पारीपारी क्षितिजमा पुगेर टक्क अडिए ।मेरो आँखाबाट झर्न थालेको आँसुलाई रोकेर भनें –

“ हो त”

हरेक वस्तुमा आमाको प्रतिबिम्ब देख्ने बाको आँखाले आमालाई बिर्सन सकेका छैनन् । गाउँबाट, यो घरबाट कतै हिडाइ हाल्न पाए वहाँको मन बहलाउथ्यो कि ? म यस्तो प्रयासमा लागेको थिएँ । यस पटक गाउँ आउनुमा मेरो यो पनि एउटा अभिष्ट थियो । आमाको बार्षिक क्रियाकर्म त छदैछ ।

पैसठ्ठीको आसपासमा एक्लिनुको पीडा जो बाले भोगिरहनु भएको छ । अक्सर उहाँको उमेरमा मानिसहरू नश्वर शरीरबाट मुक्त भैसकेका हुन्छन् । जीवनमा अत्यावश्यक गृहस्थी धर्मबाट मुक्त भैसकेका बालाई बाचुञ्जेल साहारा दिनु मैले पनि आफ्नोे गृहस्थी धर्म ठानेकोले गाउँबाट काठमाडौँ लैजाने इच्छा व्यक्त गरेको थिएँ ।

मेरा बालबच्चा र परिवार सहित काठमाडौँमा बसाई छ । जागीर छोरा र छोरीको स्कुल उतै भएकोले बालाई पनि आफैसँग राख्न पाए, आफूलाई पनि सन्तुष्टि हुने ।

“ तेरो घर छैन काठमाडौँमा अर्काको घरमा बसिराखेको मानिस म पनि त्यतै जाँदा तँलाई सहज पर्दैन कि ? गाह्रो होला सरकाको मान्छे केटाकेटी हुर्काउनु , पढाउनु, बढाउनु म डाँडाको घामलाई त्यस्तो चिन्ता गर्नुपर्दैन । मरेँ फालिहाल्छन् होला नत्र गाउँ नै गन्हाउँछ, दुइ छाक बाँसगढे भाउजुले पकाइदिएकै छिन् । हुन ता उनी पहिला कि म पहिला मर्जी उपरवालाकै हो ।”

बाले त्यसो भनिरहँदा म आमाको बिछोडले भर्खर मर्माहत भएको आफ्नो मनलाई शान्त पार्न सकिरहेको थिइनँ । संसारमा कतैपनि कुनैपनि मुल्यमा प्राप्त नहुने रगतको नाता आमा बा अन्य नातागोताको पनि आफ्नै विशिष्टता छँदैछ । त्यसमाथि पनि आमा र बा त सन्तानको निम्ति अत्यन्त आत्मीय सहृदयी तथा अवर्णनीय नाता सम्बन्धमा पर्छन ।

निराश जीवन, एक्लोपन, बुढेसकालको अन्तिम क्षणहरू लिएर बाँचिरहनु उराठ लाग्दो क्षण हुने गर्छ होला । सामाजिक भूमिकाहरू क्रमशः घट्दै गइरहेको आफ्नोे अवस्थालाई मानिसहरू बाँच्नको निम्ति मात्रै पनि सास हुन्जेल आश भनेझैँ थुप्रै आवश्यक र अनावश्यक क्रियाहरू गरिररहुन पर्ने अवस्थालाई संयोजन गरेर जीउनुको नाम नै पनि सम्भवतः बुढेशकाल होला । निराश र असंवेद हुँदै गएको बा को मनलाई ढाडस र केही उर्जा दिदैँ म उहाँको बाँकी जीवन मेरो सान्निध्यमा नै वितोस् भन्ने अभिप्रायले बालाई आफैँसँग काठमाडौँ लैजाने ढृड इच्छा मनमा बोकेको छु ।

जीवन उत्तराद्र्धका कठीन र निरर्थक दिनहरू विताउनु कति कष्टकर हुँदो हो । बालाई देखेपछि सहजै अनुमान लगाउँछु म ।

बा भन्नुहुन्छ–
“रामायणका पन्नाहरूमा पनि मन अटाउन सक्दिनँ ।महाभारतको श्लोकहरूमा तेरै आमाको तस्वीर देख्छु । गीताको श्लोकहरूमा तेरै आमाको आवाज आइरहन्छ । यो कष्टपूर्ण देहबाट मुक्त हुन पाए ………। मेरा आँखा बाको निन्याउरो अनुहारमा अडिरहन्छन् । बाको यो बुढ्यौली संसारमा म आफ्नो कल्पना गर्न थाल्छु ।

तन्नेरी सपनाहरू अवसान भएको बा को बुढो शरिरलाई सहारा दिदैँ अन्ततोगत्वा हामी राजधानीको गन्तव्यतिर हिँडने भयौँ । बाले बारीको डिलमा खङ्ग्रङ उभिएको बूढो भीमसेनपातीको बुटोलाइ हेर्नु भो ! आँगनमा ६ महिनाको बाच्छोसँग बाँधिएको गाईलाई सुम्सुमाउनु भो, गाईको ढाडमा छोएर ढोग्नु भो ! गाईको पुच्छरले झिँगा धपाउँदा बाको आँखामा लागेछ, सेतो धोतीको बर्कोले आँखा छोपेर माथि आकाशतिर हेरेर टोलाउनु भयो । बारीमा सर्लक्क परेर फुलेका तोरीका बोटहरु हावाले हल्लाईरह्यो , बाले त्यतैतिर हेरिररहुन भयो । बाँसको झ्याँगबाट काग र रुपीको श्वर एकनासले हामो कानसम्म आइरह्यो । बाले एकपटक बाँसको झ्याङमा हेर्नु भो र भन्नुभयो–
“यो बाँस म १६ वर्ष हुँदा रोपेको हो । गाउँमा कसको घर छाउने काममा यो बाँस काम लागेन र ?”

सर्लल्क परेको गहुँबारीतिर हेर्दै भन्नु भयो–
“ खै बिकासे मल हालेर माटो विगारीसके । रोपनीमा एक मन गहुँ त फल्छ तर के गर्नु र खै बिकासे मल हाल्न नपाएको बेलामा एक जातै फल्दैन ”

यी सबै कुराको अब के अर्थ रहन्छ र ? मैले मनमनै भनेता पनि उहाँको खुट्टा अगाडि बढ्न सकिरहेको छैनन् । घीउ सिमी र तिते करेला लहरिएको थाक्रोमा हेर्नुभो !

“ अलिकति सिमी र करेला हिजै टिपेर झोलामा राख्नु पर्ने तिमीहरु काठमाडौँको सबथोक किनेर नै त खाने हो नि । ”

यहाँदेखि दुईदिनको बाटोमा काठमाडौँ पु¥याइएको सिमी र करेलाले कति छाक पो तरकारीको गर्जो टर्ने होला ? मैले यसो भन्न त सकिँन चुपचाप लागेँ ।

आँगनको छेउका आँपका रुखतिर नियाल्नु भयो । कागतीको बुटालाई पालैपालो हेर्नु भो ! केराको घरीतिर हेर्नु भो !

चारपाँच घन्टा हिँडेपछि बसपार्क पुगिन्छ । म हतार गरिरहेको छु । बा का पैताला फिटिक्कै अगाडि बढ्न खोज्दैनन् । ज्यामिरको बुटा हेर्न थाल्नु भो । काँडा र फलको संगम मीठो फल घोच्ने काँडा जीवन जस्तै । अस्पष्ट र अन्यौल मार्गचित्रमा कोरिएको देशको नक्सा जस्तो जीवन ! हतप्रभ भई छोराको साथमा हिँडनु पर्दा मनले कताकता नमानीरहेको अवस्था एक्लोपनले चिमोटिरहेको अवस्था तर काठमाडाँै गएर झनै पराधिन भै बस्नुपर्छ कि भन्ने आशङ्काका बीचमा कस्तो कस्तो अन्यौल एक प्रकारको बाध्यता असहजता आदि आदि र यस्तै यस्तै ।

गाईको घीउ एक बट्टा झोलमा राख्नु भो । दुई जोर लुगा धोती कछाड, भोटो एकथान, चन्डी र एकथान गिताको किताब रातो कपडाले बेरेको मिलाउनु भयो झोलाभित्र । आमाको सम्झनाको घाउ विसेक भैसकेको छैन बाको । घरको चारैतिर एक फन्को हिँड्नु भयो । बार्दलीमा झुण्डाइएका मकैका झुन्डमा मकै कुहिन लागेको देखिन्थे । मकै पिँधेर गाईलाई कुँडो बनाएर खुवाएर बचेको बाँकी मकै घर जिम्मा लागाएको मानिसले नै जे पो त गर्ला ! म यस्तो सोचिरहेँ । पिँजडामा पालिएका कालिज र च्याखुरा आँगनमा राखिएका थिए । आमा चराचुरुङ्गी भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । उहाँले नै पाल्नु भएको यी दुइ प्राणी आमाको देहवसानपछि टुहुरा भएका थिए । यिनको नियमित स्याहार सुसार पुगेन भनेको बेला चारो र पानी पाएनन् । दुव्लाएका छन् सम्भवतः चाडै नै यिनले आमाको जस्तै इहलिला प्राप्त गर्ने छन् ।

बाको भावनासँ जोडिएका यस्तै थुप्रै कुराहरु छन् । उहाँले रोपेका रुखहरु ठूला भएका छन् । आमा र बाले उमेरमा खेतबारीमा काम गर्दै हामीलाई हुर्काएको पढाएको लेखाएको ति दुःख र कष्टपूर्ण दिनहरुको अत्यन्त लामो श्रृङ्खला छ बासँग । आफ्नो पुर्खाहरुको थलो यिनै ढुङ्गा र माटोसँग आफ्नो बाल्यकालदेखि यो उमेरसम्म निकट भएर बाँच्नु भयो । माटोको मायाले मनलाई आल्हादित बनाउँदो रहेछ । मान्छेलाई जीवन दिने रहेछ माटोले । जीवनका धेरै कुराहरु गाँसिएर आउँदा रहेछन् माटोसँगै । यो समाज, यो ठाउँ, यो घर, यो माटो , यो आकाश यसैसँग गाँसिएका ुकुराहरु छाडेर नयाँ परिवेश नयाँ ठाउँमा जान अह बालाई पटक्कै मन परेको छैन । मलाई सबै थाहा छ हुँदा हुँदै पनि म आफ्नो बाध्यताको पहाडले थिचिएको , कर्तव्यको भारले किचिएको छु ।

“ बा हिँड्नु न अब त ढिला भयो । ”

मैले यसो भनेपछि बाले चश्माबाट मुन्तिर हेरेर मलाई नियाल्नु भयो । उहाँको रसाएको आँखाभित्र मैले पढ्न नसकेका थुप्रै कुराहरु थिए । आँगनको पर्खालमा काँसाको पानी पिउने करुवा उहाँलाई टोलाएर हेरिरहको छ यस्तो भान हुन्थ्यो , बाले टपक्क टिपेर पिँढीमा राखिदिनुभयो । उहाँलाई लागेको हुनुपर्छ यो काँसाको करुवामा ठाडो घाँटी लगाएर पानी पिएर धित मार्ने संस्कृति छोडेर काकाकुल काठमाडोैँको सिसाको सानो गिलासमा पानी पिउनु पर्ने बाध्यतामा स्थानान्तरण हुँदैछु । म आगँनमा झोला ठिक पारेर उभिएको छु ।

“ हेर यो पर्खाल मर्मत गरेर हिँड्नु पर्ने, कुनैदिन आउँदा त तिमीहरुलाई चाहिने होला नी ! घरको छाना दुई तीन ठाउँमा प्वाल छ । छानाका पत्थर कति ठाउँमा फुटेका छन् । फेरेर हिँडनु पर्ने , अब कति वर्षमा फर्किने हो मेरो त के ठेगान ? आफ्नै ठाउँको घाटमा तिथ भए हुन्थ्यो भन्ने लागेको छ । कहाँ लगेर पो फाल्ने भइस् ! ”

बाले यसो भनिरहँदा उहाँको गला अबरुद्ध भैरहेको थियो । यो वातावरण यो परिवेशसँगको उहाँको बिच्छेदन अत्यन्त पीडादायी भइरहेको थियो । म झोला बोकेर अघिल्तिर लागेँ बा पछिपछि बिस्तारै हिड्नु भयो । आगँनबाट निस्केर गोरेटोतिर लाग्यौं । गाईले हम्मा…..गर्न थाल्यो । कुकुर घरी अघि घरी पछि गर्दै लुट्पुटिन थाल्यो । बाले कुकुरलाई लठ्ठीले धपाउन थाल्नु भयो । ऊ फर्किन खोजिरहेको थिएन । कालिज र च्याखुरा पिँजडाभित्र उसरी नै यता उता गरिरहका थिए । बाले फर्किफर्कि घरतिर नियालिरहनु भएको थियो । गाईले हामीलाई हेरुञ्जेल हम्मा… गरी नै रह्यो । हामी राजधानीको निम्ती निस्क्यिौँ डाँडाबाट गाउँ ओझेल भएपछि बाले लामो सास फेर्नु भयो । खुइया…… । गलेको शरिरलाई एकछिन पीपलको चौतारीमा बिसायौँ । चिसो बतासले पीपलका पातहरु हल्लाइरहेका थिए । एक प्रकारको मीठो आवाज पीपलका हाँगामा जुरेली, ढुकुर, हलेसी, कोइली, आदि चराहरुले आआफ्नो आवाज फरकफरक स्वरमा निकालीरहे । बाले फर्केर गाउँतिर हेर्नुभो ओझेल भएको गाउँ, डाँडाले छेकेको हाम्रो बस्ती, बाको आँखा अघिल्तिर आउँन सकेन । गोरेटोको झ्याँङबाट चिवे चरो पुच्छर हल्लाउँदै चुईक ! चिब ! गर्दै फुत्त उडेर गइ गहुँबारीभित्र पस्यो । पहेँलो तोरीका फूलहरु फूलेर मिसिएको हरियो गहुँबारीभित्र त्यो चरो तुरुन्त बेपत्ता भयो ।

पहेँलो गच्छाले पसिना पुच्छनु भो बाले लौरीलाई चिउँडोमा अड्याउँदै भन्नु भो–
“पख एकछिन गाउँतिर फर्केर धित मरुञ्जेल हेर्छु । पुर्खाको थातथलो फर्केर आइएला नआएला । ढुङ्गे धाराको मीठो पानी । मीठो हावा । गर्मीमा पाक्ने आप र मेवा मीठो । जाडोको ज्यामीर जुनार मीठा । आफ्नै गाउँको रहनसहन चालचलन, संस्कृति राम्रो, तिमीहरु सरकारका मान्छे , गाउँ बस्न सक्तैनौ, अर्थात् मिल्दैन । संसारमा आफ्नो जन्मभूमि आफ्नो माटो जस्तो केही हुँदोरहेनछ । मलाई यो माटोको पीडाले यी पाइलाहरु अगाडि बढ्न दिएको छैन ”

“बा हिडौँ छिटो । आजको रात्रीबस भेटाउन गाह्रो पर्छ । बसपार्कमा एकरात बस्नुपर्दा खर्च र दुःख थप छदैछ ”

मैले यसो भनेर बाको एकाग्र मनलाई भङ्ग पारेर उठ्न र हिड्न बाध्य बनाएं ।

मलाई बाटोमा लागिरह्यो– मैले नै बाको इच्छा विरुद्ध पो यस्तो निर्णय गर्न पुगेँ । वर्षौ एकल परिवारमा अभ्यस्त मेरो परिवारमा बाको उपस्थितिले परिस्थिति र वातावरण कस्तो निर्माण गर्ला ? बाको औषधिमूलो र अन्य खर्चको कारण उत्पन्न हुने तनावको समायोजन कसरी गर्ने होला ?

वर्षौको जागिरले पनि राजधानीमा एक टुक्रा घडेरी किन्न नसकेको आत्मग्लानीबाट मुक्त हुन श्रीमती र उनका माइतीका अघिल्तिर अब त ज्वाईँ पनि केही गर्लान जस्तो छन् है भनाउन मात्र पनि भर्खरै मात्र एक टुक्रा घडेरी किनेको थिए । दुई दशक लामो जीवनमा जम्मा गरेको संचयकोष समेत सापटीमा लिएको थिए । साथीभाइसँगको ऋण बाकी नै थियो । घर बनाउने कुरा त सपनामा पनि देखेको थिईन । या त विदेश जानु पथ्यो केही बर्षको कडा परिश्रम गरेर त्यो सम्भव हुन सक्थ्यो । देश भित्रै यो सम्भावना अत्यन्त क्षिण थियो ।

आफ्ना छोराछोरीलाई सधैँभरि उच्च नैतिकताको पाठ पढाइरहुन भो बाले । इमान्दारी, नैतिकता, अनुशासन हामो जीवनका आर्दश भए । मलाई बाको जीवन दर्शनले पछ्याइरह्यो । सोझो कर्मबाट पनि मान्छेको भौतिक संसार कहाँ खुसी हुदोहरेछ र ? जागिरे जीवनले भोग्नु परेको अभाव र पीडाका रेखाहरु श्रीमती र दुइवटी छोरीको अनुहारमा सजिलै पढ्न सकिन्छ ।

हामी दुइ प्राणी । दुई पूस्ता बा अघिअघि म पछिपछि । बाको हातमा लठ्ठी काँधमा उही झोला बर्षौ पुरानो झोलाभित्र बाको साघुरिएको संसार । मेरो पिंठ्यूमा झोला, हामी खोलाको बगर किनार घरि उकालो र घरि ओरालो गदै अपरान्हको अन्तिम घडी बसपार्क पुग्यौ । सबैको किनमेलको थलो । आर्थिक गतिविधी अत्यन्त तीव्र रुपमा हुने स्थान । बालाई बस चढ्नु हुँदैन बान्ता गर्न थालिहाल्नु हुन्छ । पहिला बालाई एभोमिन खुवाए । दुइटा टिकट काटेर हामी बस चढ्यौ । बस राजधानीतिर हुइकियो । करिव एक हजार किलोमिटर लामो यात्रामा हामी यात्रारत भयौ ।

बाकोे अनुहारमा अनेक विचारहरु आउँदै हराउँदै गइरहेको म बुझ्छु । बसको झ्यालबाट पारी डाँडातिर चियाइरहनु भएको छ । वहाँको मौनता वहाँको निम्ति पीडादायी भइरहेको लाग्छ मलाई र म पनि पीडाबोध गरिरहेको छु । बस एकनाशले गुडिरहेको छैन । एउटै गति छैन बसको । हामी लामो यात्रामा निस्किएका थियौ । अचानक राजमार्ग अवरोधमा पर्यौ । रातभर हामी गाडिभित्र नै बस्न बाध्य भयौ । राजमार्ग अबरुद्ध भएको कारण सामान्य थियो । कसैको घरपालुवा जनावर तिव्र गतिको वहानले मारेपछि क्षतिपूर्तिको निम्ति अवरोध गरिएको थियो । यो अवरोधमा विशेष गरि महिला र बालबालिकको विजोग हेरिनसक्नु थियो ।

भोलिपल्ट अपरान्ह यातायात सुचारु भएपछि हामी सबै यात्रीका अनुहारमा युद्ध विजेताको अनुहारमा जस्तै खुसीको संचार भएको थियो । बा धेरै थकित र गलित हुनु भएको थियो । उहाँलाई खानेकुरामा कुनै रुचि थिएन । हाम्रो यो खुसी धेरै लामो हुन पाएन पुनः हामी अर्को यातायात अवरोधमा पर्यौ । यहाँ स्थानीय बासिन्दाले गाउँमा बिजुली बाल्न पाउँनु पर्छ भनि यातायात रोकेका थिए । बिजुली अड्डा सिडियो प्रहरी आदिमा खवर पुगिसकेको थियो उहाँहरु सबैजना उपस्थित भएर मुद्धा मिलाइदिने कामना भन्दा हामीले गर्न सक्ने अर्थोक केही देखिएन ।

यस्ता थुप्रै अवरोध पार गर्दै गाउँबाट हिडेको चौथौदिन मात्र हामी राजधानी पुग्यौ । गाउँबाट टाढा धेरै टाढा । गाउँको परिवेश र सम्झनाबाट मुक्त हुन बालाई निकै समय लाग्ने अनुभव गरे मैले । डेराको वातावरण फेरियो । छोरीहरु असहज महसुस गर्न थाले । बा मानसिक रुपमा नै अझ बढी कमजोर हुन थाल्नु भो । बा आएकै भोलिपल्टबाट बाको औषधि उपचारको क्रम सुरु भयो । घाम देख्न पाइदैन । चौतारीहरु छैनन गाउँमा जस्तो दुईचार जना जम्मा भएर समय व्यतित गर्ने मेलो । छोरीहरु बिहानैदेखि स्कुलतिर लाग्छन् । बडेमाको झोलाको भारी बोकेर, म हतार हतार दुई गाँस टिपेर दश बजेभित्र अड्डा पुग्छु । श्रीमती घरको कामले लखतरान ।

चिसो लागेछ बालाई । रातभर खोक्न थाल्नु भो । छोरीहरु भन्छन्–
“हजुरबाले रातभर सुत्न दिनु भएन ।”

श्रीमती भन्छिन्–
“ हेर्नोस दिनभरको कामले लखतरान रातभर बुबाले सुत्नै दिनु भएन ।”

म आफै पनि त निदाउँन सकिरहेको छैन । खोकिको औषधिले छुन सकेन बालाई ।

एकाबिहानै घरपेटि भन्छन्–
“ए हजुर यो घरभरिका सबै मान्छेलाई डिष्र्टब भयो डेरा सरिदिनोस् ।”

म अवाक् हुन्छु । यसको कुनै स्थायी सामाधान छैन । डेरा सर्नुले कुनै तात्विक असर त गर्दैन । म भनिदिन्छु–
“हुन्छ म प्रयास गर्छु आजैबाट डेरा खोज्न थाल्छु ।”

पाँच जनाको परिवार बोकेर काठमाडौँमा डेरा खोज्न म हरेक दिन भौतारिन थालें । कार्यालयका सबै साथीहरुलाई कतै सस्तो डेरा भएमा खवर गरिदिन अनुृरोध गरेँ । दिउँसोको कार्यालय , बिहान बेलुका कलेजतिर पार्टटाइम गर्न सकिएन भने बाँच्नै गाह्रो । श्रीमतीले डेढ महिना अघि क्युमा राखेको ग्याँसको पालो आएको छैन ।

बिहानै एक टुक्रा पाउरोटी र एक कप चिया खाएर पढाउन हिड्नु पर्ने । ग्याँस सकिएछ । हिटरको स्वीच थिचें , लाइन छैन । छोरीहरु आठ बजेभित्र स्कुल पुग्नुपर्छ । श्रीमतीलाई मट्टितेलको लाइन बस्न जाउ भनेर पठाएँ । मट्टितेलको लाइन मैतीदेवी चोकबाट डिल्लीबजार पीपल बोटसम्म पुगेको छ । बाथरुममा पानी छैन घरपेटीलाई सोध्दा भन्छन्–
“एक महिना भयो डेरा सर्नु भनेको खै त ? अझै पानी भएन पो भन्नुहुन्छ त बा ! खै र लाइन ? बिजुली नभएपछि मैले आफै बोकेर ट्याङ्कीमा लगेर हाल्ने ?

यस्तो तिक्त वाक्य सुनेपछि लाग्यो काठमाडौमा नै बस्न नपरे हुन्थ्यो । कतै जिल्लातिर सरुवा मिलाएर हिड्न पाएपनि हुन्थ्यो । यसरी कतिदिन सम्म गुजारा गर्न सकिएला ? छोरीहरुलाई चिउरा, दालमोठ र बिस्कुटको बन्दोवस्त गरिदिएं । बिहानै पाँच बजे उठेर नुहाउने बुुबाको दैनिकी । कतिदिनदेखि नुहाउन पाइन भनेर बा गनगन गरिरहनु भएको छ ।

हामी अत्यन्त तनावपूर्ण जीवनशैली जिउँन अभ्यस्त भैरहेका छौ । बा भने साह्रै नै असहज महसूस गरिरहनु भएको छ । बा भन्नुहुन्छ–
“तैले मलाई काठमाडौँ ल्याएर थुनुवा पारिस् । ”

गाउँ सास्कृतिक विविधता युक्त ठाउँ । सहर भौतिक संसार , गाउँको माटोमा सुगन्ध छ । सहरको हावापानी माटो लागयतमा प्रदुषण मिसाएर बाँच्न विवश छ । प्रदुषित हावा पानी बालाई पट्टकै मन परेको छैन । यान्त्रीक जीवनशैली बाचिरहेका मानिसको भीडमा कसैले बालाई सोध्दैन कता हिड्नु भएको ? कसैले बालाई वास्ता गर्दैनन् । वा यसो भन्न सकिन्छ बा आफ्नो बृहत् संसार छोडेर सानो संसारमा आइपुग्नु भयो, उहाँ छट्पटाइरहनु भएको छ स्वतन्त्र उडानका खातिर ।

म भन्छु–
“बा नआत्तिनोस् बानी परिन्छ विस्तारै । बिहानै पशुपति जानू । विहानको समय विताउन सहज हुन्छ ।”

बा भन्नु हुन्छ –
“बिहानको दुइघन्टा समय बिताएर के गर्नु सिङ्गो दिन अनि पट्यार लाग्दो रात के गरि बिताउने ? मलाई कहिले गाउँ लगेर छाडिदिन्छस् ? म यहाँ बन्धनमा परेँ । यो बन्धनबाट मलाई छिट्टै मुक्त गरिदे ”

म अनुभव गर्छु बाको पीडा अत्यन्त बढ्दो छ । सहरीया जीवनशैली उहाँलाई पटक्कै मन परेको छैन । डेरामा पनि मुक्त कन्ठले पाठ गर्न पाउनु भएको छैन । रामायण र महाभारतकरा श्लोक ठूलो स्वरले भट्याउन पाउनु भएको छैन । हुक्कामा तमाखु खाने कुरै भएन चुरोट समेत खाँदा पनि बाहिर आँगनमा निस्किनु पर्छ । केटाकेटी र मेरो श्रीमती नाक खुम्च्याउन थाल्छन् । छोरीहरु सोध्छन् –
“ हजूरबा अब सधैं हामीसँग बस्नुहुन्छ ”

श्रीमती भन्छिन्–
“ बिचरा बुबा गाउँमै स्वतन्त्र हुनुहुन्थ्यो । आफ्नो किसीमले बाँचिरहेको मानिसलाई हजुरले यो के गरेको ? उहाँलाई त यो डेरा, यो सिङ्गो काठमाडौँ जेल जस्तो भएको छ रे ”

म पनि दोधारमा परेँ । मैले बालाई काठमाडाँै ल्याएर सहि निर्णय गरे वा गलत ? बारम्बार मनमा यस्तो प्रश्न आइरह्यो । हामी ६ महिना वर्षदिनमा डेरा सर्दै रह्यौ । कतै पानीको समस्या चर्को । कतै बत्ति बाल्न नपाइने कतै बालाई नै चिसो लागेर विरामी पर्ने । हिजो आज बा उसो पहिलेको जस्तो बोलेको सुन्दिन म दिनभरको कार्यालयको काम र बेलुका पार्टटाइमको थकान बोकेर घर फर्किदा प्रायः बा सुतिसक्नु भएको हुन्छ । के खानु भो ?कति खानु भो? सञ्चो विसञ्चो पनि सोध्ने फुर्सदसम्म छैन । बढ्दो महंगीको चपेटामा परेको दैनिकी धान्न म दिनप्रतिदिन मेसीन जस्तै काम गरिरेको हुन्छु ।

कहिले श्रीमती बिरामी , कहिले छोरीहरु , बाको औषधि । कुनै महिना त तलबको आधा भन्दा बढी रकम नै औषधि उपचारमा झ्वाम् । हरेक महिना कोही न कोही डक्टरकोमा जाने क्युमा रहेका हुन्छौ । कछुवाको तालमा घिस्रिएको यो अवस्था देखेर हुनसक्छ श्रीमती कहिँलेकाहि रुन्छिन् ।

“ या त हजूर विदेश जानोस् या त म जान्छु । सबै दिदी बहिनीका अगाडि लाजै भैसक्यो । उहिले किनेको घडेरीमा अहिलेसम्म जाबो चारकोठे छाप्रो त बनाउन सक्नु भएको छैन । जग्गा किनेको ऋण त तिरेर सकिएको हैन । खै हाम्रो त सुख्ख देख्ने दिन कहिले हो । यो जुनिमा त कुन्नी अर्को जुनिसम्म पर्खनुु पर्ला ”

म आफूलाई एकैसाथ थुप्रै विच्छीले टोकेको अनुभव गर्छु । लाग्छ मेरो टाउकोलाई भोकाएको अरिङ्गालले लुच्छदैन् , टोक्दैछन् । म भविष्यको आशावादी क्षितिज खोज्दै टोलाउँछु । मात्र टोलाइरहन्छु । श्रीमती एक्कासि चिच्याउँछ्नि–
“के सोचेको यस्तो धेरैबेरदेखि खाना तताएर चिसो भैसक्यो । सुन्नु भएन ? ”

म झस्किन्छु दुई गाँस टिपेर सुत्ने प्रयास गर्छु । प्रयास निरर्थक हुन्छ । आँखामा निन्द्राको लक्षण छैन । थुप्रै साथीहरुका प्रगतिका कथाहरु सम्झिन्छु । उनीहरुका भौतिक सुखसुविधाका चित्रहरु आउँछन् मानसपटलमा । सुखी मानिसहरुलाई देखेर आफू दुखी हुने हामी मानिसहरुको जात ।

रात छिपिदै थियो । बा तन्द्रामा बरबराइरहनु भएको थियो ।

“ म गाउँ जान्छु मलाई गाउँ पु¥याइदे । अहँ अहँ म यहाँ बस्दिँन । म बस्दिँन । खै मेरो बारी ? खै मेरो आँगन ? खै मलाई धाराको पानी ? खै जरुवाको एक करुवा चिसो पानी मलाई ? म अकालमा मर्दिन । मलाई बचाऊ मलाई गाउँ पु¥याउ । ”
मैले बालाई हल्लाएँ । बा बा !!! भनें । बा चुप लाग्नु भयो । तर पनि छट्पटाइरहनु भयो । ओल्टेकोल्टे फेरिरहनु भयो ।

मैले निर्णय गरें म भोलि नै बालाई गाउँ पु¥याइदिन्छु । म पनि भोलि नै जिल्लातिर सरुवा मिलाएर जान्छु ।

बिहान मैले बालाई भने–
“ बा आज हामी गाउँ जाने । म बालाई गाउँ पु¥याइ आउँछु ”

बाको अनुहार अत्यन्त हर्षित देखियो । साँच्चै भनु मैले बालाई आजजस्तो खुसी कहिल्यै देखेको थिईनँ

-अछाम

(स्रोत : Satakosahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.