~जीवन ‘सागर’ भण्डारी~
जुन फूललाई पानी दियौँ, जुन फूललाई मल हाल्यौं
आज फेरि पापी बन्यौ, त्यै फूललाई टिप्न थाल्यौं ।
तिम्रा हरेक स्वार्थहरु कसो गरी सिद्धि गरुँ
सहिदिन्छु चुपचाप कसोगरी जिद्धि गरुँ
मन्दिरमा चढाऊ मलाई पूरा गर धर्म-कर्म
कस्ले बुझ्छ फक्रिएको सुनाखरी फूलको मर्म ।
यति सुन्दर जवानीको रहर लाग्दो आशा थियो
रुपै शत्रु रैछ मेरो यै रुपले ज्यान लियो
सकछौ भने फूलै बन यत्रतत्र खुश्बु छर
सक्दैनौ त मेरो संसार भत्काउने काम नगर ।
-कास्की
(स्रोत : मधुपर्क २०६८ पुस)