~ऋचा भट्टराई~
किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब भए झन् राम्रो । ती किताबको तिख्खर मीठो बास्नाको त लतै बसेको थियो ।
सकिनसकी किताब पढेर आधाउधी बुझ्ने काम त खुब रमाइलो लाग्थ्यो, तर त्यसपछि त्यो रोमाञ्चक पठनको मूल्य चुकाउनु पथ्र्यो,किताबको समीक्षा गरेर । बुवाको ऊर्दी थियो, किताब सकेर त्यसबारे कम्तिमा एक पाना नलेखेसम्म अर्को किताब छुन नपाइने । किताबको अन्तिम पाना पल्टाएपछि कलम टोक्दै हामी दिदी–बहिनी सोच्न थाल्थ्यौँ, अब के लेख्ने होला ? जसोतसो पुस्तकको संक्षेप र पढ्दाखेरि उब्जेका भावना केटाकेटी पाराले कोरेर बुवालाई खुशी पाथ्र्यौं ।
एक दिन पुराना किताबको चाङ खोतल्दै जाँदा कुनामा लुकिरहेको भेटेँ, द प्याभिलियन अफ वुमेन । मलाई प्याभिलियन भनेको थाहा थिएन, तर त्यो अज्ञानताले किताब खोल्नबाट रोकेन । यसकी लेखक पर्ल एस बकको नामसँग पनि परिचित थिइनँ । तर मनमा उनको आकृति बनिसकेको थियो : मोती जस्तै गोरी र आकर्षक यौवना । फेरि, गाताले पनि मन तानिसकेको थियो,कन्फुसियसको झल्को दिने एउटा मोटे जुँगे मान्छेको छेउमा अति शालीन मुद्रामा विराजमान सुन्दरी । यिनको कथा पत्ता लगाउने उत्सुकताका साथ त्यसभित्रका मसिना अक्षरलाई निध्याउन थालेँ ।
पहिलो पृष्ठमै यस्तो वाक्य भेटेँ : ‘म्याडम वुले निर्णय गरिसकेकी थिइन्, उनी आफ्नो श्रीमान्लाई कन्क्युबाइन ल्याउन भन्नेछिन् ।’ ‘कन्क्युबाइन’ भन्ने शब्द पहिला पढेकी र सुनेकी थिइनँ, अनौठो लाग्यो । फेरि पनि पढेँ तर केही मेसो पाउन सकिनँ । कुनै फलको नाम हो कि, वा यन्त्र हो ? म्याडम वु को श्रीमान्लाई किन कन्क्युबाइन चाहिएको होला ?
यस्ता अप्ठ्यारा शब्द आएपछि मिचेरै अघि बढ्ने मेरो बानी थियो । लाग्थ्यो, अरू कुनै प्रसंगमा
प्रयोग भएपछि शब्दको अर्थ खुलिहाल्छ । त्यसैले कन्क्युबाइनलाई बेवास्ता गर्दे अगाडि बढेँ । तर, अर्को पानामा फेरि भेटियो त्यही शब्द । भएन, यसको महिमा पत्ता लगाउनै पर्यो । बुवालाई सोध्न भनी छेउमा गएर उभिएँ, तर उहाँ कुनै प्राध्यापकसँग बात मार्दै हुनुहुन्थ्यो । उहाँलाई बोलाउनु उचित लागेन, कुदेर शब्दकोशको पर्खाल छेउ पुगेँ । त्यहाँबाट छानेर मलाई सबैभन्दा मनपर्ने शब्दकोश निकालेँ । कालो गाताले मोरेको, बाबुलाल प्रधानको अङ्ग्रेजी–नेपाली शब्दकोश ।
‘कन्कर’ भन्दा माथि औँलाले शब्द पहिल्याउँदै गएँ, र टक्क अडिएँ कन्क्युबाइनमा । आँखा पनि त्यही शब्दार्थमा टाँसिए – अवैधानिक ढंगमा विवाह गरिएकी श्रीमती, ल्याइते, रखौटी । रखौटी † पढ्नेबित्तिकै मुटु जोडले धड्कियो, हात चिस्सिए, ज्यान सिरिंग भयो । शब्दकोशलाई ढ्याम्म बन्द गरेँ र खातमा मिलाएर राखेँ । मनमा लाग्यो, यो त कस्तो फोहोरी शब्द रहेछ । बल्ल पो बुझेँ,उपन्यासकी नायिकाले आफ्ना श्रीमान्लाई सौता ल्याउन प्रेरित गर्दै रैछिन् । त्यस्तो पनि कसैले गर्छ ? मलाई त्यो वाहियात लाग्यो र किताब पढ्न छाडिहाल्ने निर्णय गरेँ ।
तर, भर्खरै हात परेको उपन्यास पन्छाउन कम्ता गाह्रो परेन । ‘ठूला मान्छेको लागि रहेछ,’ चित्त बुझाउने कोशिस गरेँ । तर, अहँ, मन उडेर त्यही किताबको गातामा बसिहाल्थ्यो । सहनै सकिनँ, फेरि तिनै पहेँला पाना पल्टाउन थालेँ । डर लाग्यो,बुवाले आएर किताब फाल्दिनु भयो भने ?
मैले पढ्दै गरेको पत्रिका तीन चोटी थुतेर अभिभावकले लगिसक्नु भएको थियो । पहिलो पटक म साधना मासिकमा एउटा भयावह सत्य घटना पढ्दै थिएँ । जहाज दुर्घटनाका कारण कुनै निर्जन वस्तीमा पुगेपछि त्यसका यात्रुले बिस्तारै सहयात्रीलाई मारेर खान थालेको बयान थियो । काँचो मासु टोकेको संस्मरण पढेर कहालिदैँ थिएँ, काकाले सरक्क मेरो अघिल्तिरबाट किताब तान्नुभयो । म चहिँ केही भएकै छैन जसो गरी लुसुक्क एकातिर लागेँ ।
त्यसको अलि खेप पछि युवामञ्च मासिकको नियमित स्तम्भ ‘विचित्र संसार’ मा सचित्र वर्णन थियो, सर्पको मासु खाने मान्छेको । म त्रस्त हुँदै त्यो मान्छेको उदांगो मुख अनि त्यसभित्र आधा छिरेको साँपलाई नियाल्न थालेँ, बुवाले देखिहाल्नु भयो । त्यो दिनदेखि त्यो पत्रिका घरबाटै निषेधित भयो । र, तेस्रो चोटी बुवाका एक मित्रले लामो रेल यात्रामा पढ्न किन्नुभएको पत्रिका मलाई दिनुभएको थियो । नाम थियो, क्राइम एण्ड पनिस्मेन्ट । झट्ट सुन्दा रसियन क्लासिकको झल्को आए पनि पत्रिका भने त्यसको ठीक उल्टो थियो,हत्या, डकैती र बलात्कारका सनसनीपूर्ण व्याख्या र तस्वीर पानाभरि अटेसमटेस थिए । अलि दिगमिग लाग्दै, अलि रोमाञ्चित हुँदै पढ्न थाल्दै मात्रै थिएँ, बुवाले भन्नुभयो, “म एकचोटी पढौँ है, नानी ?” त्यसपछि त मैले के पाउनु त्यो पत्रिका, एक हप्ता जति पछि दराजको माथि कच्याककुचुक परेर खुम्चिरहेको देखेँ ।
यसरी तीन चोटी पत्रिकाबाट अलग्गाइएकी म, यो किताब मेरो उमेर सुहाउँदो होइन भन्ने जान्दा जान्दै पनि गुमाउन चाहन्नथेँ । वर्षौँअघिको चीनको सम्भ्रान्त परिवारका सदस्यका पात्र मनमा अटिसकेका थिए, तिनको जीवनशैली जान्ने चाह उब्जेको थियो, सरल लेखनशैलीमा रस बसिसकेको थियो । लेखककै अर्को किताबले नोबेल पुरस्कार पाएको पनि उनको परिचयबाट थाहा लागेको थियो । त्यसैले यो किताब पढ्दा कसैलाई खासै आपत्ति नहोला भनि आफैँलाई थामथुम पारेँ, आफ्नै धड्कन सम्हालेँ । फेरि, उठाएँ त्यो थोत्रो किताब ।
दुई सय पृष्ठको उपन्यासले मलाई बेग्लै संसारमा पुर्यायो । सानो नीलो पोखरीमा पैताला चोबल्दै कमलका फूलका डाँठ ताछेर खाने महिला, चामलको पिठोभित्र राता दाना हालेर मिठाइ पकाउने भान्छे, सानैमा खुट्टा कपडाले बेरेर मसिना गोडा टेकेर हिँड्ने केटी, सुखी भइकन पनि खुशीको खोजीमा भौँतारिदै हिँडेको परिवार, हवाइजहाज देख्दा ट्वाल्ल परि हेर्ने चिनियाँ समाज । अमेरिकी केटाकेटीको बहादुरीको बखानमै अल्झिएको मेरो पठनलाई यो किताबले एउटा ढोका खोलिदियो ।
पढेर खुब मजा त आयो, तर अब समीक्षा लेख्नु पर्ने भयो । कलममा मसी भरेँ, पानाबाट धुलो फुके जस्तो गरेँ, बस्ने चकटी मिलाएँ । त्यसपछि सुरु गरेँ,चीनको एक प्रान्तमा म्याडम वु र उनका परिवार आनन्द र शानसँग जीवन बिताउँदै थिए । बाहिरबाट हेर्दा असाध्यै समृद्ध परिवार लागे पनि उनीहरू उदास थिए । किनभने, म्याडम वु ले घरमा कन्क्युबाइन… यहाँनिर म अडिएँ । यताउति हेरेर मन बहलाएपछि फेरि थालेँ – … कन्क्युबाइन ल्याउने निर्णय गरिन् ।
यति लेखिसक्दा औँला फतक्कै गले । तिर्खा लागेजस्तो, किराले टोकेजस्तो, जीउ चिलाएजस्तो भो । अब बुवाले मेरो लेखनी वाचन गर्दा म कसरी छेउमा बसौँ ? लाजले गाला तात्न थाले । यसो उम्किने बहाना खोज्दैथिएँ, अदिती आइपुगी । मेरी छिमेकी साथी र प्रतिद्वन्द्वी । एकछिन छुट्टिएर बस्न पनि नसक्ने, फेरि भेटेपछि अनेक बखेडा झिकेर एकजनाले बडेमानका आँसु झार्दै घर कुद्ने ।
”कत्ति होमवर्क गर्या, बाहिर खेल्न जाउँ !“ उसले हात तानी । मैले झट्कारी दिएँ । “लेख्न लागिराछु, अहिले आउन्न ।”मनमनै उसले फकाएर लगोस् भन्ने चाह थियो । कम्तिमा शब्द संघर्ष गर्दै बस्नुपर्दैन थियो । “आऊ न क्या, मैले चुकुडबित्ता पनि बनाइसकेँ,” उसले मायालु अनुहार बनाई । हाम्रो एकखुट्टे जस्तो हैदराबादको चुकुडबित्ता, साह्रो माटोमा लठ्ठीले कोर्न पनि भ्याइसकिछे । “घाम छ,” मैले फेरि भनेँ । “गुलमोहरको रूखमुनि हो, कति गनगन गरिराखेकी !”
सधैँ उसको घरको गेटैमा डाक्न जाने साथी आज आनाकानी गर्दा छक्क परी होली । झ्याल बाहिरको संसारले बोलायो । कापी कलम छाडेर दौडे उसँगै । दुई घण्टापछि स्वाँ स्वाँ गर्दै घर पस्दा आमा खाना पस्किने सुरसार गर्दै हुनुहुन्थ्यो । लौ, खाना खाएपछि त बुवालाई अभ्यास बुझाएझैँ एक पाना रचना बुझाउनु पथ्र्यो । अरू केही उपाय नदेखेपछि खाटमा पल्टिएर धमाधम कलम चलाएँ । सुत्नु अघि हामी दिदी–बहिनी आ–आफ्ना लेखकीय खजाना बोकी बुवा–आमा अघि पुग्यौँ । बुवाले पहिला दिदीको पढ्नुभयो र केही सुझाव दिनुभयो । उनी उम्किइन् ।
अब पालो मेरो । पानाको माथि किताब र लेखकको नाम देख्ने बित्तिकै बुवाको मुहार उजेलियो । समालोचना उहाँको अति प्रिय विधा भएर हो कि ! सस्वर वाचन गर्न थाल्नुभयो,“बाहिरबाट हेर्दा असाध्यै समृद्ध परिवार लागे पनि उनीहरू उदास थिए । किनभने म्याडम वु…” यहाँ अलि केरमेट भएको थियो, बुवा रोकिनुभयो । तल्लो अनुच्छेदबाट फेरि शुरु गर्नुभयो, “किनभने म्याडम वुलाई केक बनाउन आउँदैन थियो ।” बुवाले पुलुक्क मतिर हेर्नुभयो ।
मेरा आँखा भुइतिर गाडिए । बुवाले यो किताब पढिसक्नु भएको रहेछ भने ? छोरीले यो हुँदै नभएको कुरा लेखेकी भनेर मेरो लेखनीलाई फेरि कहिल्यै विश्वास गर्नुभएन भने ? तर बुवाले केही भन्नुभएन, अघि बढ्नुभयो,“म्याडम वुको यही कमजोरीले उनका श्रीमान् दुखी थिए र उनका छोराहरू पनि अरूको घरमा गएर केक खान्थे । एक दिन म्याडम वुले मीठो केक बनाउन सिक्ने निर्णय गरिन् । उनले यसको तालिम लिइन् र छिटै नै केक पकाउन जान्ने भइन् । उनका परिवार पनि खुशी भए र श्रीमान्ले त्यसपछि कहिल्यै गुनासो गरेनन् ।”
कथाको संक्षेप लेखेपछि मैले मनलाग्दी व्याख्या गरेर समीक्षा टुङ्ग्याइदिएकी थिएँ । अन्त्यसम्म पढेपछि बुवाले सानो सही चिन्ह लगाइदिनुभयो, म पास भएँ ।
म्याडम वु को काल्पनिक पाक शिल्पले ज्यान जोगायो ।
———
त्यसको डेढ दशकपछि, पहिलोपल्ट केक बनाउन हौसिँदै थिएँ । ठूलो भाँडामा मैदा र चिनी अनि कोको पाउडर एकैठाउँ घोलेँ, मीठो हुने आशामा धेरै घ्यु मिसाएँ, अलिकति काजु छरेँ । आधा घण्टाको अधैर्य पर्खाइपछि ओभनबाट निकाल्दा केक एकतिर पटपट फुटीराखेको थियो, अर्कोतिर खोपिल्टो परेको थियो । झन अर्कोपट्टि त कालै डढेको थियो ।अर्को कोठाबाट आमाले सोध्नुभयो, “कस्तो भयो ?”आमालाई उत्तर दिन खोज्दा मैले बाल्यकालमै सिर्जना गरेकी केक सम्झिएँ ।
मेरो मुखबाट फ्याट्ट निस्कियो, “म्याडम वु को जस्तो !”
प्रकाशित: कार्तिक ८, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )