म यही जेलभित्र जन्मेको हुँ । यसका भित्तामा टाँसिएको रङीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै आएको हुँ । हावाको गति अनुसार ती हल्लन्छन् र झर्छन् पनि । धेरैजसो मेरा बाबु र आमाले त्यसलाई यथावत् राख्न कोशिश गर्छन् । हावा चल्ने मौसम छ । जति राखे पनि त्यो झरिहाहल्छ । झर्को लागेर मेरा बाबु र आमा केही नगरी बसिदिन्छन् ।
अनि पाले आएर झ्याल थुनिदिन्छ ।
कोठालाई स्वच्छ राख्ने हावा र प्रकाश त्यहाँ छिर्नै सक्दैन ।
आमा बाबु र पालेले प्यारो गरेको त्यो तस्वीर र क्यालेण्डरहरु मेरा बाल्यकालदेखिका आनन्दकारी रमाइला खेलाउनाहरु हुन् । मैले ती आफ्ना प्यारा वस्तुहरुलाई के हुन् जान्न उत्सुक भएँ र बाबुलाई सोधेँ- “यी सब के हुन् ?”
– “यो तेरो देश हो । यो तेरो बाटो हो । यो तेरो लक्ष्य हो । यो तेरो धर्म हो । यो तेरो कर्तव्य हौ- यी सब तेरा आदर्शहरु हुन् ।”
मैले आज अनुभव गरेको छु यो जेल मलाई जगैदेखि ढाल्ने एउटा साँचो हो । मैले यति सानॊ परिधिभित्र जिन्दगीका धेरै यातनाहरु भोगेको छु । आज मलाई थाहा छ मेरो जिन्दगीको यथार्थ मैले पाएको शिक्षा अनुरुप छैन । ती सब बाल्यकालका खेलाउना मात्र थिए । आज त्यो संस्कारलाई मेरो चेतनाले खाइसकेको छ । मलाई ती पुराना अनुहार वार र तिथिहरु देखाउने खेलौनाहरुसित केही मोह छैन ।
यो कोठा हाम्रो दिसा-पिसापले खपिनसक्नु दुर्गन्धित छ । मेरा आमा र बाबु अँध्यारोले कुहिएर नराम्रो मान्छे गन्हाई रहेछन् … ।
दुर्गन्ध खप्न नसकी मैले धेरैचोटि झ्याल खोलेँ । प्रत्येकचोटि पालेको डण्डी मेरो टाउकोमा बजि्रयो । मैले आमासँग भनेँ- “म यो जेल फोर्छु । त्यो पालेलाई मार्छु । म यी थोत्रा तस्वीर र क्यालेण्डरहरुसँग मात्र बाँच्न सक्तिनँ- तपाईंहरु कुहिएको गन्धभित्र बाँच्न सक्तिनँ ।”
जतिसक्दो लामो जिभ्रो निकालेर आमा र बाबु दुबै जनाले भने- “स्तो विद्रोही कुरा नगरेस् आइन्दा । हाम्रा भाग्यमा यस्तै लेखेको छ । यी हाम्रा पुर्ख्यौली धन माल हुन् । तँ कैदीको छोरो होस् । तेरो उमेर पुगेको छैन । गर्न केही सक्तैनस् । तँलाई यही मोज छ ।”
“तपाईंहरु किन नयाँ मान्छे जन्माउनु हुन्न म जोसँग रमाउन सकूं , जसको साथमा म केही नयाँ गर्न सकूँ ।?”
“तेरी आमा जो समय हो थारी छे ।”- मेरो बाबुले सजिलै भनिदिए ।
“हैन तेरो बाबु जो पुरुष हो पौरुषहीन नपुङ्सक छ ।” – आमाले झोक्किँदै भनिन् ।
म जान्दिनँ यी दुईमा को ठीक थिए । अनि मैले आमालाई भनेँ- “उसो भा, तयार होऊ म ऋतुदान गर्छु । यहाँ नयाँ मान्छे जन्मनै पर्छ ।”
मलाई थाहा भएन मेरो के गल्ति भयो । दुबै ममाथि झम्टिए । थिचे मिचे र बाँधेर कुटे । आमाले मलाई वरण गरिनन् । बाबुले मेरो मर्यादा यो हैन भने । उकुसमुकुसिँदो वातावरणमा बाँधिएर बसेको छु । यो कुन मर्यादा हो म जान्दिनँ ।
मलाई स्पष्ट छैन आमा थारी हो या बाबु नपुङ्सक । म सधैँ मलाई बाँध्ने मर्यादाको बिरुद्धमा छु । म सधैँ जेलको बिरुद्धमा छु । अर्को पोइ वरण गर्न नसक्ने आमाको बिरुद्धमा छु । मर्यादाको दुहाई दिने नपुङ्सक बाबुको बिरुद्धमा छु ।
र त्यसैले म सधैँ आफ्नी आमा- जो मलाई जन्मदिने समय हो- लाई बलात्कार गर्ने दाउमा छु ।
०७।११।०२८
॥मन्त्र॥ ६ , क्षितिज, कालो कथा (०३६) , मुक्तिप्रशंग का अस्वीकृत कथाहरू (०४७) , र नग्न यथार्थ (०६७), बाट
(स्रोत : रचनाकारको ब्लगबाट सभार )