~फणीन्द्र फुयाल ‘ज्वाला’~
मलाई नव वर्षको शुभकामना चाहिंदैन
किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे,
कसैको शुभकामना र शुभेच्छाका शव्दले
कसैको साँझ–बिहानको छाक टर्दैन
त्यसैले मलाई
नयाँ वर्षको शुभकामना चाहिंदैन ।
सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य
आम नेपालीलाई रोजगारीको ग्यारेन्टी देऊ
अकालमा मृत्युवरण गर्न बाध्य
आम नेपालीलाई ओखती देऊ ।
मलाई तिम्रो आडम्बरी चाहिएको छैन,
दयाको भिख माग्ने पनि म होईन
म त केवल आफ्नैं श्रम र पसिनामा
रमाउने एक आम नेपाली हुँ
म कसैको आशिर्वाद होइन,
अधिकार खोजिरहने आम श्रमजीवी नेपाली हुँ
त्यसैले मलाई शुभकामनाका फोस्रा दुई शव्द चाहिदैन ।
भो मलाई चाहिएन तिम्रा
शुख, शान्ति र समृद्धिका शुभकामना
मलाई तिम्रो मुर्दाशान्ति र श्रम बिनाको शुख पनि चाहिएन
श्रम र पसिनामा सिर्जित समृद्धि मात्र मलाई स्वीकार्य छ
म नयाँ वर्षको विरोधी होइन
ख्याल गर,
म पनि तिमी जस्तै
नयाँ युग र नयाँ समयको पक्ष मैं छु
तर
म कसैको आशिर्वाद र शुभकामनाको भोको छैन
त्यसैले मलाई
नयाँ वर्षको शुभकामनाको सन्देश चाहिंदैन ।
(स्रोत : Nepalpati)