कवि अन्धकार ठाउँमा गयो भने
आकाशसँग कुरा गर्र्छ
क्षितिजसँग
घामसँग कुरा गर्छ
छायाँसँग ।
ऊ पाखा-भित्तासँग कुरा गर्छ
बन जँगलसँग
खोलासँग कुरा गर्छ
बारी र खेतसँग ।
ऊ चराहरुसँग कुरा गर्छ
हावामा फरफराउने ध्वजासँग
ऊ गाईवस्तुसँग कुरा गर्छ
कुकुरको भुकाई र कुखुराको डाँकसँग ।
ऊ शुन्यतासँग कुरा गर्छ
वाचाल मानिसहरुसँग त कति-कति
कवि अनकँटारमा गएपनि
कहिले एक्लो हुँदैन ।
तर अनकँटारमा, खासगरि जूनेली रातमा
या भनौ कालो अन्धमुष्टि रातमा
जब एक्लो बाँसुरी बज्छ
या टुड्ँना
तब कविको मन
उडेर त्यहाँ पुग्छ
जहाँ उस्लाई सम्झनेहरु छन्
माया गर्नेहरु छन् ।
उसलाई निन्द्रा लाग्दैन
ऊसंग कसैसंंंग बोल्ने बोली पनि हुँदैन
ऊ रुन्छ, उसभित्रको साधारण ब्यक्ति पनि रुन्छ
उसलाई कि त ताराहरु बिचको एकठाउँँ वगटन मन लाग्छ
कि कालो रातको सबभन्दा माथिको एक भाग ।
उसलाई निन्द्रा लाग्दैन
ऊसंग कसैसँग बोल्ने बोली हुँदैन ।