”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले बोल्ने बेला भै सकेको थिएन । खेलको रमाइलोमा इशानले अँध्यारो हुन लागेको पनि पत्तै पाएन छ ।
”पाठ त अघि नै गरिसकेँ, हजुरबा ! पाठ सकेर बहिनीसँग खेलेको ।” हजुरबाका कुरा सुनेर जवाफ दिँदा पनि उसका आँखा भने झलमल्ल बलेको बिजुलीतिरै थिए । हरेकको घर घरमा बल्ने बत्ती सुरुदेखि नै यस्तै थियो होला त ? उसलाई धेरै दिनदेखि बत्तीको बारेमा जान्न मन लागिरहेको थियो । त्यसैले हजुरबासिसँग भन्यो– हजुरबा, बत्तीको कथा सुनाउनोस् न, है आज !
“ओेहो, कति राम्रो कुरा सोध्यौ तिमीले ! हो त नि, आफूले सधँैं देखिरहेको कुरा केहो, थाहा पाइराख्नु पर्छ । बिजुली बाहेक अरु कुन कुन बत्ती देखेका छौ तिमीले ?” इशानको इच्छा सुनेर हजुरबा असाध्यै खुसी हुनु भयो ।
“हजुआमाले बिहान बेलुका उयताको पूजा–आरतीमा गर्दा बाल्ने बत्ती देखेको छु ।… अनि …कहिले काहीँ बिजुली नआउँदा मैन बत्ती बालेको पनि देखेको छु मैले …!” इशानले सम्झँदै भन्यो ।
“हो, ठीक भन्यौ । तर बिजुली र मैनबत्ती हाम्रा धेरै गाउँघरमा पाइँदैनन । बिजुली नभएका गाउँघरतिर कोही मटितेलमा कपडा डुबाएर टुकी बाल्छन् । कोही त्यसरी नै लाल्टेन, मैण्टोल बाल्छन् । अझ मटिलेत नपाउँदा गाउँका मािसहरू चिल्लो खोटो हुने सल्लो र अरु रुखका हाँगा आदिको दियाले बनाएर पनि काम चलाउँछन् बुझ्यौ !” ल सुन म अब बत्तीको कथा सुनाउँछु, ध्यान दिएर सुन है त !
आगोको आविष्कार भै सके पनि सुरु सुरुमा मानिसले बत्ती बालेर अँध्यारो हटाउन जानेका थिएनन् । उनीहरूले शिकार गरेर ल्याएका जनावरका हाडखेर कहिले काहीँ आगोमा पर्दा धेरै बेरसम्म बलेको देखे । त्यो देखेर उनीहरूले यस्तै कुरा अगोमा हाल्दा धेरैबेरसम्म उज्यालो आउँदो रहेछ भन्ने थाहा पाए । हाडमा बोसोजस्तो चिल्लो पदार्थ हुने भएकोले त्यो धेरैबेरसम्म बल्थ्यो र त्यसबाट अलिअलि उज्यालो आउाँथ्यो । यो थाहा पाएपछि अब मानिसले जनावरका खप्परमा बोसो भरेर काठको टुक्रा वा त्यस्तै केही हाल्दै बाल्न थाले । यसैलाई सुरुको बत्ती भने हुन्छ, बुझ्यौ !
इशानलाई अचम्म लाग्यो । तर ऊ केही नबोली ध्यानपूर्वक सुनिरहेको थियो ।
त्यसरी सुरु भएको अँध्यारो नास्ने बत्तीलाई पछि आएर इजिप्टका मानिसले सुधारे । उनीहरूले भित्र खोक्रो भएको ढुङ्गामा बोसो र त्यस्तै चिल्लो पदार्थ भरे । त्यो भाँडोको चिल्लो पदार्थमा कपासको लामो धागो भिजाएर बाले । त्यसो गर्दा त्यो बत्तीले धेरैबेरसम्म ननिभी उज्यालो दिन थाल्यो ।
त्यस पछि ग्रिस र रोम भन्ने देशका मनिसले आजभन्दा धेरै वर्ष अगाडि बत्ती बाल्ने माटो र पित्तलको भाँडा बनाए । त्यतिबेलासम्म उनीहरूले तील, तोरीजस्ता अन्न पेलेर तेल निकाल्न जानिसकेका थिए । अब उनीहरूले माटो वा पित्तलको भाँडोमा त्यही तेल हालेर कपासको धागो भिजाई बत्ती बाल्न थाले । अझ केही पछि गएर त्यस्तो बत्तीलाई चारैतिर छेकी हावाले निभाउन समेत नसक्ने बनाए । अझ केही पछि त त्यो बत्तीलाई चहकिलो कुराले घेरेर अझ धेरै उज्यालो आउने तुल्याए ।
आजभन्दा तीनसय वर्षजति अघि सन् १७०० सयतिर एमी अर्गान्ड भन्ने एकना मानिसले बत्तीमा राख्ने नयाँ किसिमको धागो पनि पत्ता लाए । स्विजरल्याण्का ती मानिसले पत्तालाएको बत्ती बाल्ने धागो गोलो खालको थियो । त्यो धागो बलेर निस्केको उज्यालो चारेतिर फैलिनथ्यो । यो बत्तीलाई उनकै नाउँमा अर्गाण्ड बत्ती भनिन थाल्यो । त्यसको केहीपछि उनकै चेलाले काँचले छोपेमा उज्याले धेरै धुवाँ कम आउने बत्ती बनाए । त्यसपछि मात्रै लाल्टिनजस्तै सिसाले ढाकेको बत्ति तयार हुनथाल्यो ।
त्यति बेलासम्म मानिसले तोरी र तीलको तेलको साटो ह्वेलको बोसोबाट पनि बत्ति बाल्न जानिसकेका थिए । ह्वेल समुद्रमा पाइने माछाजस्तै ठूलो जीव भएकोले त्यसबाट धेरै बोसो निस्कन्थ्यो । त्यसैले ह्वेलको बोसो तेलभन्दा सस्तो पथ्र्यो । त्यही समयतिर मानिसले ग्यासबाट बल्ने बत्तीको आविष्कार गरे । अब ग्यासबाट बल्ने मैण्टोल, बत्ती आदि तयार हुनथाल्यो । त्यही समयतिर मानिसले मटितेलको पनि खोजी ग¥यो । ग्यास र मटितेलबाट ह्वेलको बोसोभन्दा पनि कम खर्चमा बत्ती बाल्न सकिने भयो । यसरी कम खर्चमा धेरै उज्यालो दिने बत्तीको खोजी गर्दागर्दै सन् १८०० को सुरुतिर अर्थात आजभन्दा २०० वर्ष जति अघि विजुलीबत्तीको आविष्कार भयो । यो कुरा थोमस अल्वा एडिसन भन्ने वैज्ञानिकले पत्ता लाएका थिए । अहिलेसम्मै अँध्यारो नाश गर्ने यही नै सबैभन्दा सजिलो र भरपर्दो उपाय भएको छ ।
”ओहो, आज हामीले बाल्ने बत्तीको त यसरी पो विकास भएको रहेछ !” इशान हजुरबाबाट बत्तीको कथा सुनेर खुशी भयो ।
(स्रोत : मुना माघ २०६२, वर्ष १६ अङ्क २ पूर्णाङ्क १८२ ।)