यस युगको महान् कवि
पाठकको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन
शब्दको मन्दिरमा
बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ
झुठा मिथहरुको टुँडाल सजाउँछ
थुनिराख्छ कवि
निकाल्नै चाहन्नँ मन्दिरबाहिर
शब्दका नयाँ इश्वरहरुलाई !
आत्मप्रलापका लागि
कबिताभर स्खलित गर्छ
शब्दका कामुकताहरु
सुन्दरी वेश्यालाई झैं कवि
भोग्छ शब्दहरुको सौन्दर्यलाई !
कवि
अक्षरका आत्महरुको चीरहरण गर्छ
अक्षरहरुलाई नाङ्गै पार्छ
र कुण्ठाको सपाट सडकमा हिडाउँछ !
‘एडिक्ट’ छ कबिताको
कविताका नसाहरूमा सिरिन्ज हान्छ
कविताका कलिला हातहरुमा
अँध्यारो सूर्य थमाउँछ
दुर्व्यसनी आँखाहरुमा
रक्सीले मातेको पृथ्वी बोकेर
कविताको अन्तरिक्षमा हराउँछ
नयाँ कवितामा
ककटेल उपदेशहरु वान्ता गर्छ
हल्लाहरुको हाटबजारमा
शब्दहरुको किनबेच गर्छ
समीक्षा गर्न लगाउँछ भक्तहरुलाई
सापटी पुरस्कार थाप्छ
र सृजनशील उचाइको भ्रममा बाँच्छ !
सबैभन्दा बढी
अमूल्य प्रेमका सस्ता कबिताहरु लेख्छ
कि कवितामा
आत्महत्याको बीउ छर्छ
प्रिय छैनन् जीवनका बहुलरङ्गहरु
यस युगको महान कवि
सादा रङ्गहरुको कोलाजभित्र निस्सासिन्छ !
आधुनिक ‘भ्यानगग’ हो
यस युगको महान कवि
सत्ताको समर्पणमा
कविताको कान काट्छ र चढाउँछ
र गर्वले
बुच्चा कविताहरुको पोट्रेट बनाउँछ !
यस युगको महान् कवि
पाठकहरुको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन
(स्रोत : Sahitya Sangrahalaya )