प्रिय अनुराग !
अदृश्यबोध यो धरातलमा
शून्य की अर्धचेतमा रुमलिंदा
संसार चिन्ने तिम्रो आँखा दियौ।
त्यसैले
अचेल मैले संसार देख्दैछु।
समताको इन्द्रेणी देख्दैछु।
हो,तिम्रै मायाको सुगन्धले
यो राज्य भरि समाबेशी-
फूलहरुको कथा लेख्दैछु।
जन्म र मृत्यु क्षणिक पलक
“हाम्रो” यो पहारा जीवन
गग्रेनी छिचोल्दा खसेका
भावनाका खण्डहरमा पनि
समताको बैंशालु गुराँस फुल्नु पर्छ।
भन्दैछु अचेल म !
प्रिय अनुराग!
तिम्रो मेरो = हाम्रो
प्रेमिलो अनुकम्पाले
हो,अब गुलाफका काँडाहरुमा पनि
माया जाग्नु पर्छ।
किनकी संसार रंगिन छ।
यो जगत एउटा बगैँचा हो,
मुटुका पहाडहरुमा गुलाफ रोप्नू !
लोचन उघारेर छातीका मैदान हेर्नू!
अब उहीले उहीले जस्तो
सपनाहरुको हत्या नहोस्।
नटेकोस विपनाले
जीवनको ज्योतिलाई-
मान्छे=ढुंगा होईन
ढुंगालाई पनि मान्छे मानेर
खोज्नु छ आस्थाका अस्थीहरु
की कयौँ आत्महरु
अकालमै ढुंगामुनि परेका छन्।
प्रिय अनुराग !
किनारमा बसेर तिमी
सिम्माको मायाको सागरमा
चुर्ल्लुम्म डुबेको बेला
यो मरुभूमि माथि म
आफ्नै कोशी र कर्नाली बगिरहेछु।
आफ्नै माटोमा जीवनको अर्थ खोज्न म,
मेरो पारूहांङ् पुकारी रहेकोछु |
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)