~मधु माधुर्य~
स्वच्छ, स्वच्छन्द यो मैदान !
जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै
जीवन ” धावा बोेलीरहेछ ”
कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ
निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको
आक्रमणको पृष्ठभूमिमा
” इभान इलिच ” को मृत्यु भन्दा पनि अझ जर्जर
” युद्द र शान्ति ” भोग्दै हिंडें
भुुक्त भोगी बन्दै जड् जीवनको
” पारिवारीक सुख ” खोज्दै हिंडें
आखिर असफल प्रेममा भौंतारिंदै
“आन्ना कारिनिना” को विसर्जन भयो
विक्षिप्त विक्षिप्त छ यो क्षण !
अब आफैंलाई थहा छैन
के मा विश्वस्त छु भन्ने
जीवन आफैंमा कला हो भने
“कला” के हो त?
प्रेम विहीन “क्रुजेर सोनाटाहरु” घन्किरहेका छन्
के जीवन नाटक हो त?
काम भावनाले भिजेको दुर्घटना र हिंसामा निर्लिप्त
“अन्धकारको साम्राज्य” जस्तो
“मालिक र कामदार” को कथा जस्तो
कति थाकिसकें नैतिकवादका श्रष्टा बनेर
अब त देउता बन्ने रहर पनि छैन
मन्दिरभित्र आजीवन बन्दी बन्ने स्वप्न छैन ममा
निर्जीब ढूंगा बनेर पुजिने मन पनि छैन
त्यस्मा जीवनको अनुशीलन हुनै सक्दैन
“इश्वर राज्य त तिमी भित्र पो हुन्छ ”
जहाँबाट मान्छुेको “पुनर्जन्म” उदगम हुन्छ
जति लेखेपनि यथार्थ र सम्भाव्यताका कथाहरु
जति भोगे पनि शताब्दिका ऐतिहासिक पीडाहरु
जन्मेर यो स्वच्छ मैदानमा कहिल्यै मर्न सकिन म
कहालीलाग्दो त्यो बस्तीबाट कहिल्यै हराउन सकिन म
प्रकृतिमा लीन हुंदै युग ! यगान्तर
धर्तीको छातीमा उम्रेछु बनेर कलिला झारहरु
गर्दैछु म त आज तिमीसंग धीत मार्ने बातहरु
थोरै भए नी आस्था म प्रति
चढाई देउ दुई थूंंगा फूलहरु
छाडिदेउ बाँसुरीका उन्मुक्त धुनहरु
ता कि बिर्सन सकुँ आज म
युद्द र शान्तिका गीतहरु !!!
(स्रोत : Freenepal)