~शशी लुमुम्बू~
त्यस्तरी घुरेर रातो आँखाले
किन हेरिरहेको होला
घाइते बाघलेझैं देशले,
लखेट्छ ग्रहण आएर
एकाबिहानै गाउँबाट
जुध्नै आउँछ बाटो छेकेर
अधम् समय पनि,
ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो
सिंगौरी खेल्छ बेश्याप्रेम
र, बान्ता गरिरहेको कालो माकुरो
मतिरै फर्किएर हस्तमैथुन गर्छ,
चिथोरुँ – कोपरुँ जस्तो
दाह्रा किट्दै थर्रर क्रोधले
जून ओर्लन्छ
ओलांचुँगगोलाबाट
र, रुँदै खण्डहर बस्तीमा
खोतल्छ स्वप्न सनाखत …
त्यतिनै खेर
गर्भाधान भइनसक्दै तुहिएको
मासुम पृथ्वी काखी च्यापेर
मध्यरातमा किचकन्नी आउँछे
र, पल्टेर मेरो ओछ्यानमा
मलाई उत्तेजित बनाइदिन्छे,
फेरि चक्कराउँछ आकाश
र, म उभिएको धरती
भासिदैभासिदै जान्छ….
त्यस्तरी घुरेर रातो आँखाले
किन हेरिरहेको होला
घाइते बाघलेझैंैं देशले
पो. ब. न. ३३९३, काठमाडौं नेपाल
Email : smriti8@hotmail.com
(स्रोत : Freenepal)