अमेरिका न हो,
रातमै पनि गगल्स लगाइ हाल्छ,
ड्राइभिङ्ग गर्नु छ भन्दाभन्दै
आधी बोतल त चलाइ हाल्छ ।
ठाउंले न गर्यो,
हल्का फेसियल त परिहाल्छ
आंखी भौं नमिलाएको त के मान्छे
केटा पनि ब्युटी पार्लर छिरिहाल्छ ।
ठूलै ठाउं न पर्यो,
फोनमा त बेस्सरी खोकी हाल्छ
स्काइपमा नेपाली साथी आएपछि
अर्काकै भएपनि
घर—गाडी देखाइ हाल्छ ।
अमेरिकाको अमेरिकन न पर्यो,
गोरे गोरीसंग हल्लो हाई गरी हाल्छ,
बेला न मौका फेसबुकमै
फोटाका पोष्टिङ्ग ठटाइ हाल्छ ।
गोराको अगाडि गुन्द्रुकै गनाए पनि
“ह्वाच्च् अप्” भन्दै
पुरानै अमेरिकन भा‘को स्वांङ पारिहाल्न्छ ।
सगरमाथामा झर्न नसकेर
जताततै अमेरिकाका रछानहरुमा खसेको
काम नलाग्ने हिउंसंग
लठारिएका फोटाहरु हालिहाल्छ
गर्मी चढिनसकी समुद्रमा गएर नि
नाङ्गै भइ दिहाल्छ ।
रेष्टुरेण्टमै काम गरे‘नि,
नासा को धाक लगाइहाल्छ,
नेपालमा एउटी श्रीमती हुंदा हुंदै
अमेरिकी कालीसंग
उठबस् गर्न थालिहाल्छ ।
वा…ह वा…ह नेपाली अमेरिकन,
ओफ् ओफ् गर्दै देशैलाई विर्सेर
दुई चार वर्षमै
अमेरिकाको ढाक्रे भइहाल्छ ।
गुणराज लुइटेल
स्मित, भर्जिनिया, अमेरिका
(स्रोत : Milankosansar)